• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

राजधानीमा इतिहास रच्दै मैथिली नाटक ‘काशीदेवी’

प्रजातान्त्रिक योद्धा दुर्गानन्दलाई सम्झिदै दर्शकको आँखामा आँशु
राजधानीमा इतिहास रच्दै मैथिली नाटक ‘काशीदेवी’

राजविराज, ३० पुस । प्रजातान्त्रिक योद्धा दुर्गानन्द झाको जिवन संघर्षमा आधारित मैथिली नाटक ‘काशीदेवी’ काठमाण्डौ स्थित सर्वनाम थियेटरमा प्रदर्शनमा रहेको छ ।
तत्कालिन पञ्चायती शासन विरुद्ध हाँसीहाँसी फाँसीमा चढेका योद्धाको कथावस्तुलाई पहिलोपटक राजधानीमा प्रदर्शनमा आएको हो । पुरनेन्दु झाकृत ‘काशीदेवी’ पुस २७ गतेदेखि नियमित रुपमा माघ ६ गतेसम्मकालागि मञ्चन भईरहेको नाटकका लेखक निराजन झाले जानकारी दिएका छन् । उनका अनुसार नाटक हेर्नकालागि दैनिकजसो राजनीतिक दलहका उच्च पदस्थ नेताका साथै लेखक, पत्रकार, समाजसेवी, अनुसन्धानकर्ता समेतको उत्साहजनक सहभागिता रहने गरेको छ ।
नाटकमा सरीता शाह, सरस्वती अधिकारी, उत्पल झा, सुरभि सापकोटा, अर्जुन पौडेल, राज शर्मा, कृष्ण महतो, धु्रवकुमार झा, प्रीति झा, सुलभ पाण्डे र अनिल कुर्मीले अभिनय गरेका छन् । नाटकको प्रकाश परिचालन प्रकाश खत्री, सङ्गीत परिचालन सरोज खडका र नृत्य निर्देशन प्रकाश कार्कीले गरेका छन् ।
निक्कै मेहनतका साथ तयार पारिएको उक्त नाटकमा कलाकारहरुको जिवन्त अभिनयले दर्शकहरुको मन जित्न सफल भएको छ । मधेशको वास्तविक परिवेश तथा स्थिति देखाउने उद्देश्यका साथ मञ्चको साजसज्जा तथा प्रकाशमा विशेष ध्यान दिईएको छ । नाटकमा विश्व काफ्लेको गीत, दिलीप महर्जन र विनोद बञ्जाराको मुरली र तबलाको धुनले दर्शकलाई झन दृष्यलाई जिवन्तता दिने कार्यमा सफल भएको दर्शकहरुको प्रतिक्रिया रहेको छ । मृत्युदण्ड दिँदै गरेको दृष्यले अधिकांश दर्शकहरुको आँखामा आँशु आउने गरेको युवा सिजन यादवले प्रतिक्रिया दिएका छन् ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गानन्द २०१७ साल पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्था विरूद्ध २०१८ माघ ९ गते जनकपुरमा राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गरेका थिए । पञ्चायती सरकारले नियन्त्रणमा लिएर उनलाई फाँसी झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

को हुन् दुर्गानन्द झा ?
दुर्गानन्द झाको जन्म १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटियामा आमा सुकुमारी देवी झा को गर्भबाट भएको थियो । बाबु देवनारायण झा उनी सानो छँदै बितेका थिए । दुर्गानन्द सानैदेखि राम्रो फूटबल खेलाडी थिए र राम्रो गीत पनि गाउँथे । नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययनको लागि भारतको उँमगाउँको एउटा विद्यालयमा भर्ना भए ।
१८ वर्षे दुर्गानन्दले जानकी मन्दिर नजिक सेना र गुप्तचरका आँखा छल्दै ग्रिनेड प्रहार गरेका थिए । प्रहारबाट राजा महेन्द्र चढेको ल्याण्डरोभर गाडीको पछाडिपट्टि सामान्य क्षति भएपनि राजालाई केही भएन । त्यसपछि दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे ।
यता दुर्गानन्दका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, कांग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो । दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिए । गिरफ्तार गरी जलेश्वर जेलमा एक रात राखेपछि परकौली सैनिक क्याम्पबाट उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याई सुन्धारा स्थित भद्रगोल जेलमा राखियो ।
यो केसको छानविन गर्नका लागि एक विशेष अदालतको गठन गरिएको थियो । २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो । उनलाई २१ बर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो ।
मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा सुकुमारी देवी र पत्नी काशीदेवी झालाई केही बेर भेटेर सान्त्वना दिए । दुर्गानन्दलाई विभिन्न शारिरीक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले मानेनन् । फलतः उनलाई मृत्युदण्ड दिइयो । आमा लगायत परिवारले शव माग्दा पनि पञ्चायति सरकारले दिएन । कुशको लास बनाएर भारतको गयामा उनको दाहसंस्कार भयो । दुर्गानन्दकी आमाको २०६० भदौ ३१ गते निधन भएको विकिपिडियामा उल्लेख छ ।

तस्विरहरुः सामाजिक सञ्जाल