• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चार महिनामा ६२ हिंसापीडितलाई निःशुल्क सेवा

चार महिनामा ६२ हिंसापीडितलाई निःशुल्क सेवा

राजविराज, ३० पुस । चार महिनाको अवधिमा अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसा पीडित ६२ जनालाई निःशुल्क सेवा दिएको छ ।
केन्द्रको जिल्ला समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा बसेको वैठकमा उक्त विषयमा जानकारी दिईएको हो । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालन गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्र्सन मनिषा सिम्खडाले दिएको जानकारी अनुसार घरेलु हिंसाबाट पीडित २९ जनालाई सेवा दिइएको छ । शारिरीक चोटपटकका २०, यौनजन्य हिंसाका १०, मानसिक यातनाका एक र वेवारिसे दुई जना गरी ६२ जना पीडितलाई उपचारलगायतको सेवा उपलब्ध गराइएको उनले बताईन् । केन्द्रबाट सेवा लिएका लैङ्गिक हिंसा पीडितमध्ये ६ जना पुरुष रहेका छन् ।
सिम्खडाका अनुसार चार महिनामा सबैभन्दा बढी १५ देखि ४९ वर्ष उमेरका ५० जना, १४ वर्ष भन्दा कम उमेरका ६ जना, ५० देखि ६५ वर्ष उमेरका चार जना तथा ६५ वर्षभन्दा माथिका दुई जनाले सेवा पाएको छ ।
केन्द्रका अनुसार हिंसा पीडितहरुलाई जाँच, स्वास्थ्योपचार, शारीरिक परीक्षण, मनोविमर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, सुरक्षित गर्भपतनलगायतको सुविधा निःशुल्क दिइएको छ । एउटै पीडितलाई विभिन्न सेवा दिनु परेको जनाउँदै सिम्खडाले उपचार गरिएका पीडितमध्ये ३४ जनाको शारिरीक परीक्षण, ४१ जनाको विधि विज्ञान तथा मेडिकल जाँच, ५१ जनाको घाउ चोटपटक उपचार, २६ जनालाई मनोसामाजिक परामर्श, नौ जनाको गर्भ परीक्षण, पाँच जनाको एचआइभी परीक्षण गरिएको बताइन् ।
हिंसा पीडितहरुमध्ये ४२ जना प्रहरीको समन्वयमा, १० जना सुरक्षित आश्रय केन्द्रको समन्वयमा र गैरसकारी संस्थाको समन्वयमा एक जना आए पनि नौ जना स्वयं सेवा लिन आएका थिए ।