• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुसहर बस्ती पुगेर उपेन्द्रले भने ‘ ब्ल्याङ्केट राखब नइँ ओढब’

मुसहर बस्ती पुगेर उपेन्द्रले भने ‘ ब्ल्याङ्केट राखब नइँ ओढब’

राजविराज, २९ पुस । शितलहरले जनजिवन कष्टकर भई मानवीय क्षति भईहँदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सप्तरीको मुसहर बस्तीमा पुगेर दलित एवम् विपन्न समुदायलाई ब्ल्याङ्केट वितरण गरेका छन् ।
अध्यक्ष यादवले आफ्नै नेतृत्वमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका १३० मुसहर परिवार र राजविराज नगरपालिका–९ मलेठका १५० विपन्न परिवारलाई वितरण गरेका हुन् । मुसहर समुदायका व्यक्तिहरुलाई कम्बल वितरण गरिरहँदा अध्यक्ष निक्कै खुशी देखिन्थे । हात मिलाउँदै उनले ज्येष्ठ नागरिक, शारिरीक अपाङ्गता तथा एकल महिलाहरुलाई प्राथमिकतामा राखेर राहत सामग्री वितरण गरे ।
ब्ल्याङ्केट वितरण गर्ने क्रममा उनले सबैलाई चिसोबाट जोगिन सल्लाह दिँदै ‘ब्ल्याङ्केट राखब नहि ओढब’ भन्ने गर्थे । उक्त बस्तीमा जनता आवास कार्यक्रमबाट पक्की घर निर्माण गरिदिने भन्दै घरहरु भत्काएको पाँच महिना वितिसक्दा पनि निर्माण हुन नसक्दा छाउनी छाप्रोमा मुसहर समुदायलाई चिसो छल्न निकै समस्या झेल्नुपरेको छ । शितलहरबाट अति प्रभावित उक्त बस्तीमा पुगेर फोरम अध्यक्ष यादवले दलित समुदायको अवस्था र सरकारको रबैया देखेर चिन्ता समेत व्यक्त गरे ।
कार्यक्रममा फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश प्रमुख रेणुकुमारी यादव, प्रदेश सभा सदस्य शैलेन्द्रकुमार साह, तराई मधेश प्रदेश सचिव शम्भु झा, नेता सत्यनारायण यादव, फोरमका केन्द्रीय सदस्य अशोक कुमार यादव, महदेवा गाउँपालिकाका प्रमुख दिपक कुमार यादव ‘टुटुबाबु’, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता केदार यादव समेतको टोलीले ब्ल्याङ्केट वितरण गरेका छन् ।
करिब दुई साता यताको बढ्दो शितलहरका कारण हालसम्म सप्तरीमा २६ जनाको मृत्यु भईसकेको छ ।
फोरम अध्यक्ष यादवले गत साता प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शितलहरका कारण सप्तरीसहित मधेशको जनजिवन अति कष्टकर भईरहेको भन्दै राहत सामग्री, आगो बाल्ने दाउरा तथा औषधीसहितको स्वास्थ्यकर्मी पठाउन ध्यानाकर्षण गराएका थिए । उनले ध्यानाकर्षण गराए लगत्तै मधेशका जिल्लाहरुमा सरकारी संयन्त्रले समेत कम्बल वितरण तथा आगो बाल्न दाउराको प्रबन्ध गराउने कार्यले तिब्रता पाएको छ ।