राजविराज, २८ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र बेरोजगारी देशको ठूलो समस्याको रुपमा रहेको भन्दै यसलाई जरैदेखि निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय तहको निर्वाचन पछि राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । विश्वका विभिन्न देशहरुले छोटो समयमै विकास र समृद्धिमा फड्को मारेको बताउँदै उनले भने ‘भ्रष्टाचार र बेरोजगारी देशको ठूलो समस्याको रुपमा रहेको छ, यसलाई जरैदेखि निर्मूल गर्नुपर्छ ।’
सप्तरी क्षेत्र नम्वर–२ का प्रतिनीधि सभा सदस्य समेत रहेका अध्यक्ष यादवले देशको वैदेशिक मामिला, राष्ट्रिय सुरक्षा र विकासको सवालमा सम्पूर्ण राजनीतिक दलहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अधिकारसँगै विकास र निर्माण कार्यलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउँदै उनले भने ‘अधिकारकालागि संघर्ष स्वाभाविक हो तर विकास निर्माणको सवालमा विवाद कदापी हुनुहुँदैन ।’
देशमा अस्थिरता र आशंका उत्पन्न भएकोले यसलाई लम्ब्याउनु भन्दा समाधानको बाटो खोज्नुपर्नेमा उनले जोड दिए । ‘अस्थिरता र आशंकाको अवस्थालाई अन्त्य गर्न संसदको बैठकले संविधान सशोधन गरेर अगाडि बढ्नु आवश्यक छ’ उनले भने ‘फोरम नेपालले संविधान त्रुटिपूर्ण रहेको भनी आवाज उठाउँदा गलत भन्ने राजनीतिक दलहरु समेत फोरमकै बाटोमा आएको छ ।’
आफु अन्यत्र ठाउँबाट चुनाव नलडेर सप्तरीलाई रोजेको प्रष्ट पार्दै उनले यो जिल्लालाई विकास र समृद्धिको बाटोमा डोर्याउने संकल्प आफुले लिएको फोरम अध्यक्ष यादवले बताए । ऐतिहासिक जिल्ला सप्तरी विकास निर्माणको सवालमा पछाडि परेको बताउँदै उनले भने ‘यो जिल्लालाई देशकै नमूना र समृद्ध जिल्ला बनाउन जिल्लाका हरेक व्यक्ति सचेत हुनुपर्दछ, कुनै होटलमा बसेर कागजी रुपमा विकासीय बजेट सिध्याउने प्रवृति अब सदाकालागि अन्त्य हुनुपर्छ ।’
परिषद्मा नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेका छन् । आन्तरिक आयतर्फ एक करोड ८९ लाख २१ हजार ८ सय ७२ तथा वित्तिय समानी अनुदानतर्फ २७ करोड ८६ लाख ४९ हजार, विषयगत सशर्त अनुदान १७ करोड, सडक बोर्ड, एलजिसिडिपी, सामाजिक सुरक्षा बहुक्षेत्रीय पोषण, युनिसेफ, संसद कोष, विधायक कोष, प्रदेश कोष लगायत अन्य निकायबाट अनुदान ११ करोड ९७ लाख ४ हजार कुल आय अनुमान गरी खर्च प्रस्ताव पेश गरेका छन् ।
नगर सभाको उद्घाटन समारोहमा राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शिक्षामन्त्री रेणु कुमारी यादव, राजपा नेपालका वरिष्ठ उपाध्यक्ष शेखर प्रसाद सिंह, प्रदेश सभा सदस्यद्वय शैलेन्द्र प्रसाद साह, मनिष कुमार सुमन, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, पूर्व मेयरद्वय गोविन्द सिंह, शैलेश कुमार चौधरी, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता महेश यादव, सप्तरी युथ नेपालका अध्यक्ष श्रवण देव, नगर वाल क्लब सञ्जालका अध्यक्ष मो. जकाउल्लाहलगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य उपमेयर साधना झा तथा सञ्चालन राजविराज नगरपालिकाका प्रशासकीय अधिकृत उमेश कुमार यादवले गरे । सोही अवसरमा सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देवलाई युवा तथा सरसफाईको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै २१ हजार नगद र दोसल्लासहित सम्मान गरिएको छ ।