प्रदेश नं २ को अवस्था, सम्भावना र चुनौति (तथ्यांक सहित)

प्रदेश नं २ को अवस्था, सम्भावना र चुनौति (तथ्यांक सहित)
Bwtech New Add With Software & Bull SMS
शिव नारायण महतो

मध्य पूर्वी तरार्इका सप्तरीदेखि पर्सासम्मका आठवटा जिल्लाहरु मिली बनेको प्रदेश २ नेपालको सबैभन्दा सानो प्रदेश हो । समतल भूभाग भएको यो प्रदेशले नेपालको प्रदेश १ र ३ तथा भारतको बीचमा अवस्थित छ । मधेशी बाहुल्यता रहेको यो प्रदेशमा अत्यधिक जनघनत्व रहेको  छ । यो कृषि , उद्योग , पर्यटन, भन्सारका लागि धेरै महत्वपूर्ण छ । तथापि यो जलविधुत आयोजना विहिन प्रदेश हो ।  यहांका प्रमुख बजारहरुमा बिरगंज , जनकपुर, राजबिराज,लाहान ,मिर्चैया, जलेश्वर , बर्दिबास , मलंगवा, कैलाली, चन्र्दनिगाहपुर, सिमरा पर्दछन ।

अधिकार र पहिचानका लागि पटक पटक आन्दोलन भएका यो प्रदेशमा तरार्इका अधिकाशं जातजातिको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य, मानव विकास सुचकमा धेरै पछाडी परेका यो प्रदेश गरीबीले आक्रान्त छ ।

समथर भूभाग, धेरै जनसंख्या, उच्च प्रतिव्यक्ति आयु ,  प्रशस्त खेतीयोग्य जमिन , देशको कुल ग्रार्हस्थ उत्पादनमा  कृषि , मत्स्य पालन र उद्योगको क्षेत्रगत योगदान बढी रहेकाले यस प्रदेशको समद्दिका लागि धेरै सम्भावना रहेको छ । यस प्रदेशका बारेमा तथ्यांक सहित परिचय संक्षेपमा तल उल्लेखित गरिएको छ ।

जनसंख्या र भूगोल

नेपालको पछिल्लो जनगणनाको तथ्यांक हेर्दा, प्रदेश नं २ मा  ५४ लाख  ४ हजार १ सय ४५ मानिसहरु बसोबास गरिरहेका छन्, जुन नेपालको कुल जनसंख्याको २०।४० प्रतिशत हो । तर क्षेत्रफलको हिसावले यो प्रदेश सबैभन्दा सानो प्रदेश हो, जसको क्षेत्रफल ९६६१ वर्ग किलोमिटर अर्थात नेपालको कुल भूभागको ६।५६ प्रतिशत मात्रै छ ।

जनसंख्याको उमेरअनुसार प्रदेश नं २ मा ३८।५६ प्रतिशत जनसंख्या १५ वर्ष भन्दा मुनिका , ५३।९४ प्रतिशत जनसंख्या १५ देखि ५९  तथा ७।५१ प्रतिशत जनसंख्या ६० वर्षभन्दा माथिको जनसंख्या रहेको छ । यसरी करीब ४६ प्रतिशत जनसंख्या आश्रित छन ।

जातजाती

मधेशी जाति बाहुल्यता भएको प्रदेश २ मा नेपालको पछिल्लो जनगणनाको तथ्यांक हेर्दा, सबैभन्दा बढी ७,९८,७७० यादव जातिको बसोबास छ जसको प्रतिशत १४।७८ छ भने दोस्रोमा मुस्लाम (११।५८ प्रतिशत) रहेको छ । बृहत रुपमा विश्लेषण गर्दा सवैभन्दा बढी मधेशी ( ५१ प्रतिशत ),तरार्इ दलित (१४।२० प्रतिशत), मुस्लमान (११।५८ प्रतिशत ) छ भने खस आर्य ४।८७ प्रतिशत छन । जसलार्इ तलको स्तम्भचित्रमा देखाइएको छ ।

भूउपयोगको अवस्था

नेपालको भूउपयोगको अध्यावधिक तथ्यांक सार्वजनिक रुपमा उपलब्ध छैन । केन्द्रीय तथ्यांक विभागले २०७२ साल पौषमा प्रकाशित गरेको कम्पेण्डियम अफ इन्भाइरोमेन्टल स्टाटिस्टीक्स, नेपालमा उल्लेखित जिल्लागत भूउपयोगको अवस्था अनुसार कृषि क्षेत्र  ६६४४।३० वर्ग कि मी , वन क्षेत्र २६२३ वर्ग कि मी ,  झाडी तथा बट्यान क्षेत्र   ७९।९२ वर्ग कि मी , पानीले ढाकेको क्षेत्र  ८१।७८ वर्ग कि मी , खाली पर्ति जग्गा  ३३०।४० वर्ग कि मी , हिउँले ढाकेको क्षेत्र  ० वर्ग कि मी र अन्य ५।४४ वर्ग कि मी रहेका छन ।

यसरी प्रदेश २ मा कुल भूभागको कृषि क्षेत्र ६८ प्रतिशत , वन क्षेत्र करिब २७ प्रतिशत रहेका छन ।

सडक सञ्जाल

सडकलाई आर्थिक विकासको मेरुदण्ड र विकासका अन्य पूर्वाधार निर्माणको जग मानिन्छ । सडक विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा सडक सञ्जालको लम्वाई १२,५९० किलोमिटर पुगेको छ, जसमध्ये कच्ची सडक ४,३९५ किलोमिटर, ग्राभेल सडक १,७३५ किलोमिटर र कालोपत्रे सडक ६,४६० किलोमिटर छ ।

प्रदेश नं २ , सडक सञ्जालको हिसाबले सबैभन्दा कमजोर प्रदेश देखिन्छ ।

प्रदेश २ मा करिव १,३५४ किलोमिटर मात्रै सडक छ ।  प्रदेश २ मा नेपालको कुल सडक सञ्जालको करिव ११ प्रतिशत मात्रै सडक खण्ड परेको छ ।

विधुत

प्रदेश २ विधुत उत्पादनको हिसाबले सवैभन्दा कमजोर देखिन्छ, जसमा एउटा पनि जलविद्युत आयोजना सञ्चालनमा छैनन् भने सर्वेक्षण र उत्पादन अनुमति लिएका आयोजनाहरु पनि छैनन् ।

आर्थिक क्षेत्रहरुको अवस्था

यूएनडीपीले सार्वजनिक गरेको नेपालको मानव विकास सूचकांक २०१४ मा विभिन्न आर्थिक क्षेत्रहरुको कुल ग्राहस्थ उत्पादनमा योगदान र त्यसको प्रदेशिक वितरण दिइएको छ । राष्ट्रिय लेखा तथ्यांकमा विभिन्न औद्योगिक क्षेत्रहरुलाई १५ क्षेत्रमा विभाजन गरिएको छ, जसमा कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन्, उद्योग, विद्युत, ग्यास तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्दछन् ।

क्षेत्रगत रुपमा नेपालको कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा धेरै कृषि क्षेत्रको योगदान छ, जसले करिव ३७ प्रतिशत योगदान दिन्छ भने थोक तथा खुद्रा व्यापारले दोश्रो ठूलो (१४ प्रतिशत) योगदान गर्छ ।

त्यस्तै प्रदेश २ को कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा धेरै कृषि क्षेत्रकै योगदान रहेको छ ,  जसको करिब ४० प्रतिशत योगदान छ भने दोस्रोमा थोक तथा खुद्रा व्यापारको जसको हिस्सा १५।२६ प्रतिशत र तेस्रोमा उद्योगको जस्को योगदान करिब १३ प्रतिशत रहेको छ।

त्यसैगरी नेपालको कुल ग्रार्हस्थ उत्पादनमा मत्स्यपालनमा सबैभन्दा बढी योगदान दिने प्रदेश २ (५५ प्रतिशत) छ । उद्योग मार्फत देशको कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्नेमा सबैभन्दा अगाडि प्रदेश २ नै आउँछ जसले करिब ३४ प्रतिशत योगदान गरेको छ ।

प्रदेश २ को कुल ग्राहस्त उत्पादन रु २ खर्ब ९ अर्ब २२ करोड ५० लाख रहेको छ जसको नेपालको कुल ग्राहस्त उत्पादनको  १६।२२ प्रतिशत योगदान रहेको छ ।

प्रदेश नं २ मा बसोबास गर्ने मानिसको प्रति व्यक्ति आय ५७१ अमेरिकन डलर र अन्तर्राष्टिय क्रय शक्ति समानता (Purchasing Power Parity ) का आधारमा प्रति व्यक्ति आय ९२२ अमरिकन डलर रहेको छ ।

कुल ग्राहस्थ उत्पादनमा योगदान र  प्रदेश नं २ को विभिन्न आर्थिक क्षेत्रहरुको  वितरण तलको तालिका दिइएको छ ।

मानव विकास सुचकांक

नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबभन्दा पछाडि परेका १५ वटा जिल्ला क्रमश : बाजुरा, बजाङ्ग, कालिकोट, हुम्ला, अछाम, रौतहट, महोत्तरी, जाजरकोट, रोल्पा , मुगु , डोल्पा, सर्लाही, डोटी, सिराहा र जुम्ला हुन । यी १५ वटा जिल्लामा सात वटा जिल्ला प्रदेश ६, चार-चारवटा जिल्ला प्रदेश सात र प्रदेश दुईमा पर्दछन ।

प्रदेश नं २ को मानव विकास सुचकांक ०।४२२ रहेको छ जुन नेपालको समग्र मानव विकास सुचक ०।४९० भन्दा कम रहेको बताउँछ ।

मानव विकास सुचक स्वास्थ्य, शिक्षा र प्रति व्यक्ति आयलार्इ आधार मानेर निकाल्ने भएकाले प्रदेश नं २ मा स्वास्थ्य, शिक्षा र प्रति व्यक्ति आयको अवस्था कमजोर रहेको देखिन्छ ।

गरिबी

गाँस,बास,कपास,स्वास्थ्य,शिक्षा,सुरक्षा जस्ता आधारभूत आवश्यकता पुरा गर्न नसक्नुको साथै आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक एवं मानव विकासको अवसरबाट पछि परेको व्यक्ति गरिब हो भने गरिबले भोक्नु परेको कष्टप्रदपुर्ण अवस्था नै गरिबी हो ।

आर्थिक विकास र समृद्धिका दृष्टिकोणले प्रदेश नं २ ओरालो लाग्दो अवस्थामा रहेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले सन २०१३ मा प्रकाशन गरेको Small Area Estimation of Poverty, 2011 मा उल्लेखित अवस्थालाई विश्लेषण गरेर हेर्ने हो भने विगत डेढ दशक अगाडी प्रदेश नं २ अन्तर्गतका सबै जिल्ला उच्च समृद्धि स्तर भएका जिल्लाको श्रेणीमा पर्दथे । तर पछिल्लो समयमा यो प्रदेश अन्तर्गतका आठ जिल्लामध्ये तीन जिल्ला धनुषा , पर्सा र बारा मध्यम समृद्धि स्तर तथा बाकी तीन जिल्लाहरु रौतहट , सिरहा र सप्तरी न्यून समृद्धि स्तर भएका जिल्लाको श्रेणीमा परेका छन् भने महोत्तरी र सर्लाही मात्र उच्च समृद्धि स्तर भएका जिल्लाको  श्रेणीमा छन ।

यसो हुनुका प्रमुख कारण राजनीतिक नेतृत्वले आम नागरिकको सामाजिक न्याय र समतामूलक समाज सहितको समृद्धिको चाहनालाई सुनिश्चित गर्न नसक्नु , भ्रष्टाचार तथा अनियमितता मौलाउनु , अधिकाशं मानिस परम्परागत कृषि पेशामा निर्भर रहनु र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा प्रभावकारी रुपमा कार्य हुन नसक्नु नै हो ।

 राष्ट्रिय योजना आयोगले प्रदेशगत हिसाबले भर्खरै तयार पारेको नेपाल बहुआयामिक  गरिबी सूचकाङ्क २०७४  अनुसार  २ र ६ नं प्रदशमा गरीबी उच्च रहेको देखिएको छ ।

प्रतिवेदन अनुसार नेपालमा अहिले औसतमा २८ दशमलव ५ प्रतिशत बहुआयामिक रुपबाट गरिब रहेका छन् ।

प्रतिवेदनअनुसार सन् २००६ देखि सन् २०१४ को अवधिमा नेपालको गरिबी आधा  घटेको बताएको छ ।  तर प्रदेश नं २ का जिल्लाहरु उच्च समृद्धि स्तरबाट मध्यम र निम्न स्तरमा पर्नुले यस प्रदेशमा गरिबी  बढेकै देखिन्छ ।

बुहआयामिक गरिबको सूचकाङ्क  उपभोगको अवस्था मात्र नभई शिक्षा, स्वास्थ्य र समग्र जिवनस्तरमा आम नागरिकहरुको पहुँचका आधारमा तयार पारिएको उक्त प्रतिवेदनले प्रदेश नं २ मा ४७।८९ प्रतिशत गरिबी रहेको देखाएको छ ।

यो कुपोषण, बाल मृत्यूदर, न्यून शिक्षा, विधालय उपस्थिती, सरसफार्इ ,खाना पकाउने इन्धन, शुद्द खानेपानी, विधुत ,घरको बनाबट, स्थायी सम्पती जस्ता १० वटा सूचकहरुको आधारमा तयार पारिएको छ । यस प्रतिवेदनले प्रदेश नं २ मा शिक्षा , स्वास्थ्य , खाना पकाउने इन्धन, सरसफार्इ र घरको बनाबटमा बढी समस्या देखाएको छ । अर्थात प्रदेश नं २ मा शिक्षा, स्वास्थ्य र जिवनस्तरमा अत्यन्तै पछाडी रहेकाले गरिबी बढी भएको देखिन्छ ।

पर्यटन

प्रदेश  २ मा पर्ने भुगोल ईतिहासमै अबल्ल रहेको छ जहां  राजा जनक, सहलेस, दीनाभद्री लगायतका वीर योद्धाहरुको जन्म र कर्मभुमि रहेको छ । चराका लागि प्रसिद्ध कोसीटप्पु वन्यजन्तु आरक्षदेखि अर्ना पाइने पर्सा वन्यजन्तु आरक्ष प्रदेश २ मा पर्दछ । त्यस्तै छिन्नमस्ता क्षेत्र ,धनुषाधाम, जानकी मन्दिर ,गढीमार्इ, जलेश्वरनाथ , कंकालनी मन्दिर यस प्रदेशको अर्को आर्कषक पर्यटकीय गन्तव्य हो ।

साक्षरता र शैक्षिक पूर्वाधार

साक्षरताका आधारमा विश्लेषण गर्दा राष्ट्रिय जनगणना २०६८ का आधारमा प्रदेश नं २ सबैभन्दा पछाडी रहेका छन । यस प्रदेशको साक्षरता प्रतिशत ४९।५ मात्र छ । जबकी नेपालको कुल साक्षरता प्रतिशत ६५।९४ रहेको छ । प्रदेश नं २ मा सबैभन्दा बढी साक्षरता पर्साको (५५।९० प्रतिशत) छ भने सबैभन्दा कम रौतहट (४१।६९ प्रतिशत) को छ । प्रदेश २ का जिल्लाहरुको

साक्षरताको विवरण तलको नक्साबाट सजिलैसंग तुलना गर्न सकिन्छ ।

शिक्षा मन्त्रालयले  विसं २०७२ सालमा प्रकाशित गरेको विद्यालयस्तरको शिक्षा सम्वन्धी तथ्यांक Flash I Report का आधारमा हेर्दा विद्यालय शिक्षाको पूर्वाधारका हिसाबले प्रदेश २ मा ३५८६ विद्यालयहरु रहेका छन् जुन समग्र देशको करीब १० प्रतिशत मात्रै हो । जसमा आधारभूत तह (कक्षा १ देखि८ सम्म) ‍ २९०९ वटा  र माध्यामिक तह (कक्षा १ देखि १२) ६७७ वटा रहेका छन् । त्यसै गरी यस प्रदेशमा नेपालको करिब ५ प्रतिशत संस्थागत विधालयहरु रहेका छन । यसरी विद्यालयका भौतिक पूर्वाधारमा सामुदायिक र संस्थागत दुवै विधालयमा कमजोर रहेको देखिन्छ ।

उच्च शिक्षाका पूर्वाधारको हिसाबले समेत प्रदेश २ अरु भन्दा पछाडी रहेको देखिन्छ । यस प्रदेशमा राजसी जनक विश्वविद्यालय भर्खरमात्र संचालनमा आएको छ । प्रदेश २ मा एकमात् र्इन्जियरिङ क्लेज जनकपुरमा र एकमात्र मेडिकल क्लेज बिरगंजमा रहेका छन ।

स्वास्थ्य र खानेपानी

स्वास्थ्यको पहुँच र सुविधा सम्वन्धी अध्यावधिक तथ्यांकहरु उपलब्ध नभएकाले यहाँ मानव विकास प्रतिवेदन र खानेपानी तथा सरसफाइ विभागको दक्षिण एशियाली सरसफाइ सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा भेटिएका स्वास्थ्यका केही आधारभूत सूचकहरुलाई विश्लेषण गरिएको छ ।

सरसफाइमा पहुँचको हिसाबले प्रदेश नं २ सबैभन्दा पछाडी रहेका छन । प्रदेश नं २ मा २० प्रतिशत जनसंख्यालाई सरसफाइको पहुँच, विषेश गरी शौचालयमा पहुँच छ ।

त्यस्तै  प्रदेश २ मा ७७ प्रतिशत जनसंख्यालाई खानेपानीको पहुँच छ ।

सरसफाइ र खानेपानीको पहुँचको हिसावले कम प्रतिशत जनसंख्यालाई समेटेको भएता पनि प्रतिव्यक्ति सरदर आयुको हिसाबले प्रदेश २ नेपालको अन्य प्रदेशको तुलनामा अगाडि देखिन्छ । यहाँको सरदर प्रतिव्यक्ति आयू ७०.४३ वर्ष रहेको छ । जबकी नेपालको औषत आयू ६८.८० वर्ष रहेको छ ।

प्रदेश नं २ का सम्भाव्यताहरु

सन् २०१४ को मानव विकास प्रतिवेदनमा  प्रदेश नं २ निकै पछाडी रहेको छ । त्यसै गरी स्थानीय निकायको स्रोत परिचालनमा पनि यो क्षेत्र निकै कमजोर छ । यसो हुनुमा वित्तीय अनुशासनको कमी, भ्रष्टाचार र अति राजनीतीकरण नै प्रमुख कारण हो । यसले आर्थिक र सामाजिक हिसाबले यो क्षेत्रको दारुण अवस्था प्रस्ट हुन्छ । तथापी राम्रोसंग व्यवस्थापन गर्न सकेको खण्डमा यो एक समृद्द प्रदेश बन्न सक्ने छ । समथर भूभाग, धेरै जनसंख्या, उच्च प्रतिव्यक्ति आयु,  प्रशस्त खेतीयोग्य जमिन , देशको कुल ग्रार्हस्थ उत्पादनमा कृषि, मत्स्यपालन र उद्योगको क्षेत्रगत योगदान बढी रहेकाले यस प्रदेशको समद्दिका लागि धेरै सम्भावना रहेका छन ।यस प्रदेशमा रहेका केही  सम्भाव्यताहरू निम्नानुसार रहेका छन ।

  • कृषिमा उद्योगहरूलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्न ठूल्ठूला उद्योगहरु स्थापना गर्न सहयोग पुर्‍याउने,
  • पशुपालन, माछा तथा आँप, लिचीलगायत अन्य कृषि उत्पादन अन्य प्रदेशलाई आपूर्ति गर्न सकिने,
  • औद्योगिक कोरिडोरका लागि भूमिनीति तयार गरी पूँजीपतिलाई आकर्षण गर्ने र ठूलाठूला उद्योग स्थापित गराउने,
  • युवालाई प्रविधि सीप तथा ज्ञान प्रदान गरी उद्योगलाई चाहिने खालको जनशक्ति उत्पादन गर्ने,
  • औद्योगिक लगानीमा आन्तिक तथा बाह्रय लगानीमा भइरहेको वृद्दि ,
  • खुला बोर्डरलाई व्यवस्थित गरी छिमेकी राष्ट्रसँग बजारमा आफ्नो बजारको पहुँच तथा आयात निर्यात व्यवसायलाई प्राथमिकता दिने,
  • ग्रामीण औद्योगिकीकरण अवधारणा अनुरूप स्थानीय स्रोतमा आधारित सानासाना उद्योगहरू स्थापना गरी ठूला उद्योगको कच्चापदार्थको आपूर्ति गर्न सकिने,
  • प्रदेशमा भएको औद्योगिक पूर्वाधारहरू जस्तै भन्सार, ड्राइपोर्ट, वित्तीय निकाय, एयरपोर्ट, नारायणी रङ्गशाला, शिक्षण संस्था तथा पर्यटकीय स्थललाई आधुनिकीकरण गरी आय स्रोतलाई दिगो बनाउने
  • भारतसंगको समतल खुला सिमानाका कारण उद्योगका लागि चाहिने कच्चा पदार्थको सजिलै तथा कम लागतमै आयत गर्न सकिने
  • नेपालकै एकमात्र सुख्खा बन्दरगाह बिरगंज ,पर्सामा रहेको
  • निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भइरहेको
  • काठमाडौं निजगढ जोड्ने फास्ट ट्रयाकको निर्माण कार्य भइरहको
  • कोसीटप्पु वन्यजन्तु आरक्ष, अर्ना पाइने पर्सा वन्यजन्तु आरक्ष, छिन्नमस्ता भगवती मन्दिर ,धनुषाधाम, जानकी मन्दिर ,गढीमार्इ जस्ता पर्यटकीय स्थल भएको
  • उत्पादित वस्तु तथा समानहरुलार्इ सजिलै अन्य प्रदेशका साथै भारत निर्यात गर्न सकिने
  • सस्तो कामदारको उपलब्धता
  • हुलाकी राजमार्गको सुचारु तथा प्रदेश २ हुदैं पूर्व पश्चिम रेलमार्गको निर्माण निकट भविष्यमै हुने
  • समतल भूभाग रहेको
  • प्रशस्त खेतीयोग्य जमिन भएको र
  • बढी जनघनत्व भएको आदि ।

प्रदेश नं २ का चुनतिहरु

समथर भूभाग, अत्यधिक जनघनत्व, उच्च प्रतिव्यक्ति आयु, प्रसस्त खेतीयोग्य जमिन जस्ता सम्भावनाहरु हुँदाहुँदै यस प्रदेशका केही चुनौती समेत रहेका छन । जुन चुनौतीहरुलार्इ अवसरको रुपमा लिइ सामाधान गर्न सके यो प्रदेश देशकै एक समृद्द प्रदेश बन्न सक्छ । यी चुनौतीहरु निम्न अनुसार रहेका छन ।

  • परम्परागत कृषिप्रणालीमा परिवर्तन गरी आत्मनिर्भर कृषिप्रणाली अपनाउन
  • सिँचार्इको असुविधा हटाउन
  • भारतसँगको खुल्ला सिमानाका कारण भइरहेको अपराधिकरण रोक्न
  • बाल विवाहको निवारण गर्न
  • बढ्दो दहेज प्रथाको अन्त्य गर्न
  • गुणस्तर शिक्षाको उपलब्धता
  • गुणस्तरीय स्वास्थ्य सेवाको पहुंच पुर्याउन
  • बढ्दो बैदेशिक रोजगारका कारण उत्पन्न सामाजिक सांस्कृतिक जटिलताहरु हटाउन
  • सरसफाइमा पहुंच पुर्याउन
  • बेरोजगारीको अन्त्य गर्न
  • लैंगिक हिंसाको अन्त्य गर्न
  • विकास निर्माणको कार्यमा सुशासन कायम गर्नु
  • महिलाको सामाजिक आर्थिक राजनैतिक क्रियाकलापमा सहभागिता बढाउन आदि ।

निष्कर्ष

शिक्षा, स्वास्थ्य, मानव विकास सुचक, सरसफार्इ, जलविधुतमा पछाडी रहेपनि समथर भूभाग, प्रशस्त खेतीयोग्य जमिन , देशको कुल ग्रार्हस्थ उत्पादनमा कृषि, मत्स्यपालन र उद्योगको क्षेत्रगत योगदान बढी रहेकाले राम्रोसंग व्यवस्थापन गर्न सकेको खण्डमा यो एक समृद्द प्रदेश बन्न सक्ने छ ।  मधेशी बाहुल्यता रहेको यो प्रदेश कृषि, उद्योग, पर्यटन, राजस्व, भन्सारका लागि अति महत्वपूर्ण छ । देशको प्रमूख राजस्व संकलन हुने यस प्रदेशमा केन्द्रीय सरकारको उपेक्षा र सुशासनका कमीका कारण दिन प्रतिदिन गरिबी बढ्दो छ । तथापि अबको प्रादेशिक तथा स्थानिय सरकारले परिवेश अनुकुलको विकास गर्न सके प्रदेश २ चाडैं समृद्द हुनेमा कुनै सन्देह छैन ।

(लेखक तथ्यांक कार्यालय उदयपुरमा तथ्यांक अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

Online Saptari
Online Saptari

About The Author