परीक्षाको नाममा एन प्याब्सन सम्वद्ध विद्यालय अझैं खुल्ला

जोखिम मोलेर विद्यालय जान बाध्य छन् बच्चाहरु
परीक्षाको नाममा एन प्याब्सन सम्वद्ध विद्यालय अझैं खुल्ला
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ पुस । बढ्दो शीतलहरले सप्तरी जिल्लाको जनजिवन अत्यन्तै कष्टकर हुँदै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सप्तरीले विद्यालयमा विदा दिए पनि एन प्याब्सनले मातहतका विद्यालयहरु अझैं खुल्ला राखेका छन् ।
परीक्षाको नाममा विद्यार्थीहरुबाट रकम असुल्नकैलागि मौसम प्रतिकुलतालाई समेत ख्याल नगरी विद्यालयमा विदा नदिएको भन्दै व्यापक गुनासो आएपछि प्याब्सन सप्तरीले आवद्ध सम्पूर्ण विद्यालयहरुमा विदा दिएका हुन् । अत्यधिक चिसोले विहान बाहिर हिडडुल गर्न समस्या भईरहेको अवस्थामा बालबालिकाहरुलाई परीक्षा दिन विद्यालय पुग्नैपर्ने वाध्यतालाई मध्यनजर गर्दै अभिभावकहरुले विद्यालयमा विदा दिन व्यापक दवाव आएपछि प्याब्सन मातहतका सम्पूर्ण विद्यालयहरुमा विदा दिईएको छ । शीतलहरले जनजिवन अत्यन्तै कष्टकर बन्दै गएपछि विद्यालयमा विदा दिईएको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिएका छन् ।
यता एन प्याब्सन सप्तरीले भने शीतलहरको कहरले मानवीय क्षति हुने क्रम चलिरहेको अवस्थामा पनि विद्यालय खुल्ला नै राखेका छन् । परीक्षाको नाममा विद्यार्थीहरुलाई कठ्यांग्रिदो जाडोमा विद्यालय बोलाएर बक्यौता रकम असुल्ने गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।
जिल्लाका सम्पूर्ण सरकारी विद्यालय तथा प्याब्सन सम्वद्ध विद्यालयहरु बन्द गरिए पनि एनप्याब्सन सम्वद्ध विद्यालय बन्द नगरिएकोप्रति जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले दुःख व्यक्त गरेका छन् । मौसम प्रतिकुलता र बालबालिकाहरुको स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गरी विद्यालय बन्द गर्न एनप्याब्सनलाई समेत आग्रह गरिसकिएको बताउँदै उनले भने ‘विद्यालय बन्द गर्न एनप्याब्सन पदाधिकारीलाई जानकारी गराईसकिएको छु, आइतवारसम्म हेरेर निर्णय लिन्छौं भनेको छ ।’
यता अभिभावकहरुले भने यत्रो बिघ्न ठण्डीमा विद्यालय बन्द नगरि विद्यालय चालु राखेको अवस्थामा बालबालिकाहरुको जिऊ ज्यानमा केही भए त्यसको जिम्मेवारी सम्वन्धित विद्यालयले लिनुपर्ने अभिभावकहरुले चेतावनी दिएका छन् ।
यसैबीच प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष एवम् पूर्व सांसद बाबुराम पोखरेलको निधनप्रति उनले दुःख व्यक्त गर्दै प्याव्सनले शोकमा तीन दिनसम्म कुनै पनि गतिविधि नगर्ने जनाएका छन् ।

तस्विरः आर.एन. विश्वास/राजविराज

Online Saptari
Online Saptari

About The Author