सामाजिक रुपान्तरणमा सहकारी संस्थाको योगदान सराहनीयः भट्टराई

सामाजिक रुपान्तरणमा सहकारी संस्थाको योगदान सराहनीयः भट्टराई
Sinha Tempo

राजविराज, २२ पुस । राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य सबिता भट्टराईले सहकारी संस्थाहरुले सामाजिक रुपान्तरणमा पुर्याएको योगदान प्रशंसनीय रहेको भन्दै आगामी दिनहरुमा थप सशक्त भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
राजविराज ९ स्थित जन ज्योति सहकारी संस्था लिमिटेडको शनिवार आयोजित छैठौं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् । सहकारी संस्थाहरु स्थापना हुने क्रम तिब्र रहे पनि जिम्मेवार भएर काम गर्ने संस्थाहरुको अझैं अभाव रहेको बताउँदै उनले भनिन् ‘सहकारी संस्थाहरुले सामाजिक रुपान्तरणमा पुर्याएको योगदान प्रशंसनीय छ, आगामी दिनहरुमा थप सशक्त भएर काम गर्नु आवश्यक छ ।’
प्रमुख अतिथि भट्टराईले जन ज्योति सहकारी संस्थाले छोटो समयमा गरेको प्रगति उदाहरणीय रहेको भन्दै संस्थाको प्रगतिको कामना गरिन् । वर्तमान अवस्थामा बेरोजगारी समस्या ठूलो चुनौतिको रुपमा रहेको भन्दै सहकारीहरुले व्यवसायिक एवम् आय आर्जनमूलक कार्यमा लगानी गर्नुपर्नेमा उनले जोड दिईन् ।
सहकारी आन्दोलनको मूल प्रवाहमा सहयोगको भावनामा बृद्धि गराई जिवनस्तर बृद्धि गर्ने उद्देश्यका साथ २ लाख ५० हजार रुपैयाँको चुक्ता शेयर पूँजीबाट शुरु भएकोमा हाल एक करोड रुपैयाँ पुगेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिए । संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै उनले कृषिलाई आधुनिकीकरण गर्न संस्थाले ट्रयाक्टर, पावर ट्रेलर, पम्प आदिमा लगानी गर्दैआएको बताए ।
युवाहरुलाई विदेशिन नदिन कृषि फार्म, व्यवसायिक पशुपालन, माछा पालन, चिया पसल, पान पसल, किराना पसल, होटल व्यवसायतर्फ उन्मुख गराएको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिए । संस्थाले स्थापनाकालदेखि सात सय युवाहरुलाई प्रत्यक्ष रोजगारी दिलाउनमा सफल भएको भन्दै राष्ट्रिय सहकारी बैंकबाट लघुवित्त ऋण सहयोगीहरुलाई हाल १२ ओटा महिला समूह खडा गरि २ सय महिलाहरुमाझ लघुवित्त सेवा उपलब्ध गराउँदैआएको उनले बताए ।
साधारणसभाको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सुभाष मण्डल, राजविराज नगरपालिका ९ का अध्यक्ष शम्भु यादव लाली, त्रियुगा सहकारी संस्थाका शम्भु बहादुर खड्का, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद सिंह, जिल्ला अध्यक्ष सुनिल कुमार झा, जिल्ला सहकारी संघका सचिव रमेश गुप्ता, संघका सदस्य गोपाल गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सोही अवसरमा सन्नु खङ्ग, मुनचुन देव, जिबछ दासलगायतले गीतसहित मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए ।

Online Saptari
Online Saptari

About The Author