• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा ६ जनाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा ६ जनाको मृत्यु

राजविराज, २१ पुस । विगत एक साता यताको बढ्दो शीतलहरका कारण कठ्याङ्ग्रिएर सप्तरीमा ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक शुक्रवार महदेवा गाउँपालिका वडा नम्वर–२ अकबरपुरका ५८ वर्षिय सुकदेव यादवको जाडोको कारण मृत्यु भएको भएको हो । घर नजिकै नहरको डिलमा बिहान ५ वजेको समयमा दिशा गर्ने जाँदा एक्कासी चिसोले कठ्याङ्ग्रिएर ढलेपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको छ । यसैगरी बुधवार र बिहीवार राजविराज नगरपालिका वडा नम्वर १० झल्हीका ६५ वर्षिय कैली देबी खंग र वडा नम्वर २ का ६० वर्षिया नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादवले बताएका छन् ।
यसैगरी सोमवार र मङ्गलवार सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरका ३६ वर्षिय कुलदिप राय र सोही वडाका ३५ वर्षिय रामदयाल राम तथा एक साता अघि नै सोही वडाकी ७२ वर्षिया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडा अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिएका छन् । चिसो हावासँगै शितलहरका कारण जिल्लाको जनजिवन प्रभावित भएको छ ।
विहानको समयमा बजारहरुमा मान्छेको चहल–पहल घटेको छ । जाडोबाट जोगिन राजविराज नगरपालिकाको ठाउँठाउँमा दाउरा बाल्ने कार्य थालिएको उप–मेयर साधना झाले जानकारी दिएकी छिन् । यता सरकारी कार्यालयहरु खुले पनि बढ्दो चिसोले गर्दा सेवाग्राहीहरुको चाप घटेको छ ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरुमा तीन दिनकालागि विदा दिईएको छ । जिल्लाका चार सय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । जिशिअ पाण्डेले मौसम सुधार भएको खण्डमा आईतवारवाट जिल्लाका सामुदायिक विद्यालय खुल्ने जानकारी दिएका छन् ।