• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोसी स्नान गरेर मनाईदैछ पुसी पूर्णिमा

राजविराज, १८ पुस । अत्यधिक चिसोका बावजुद सप्तरीको कोशी व्यारेजलगायतका जलाशायहरुमा नुहाएर मङ्गलवार पुसी पुर्णिमा भव्यताका साथ मनाईदैछ ।
हनुमाननगर कंकालिनी नगरपालिका स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको छ । व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको पुर्णिया, लौकही, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखीलगायतका स्थानहरुबाट कोशी स्नान गर्न आएको स्थानीय सञ्चारकर्मी रामनारायण विश्वासले जानकारी दिएका छन् ।
बिहानैदेखि बैलगाडा, बस, म्याजिक, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको घुइँचो लागेको छ । कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि महत्वपूर्ण मानिन्छ । कृषकहरुकालागि कोसी मेलामा बढी उपस्थिति हुने गरेको उनले बताए ।
कोसी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको छ । पौषशुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी लगायतका जलासयहरुमा नुहाएर मिठोचोखो खाने चलन रही आएको छ ।
पुसी पूर्णिमाका दिन जलाशायहरुमा नुहाए पापबाट मुक्ति पाउने र गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको छ । दही, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु यस दिन मुख्य रुपमा खाइन्छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलनका कारणले पनि यस पूर्णिको दिन कोसी स्नान गर्न आउनेहरुको संख्या अत्यधिक रहने गरेको पण्डित राजीव झाको भनाई छ । उनका अनुसार विहीवार कोसी व्यारेजमा मात्र पाँच हजार भन्दा बढी नरनारीले स्नान गरेका छन् ।