मधेश र पहाडबीचको द्वन्द्वले कसैलाई हित गर्दैन

मधेश र पहाडबीचको द्वन्द्वले कसैलाई हित गर्दैन
Sinha Tempo

–संगीता रेग्मी
२०६२÷६३ सालको जनआन्दोलन र मधेश आन्दोलनपछि पहिचान र अधिकारका नाममा विभिन्न जातीय र क्षेत्रीय आन्दोलनहरू भए । मधेशका नाममा हुने गरेको राजनीति र पहिचानको नाराभित्र मधेश र पहाडलाई अलग बनाउने षड्यन्त्र रहेको भन्नेहरू प्रशस्तै छन् । यसो भन्नेहरूले सत्यको अर्को पाटोलाई भने बिर्सिएझै लाग्छ । किनकि मधेश र पहाडबीचमा राजनीति भन्दा बलियो सामाजिक सम्बन्धहरू छन् । वैवाहिक सम्बन्धमार्फत विकास हुँदै गरेको यो सम्बन्धलाई नयाँ पीढीहरू झनै अगाडि बढाएका छन् ।
गत वर्षसम्पन्न पूर्वराष्ट्रपति डा. रामवरण यादवको परिवार र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारबीच सम्पन्न वैवाहिक सम्बन्ध पनि यस्तै सामाजिक परिघटनाको गतिलो उदाहरण हो । पूर्व राष्ट्रपति डा. यादवका नाति इञ्जिनियर अभिषेक यादव र वर्तमान राष्ट्रपति भण्डारीकी छोरी डा. निशाकुसुम भण्डारीबीचको वैवाहिक सम्बन्धले मधेश र पहाड अलग होइन, एक हो भन्ने सन्देश प्रवाह गरेको छ ।
दुई अलग समुदाय (मधेशी–पहाडी) बीच बढ्दै गएको राजनीतिक अविश्वास र आरोप–प्रत्यारोपले हाम्रो सम्बन्ध त्यति कमजोर छैन भन्ने सन्देश पनि यस्ता परिघटनाले दिएको छ ।
यति मात्र होइन, राजा–महाराजको पालामा पनि मधेशी र पहाडी समुदायबीच वैवाहिक सम्बन्ध हुने गरेको चर्चा इतिहासमा पनि पाइन्छ ।
हुन त मधेशी र पहाडी समुदायबीचको यो विवाह नै पहिलो भने होइन । राजनीतिमा स्थापित महत्वपूर्ण हस्तिहरूले वैवाहिक सम्बन्धमार्फत मधेश र पहाडबीच साइनो गाँसेका छन् । राजनीतिमा मात्र होइन, सामाजका अन्य क्षेत्रमा स्थापित भएका यस्ता महत्वपूर्ण व्यक्तित्वहरू छन्, जसले आफू मधेशी भए पहाडी र पहाडी भए मधेशीसँग विवाह गरेका छन् । उनीहरूको दाम्पत्य जीवन सुखमय र खुशीसाथ बितिरहेको छ । यसले समाजलाई जोड्दै लगेको छ । मधेश र पहाड अलग होइन भन्ने सन्देश पनि प्रवाह भएको छ ।
यस्तो वैवाहिक सम्बन्धलाई जति धेरै बढाउन सकिन्छ, त्यति नै दुई समुदायबीचको नकारात्मक भावनालाई अन्त्य गर्न सहयोग पुग्छ ।
भन्निछ, आत्मीयता र मानवतालाई क्षेत्रीयताले छेक्न सक्दैन । नेपालको भूगोलभित्र बस्ने सबै नेपाली भएपनि त्यसभित्र थुप्रै समुदाय एवम् जातजातिहरू रहेका छन् । त्यसभित्र पनि निश्चित भुगोलभित्र बस्दै आएकाहरूले आफुलाई त्यो भुगोलको प्रतिनिधिपात्र मान्छन् । पछिल्लो समयमा बढ्दो सहरीकरण, सामाजिक सञ्जालको व्यापक प्रयोग र ‘ग्लोबलाइजेसन’को प्रभावले ‘मिक्स सोसाइटी’को अवधारणा बढ्दै गएको छ । आफ्नो जातीय एवम् सामुदायिक पहिचानभन्दा माथि उठेर समाजमा मिलेर बस्नुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ । विगत लामो समयदेखि मधेश र पहाडका विषयमा विभिन्न सवालहरू उठ्दै आएको भएपनि २०६२÷६३ को मधेश आन्दोलनपछि मधेशका मुद्दाहरू सतहमा आउन थाले र मधेशसँग भएका विभेदका विषयले स्थान पाउन थाले ।
भौगोलिक सुगमता भएर पनि विकास निर्माणमा पछाडि पर्नु शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई लगायतका राज्यले दिने सुविधामा मधेश सधैं पछाडि नै रह्यो र मधेशलाई राज्यले सधैं हेपिरह्यो भनेर अधिकार प्राप्तिको उद्देश्यले विभिन्न नाम दिएर क्षेत्रीय दलहरू खुले, जसले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राम्रो मत ल्याएर राष्ट्रिय पार्टीको रूपमा पहिचान बनाउन सफल पनि भएको छ । मधेशको नाममा क्षेत्रीय रूपमा राजनीति गर्न खोलिएका दलहरूले अब आफ्नो धारणा परिवर्तन गर्दै सामाजिक विखण्डनको होइन, एकता र सहकार्यको लागि पनि लड्नुपर्छ ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले अब मधेशको मुद्दा मात्र उठाएर राजनीति गर्ने होइन कि अबका दिनमा उनीहरूले मधेशको सामाजिक बनोटका साथै मधेश र पहाडका लागि सेतुका रूपमा आफूलाई उभ्याउन सक्नुपर्छ । मधेशमा हुने शीतलहर, बाढीको विषयसँगै पहाडको पहिरो, कर्णालीमा चामल अभाव भएको विषय, जुम्लामा सडक निर्माणमा ढिलाई भएको विषय पनि उनीहरूले उठाउन सक्नुपर्छ ।
मधेश विकासमा पछाडि परेको छ, अधिकार र पहिचानको लागि आन्दोलनमा छ र अन्य विभिन्न समस्याले ग्रस्त छ भन्दैमा पहाड र हिमाल सुगम, शान्त, विकसित छ भन्ने होइन । खान पुग्ने अन्न उत्पादन नहुनु, सिँचाईको अभाव, सडकको अभाव जस्ता विभिन्न समस्याले पहाड र हिमाल पनि पीडित छ । हामीले सबैभन्दा पहिले आफ्नो सोचाईमा परिवर्तन ल्याउन जरूरी छ । मधेशका नागरिक पनि नेपाली नै हुन् भन्ने भावना जुम्लाको कुनै तामाङ समुदायको व्यक्तिले भन्न सक्नुपर्छ भने झापाको एउटा व्यक्तिले हुम्लाको समस्या बुझ्न सक्नुपर्छ र इलामको मान्छेले दार्चुलाको विषयमा जानकारी लिनुपर्छ ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि मधेश र पहाडका जनताले यस्तै समाजिक सदभावको अभिव्यक्ति र चाहनालाई आफनो मतमार्फत प्रकट गरेका छन् । उनीहरू राजनीतिक कलेवरभन्दा माथि उठेर मधेशबाट पहाडी र पहाडबाट मधशी नेतालाई जिताएर मधेश र पहाडको संगमको रूपमा नेपालको राजनीतिलाई व्याख्या गरेर अनुपम सन्देशको नमुना अभिव्यक्त गरेका छन् ।
यसपटको निर्वाचनमा धेरै यस्ता अनुहारहरू देखिए जो पहाडको भएर मधेशबाट जित हासिल गर्न सफल भए भने मधेशी उम्मेदवारहरूले पनि पहाडी मतदाताको मत पाएर जित प्रापत गरे । भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् । जनताले जातीयता र क्षेत्रीयताका आधारमा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखियो । मोरङको क्षेत्र नं १, २ र ३ मा क्रमश ः एमालेका घनश्याम खतिवडा, नेपाली काँग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेशी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् । भित्री मधेश मानिने सिरहा क्षेत्र नं ३ मा एमालेका लीलानाथ श्रेष्ठ र सिरहा १ मा काँग्रेसका प्रदीप गिरीबाट विजयी हुनु मधेश र पहाडबीचको विभेदलाई अन्त्य गर्ने जनताको चाहना मतबाट प्रकट भएको देखिन्छ । यस्तै, महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल र सोही जिल्लाका क्षेत्र नं २ मा राजपाका शरत्सिंह भण्डारीले कांग्रेसको जीत पनि यसैको उदाहरण हो । सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेशी अनुहार हुन् ।
सोचमा परिवर्तन, आफ्नो देशभित्र भएका जातजाति, भाषाभाषीको विषयमा जानकारी राख्ने हो भने मधेश र पहाडको विषयमा उत्पन्न भएको दुरी घट्न सक्छ । अब हामीले मधेश र पहाडको बीचमा दूरी बढाएर होइन घटाएर देशलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्छ । द्वन्द्व र दूरीले कसैलाई हित गर्दैन । (मधेश दर्पण फिचर सेवा)

Online Saptari
Online Saptari

About The Author