• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न

अधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न

राजविराज, १६ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्व समिक्षा कार्यक्रम तथा मानवअधिकार अवस्था विषयक छलफल आइतवार राजविराजमा आयोजना गरियो ।
इन्सेक सदस्य एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले मानवअधिकार उल्लंघनका घटना जति कम हुँदै जान्छ त्यति समाज र देश विकसित हुँदै जाने बताए । मानवअधिकार उल्लंघनका घटना हुन नदिन आ–आफ्नो ठाउँबाट सजग रहनुपर्ने उनले आवश्यक्ता औंल्याए ।
निमित्त प्रहरी उपरीक्षक ध्रुवकुमार श्रेष्ठले कानुनले प्रतिबन्ध गरेका काम कुरा हुन नदिने भएमा कानुनी कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । कसैको कुनै पनि काम, कुराले मानवअधिकार उल्लंघन नहोस, शान्ति नबिथिलियोस भनेर सजग रहेको प्रहरीले सबैसँग सहयोगको अपेक्षा गरेको उनले बताए ।
नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले अदालतले निर्णय नगरुञ्जेल सप्तरीमा भएको घटनाहरुमा प्रहरीले गोली प्रहार गरेको वा अमुक पार्टी तथा मधेसी मोर्चाले सम्पति क्षति गरेको किटान नगरी लेख्न सुझाव दिए । कार्यक्रमका सहभागीहरुले जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा हात्ती आतंकबाट असुरक्षित व्यक्तिहरुको जिउधनको सुरक्षा गर्न सरकार र स्थानीय प्रशासन जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज प्रहरी निरीक्षक सुजाता तुम्वाहाम्फे, निलहिरा समाजका देवनारायण चौधरी, एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मनिष सिम्खडालगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन प्रमोद चालिसेले गरे भने स्वागत तथा कार्यपत्र प्रस्तुति इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले गरे ।