• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

उराँव भाषाभाषीको प्रदर्शनकारी लोककला तथा संस्कृतिबारे विमर्श

उराँव भाषाभाषीको प्रदर्शनकारी लोककला तथा संस्कृतिबारे विमर्श

राजविराज, १६ पुस । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, काठमाण्डौद्वारा सुनसरी जिल्लाको मुख्यालय इनरुवामा शनिवार उराँव भाषाभाषीहरुको प्रदर्शनकारी लोककला तथा संस्कृतिका विभिन्न पक्षहरुमाथि नाट्य विमर्शको आयोजना गरियो ।
प्राज्ञ परिषद् सदस्य तथा नाट्य विभाग प्रमुख रमेश रञ्जन झाको अध्यक्षता तथा उराँव भाषाका विद्वान् अभियन्ता रामलाल उराँवले कार्यपत्र प्रस्तुत गरे । उनले कार्यपत्रको माध्यमवाट उराँव समुदायको लोकसंस्कृति तथा लोकाचारहरुका विभिन्न पक्षमाथि उल्लेख्य विमर्शको शुरुआत गरे र पछि सोही कार्यपत्रमाथि खुल्ला सत्रमा विभिन्न विज्ञ टीकाकारहरुले टिप्पणी गर्दै उराँव समुदायका लोकव्यवहारमाथि अझ वृहत् रूपले प्रकाश पारे ।
उराँव लोक संस्कृतिका केही आकर्षक झाँकीहरुका साथै गीत–संगीतहरु समेत विभिन्न कलाकारहरु मार्फत प्रस्तुत गरिएको थियो । इना उराँवको नेतृत्वमा समुदायका महिला तथा पुरुषहरु कर्मा पर्वमा गरिने नृत्य प्रस्तुत गरे । लेख्य नाट्य प्रस्तुतिको अभाव रहेता पनि हाल यस दिशामा केही नयाँ प्रतिभाहरुले काम गरिरहेको ममता उराँवले बताईन् ।
यस नाट्य विमर्श कार्यक्रममा उराँव भाषाका साथ सामिप्यता राख्ने मैथिली भाषा, थारु भाषा र नेपालीभाषाका विद्वान् सामाजिक अभियन्ताहरुले समेत संख्यामा सहभागिता जनाएका छन् । प्राज्ञ सभा सदस्य राम धामीका अतिरिक्त मैथिलीभाषाका लेखक तथा सामाजिक अभियन्ता प्रवीण नारायण चौधरी, रंगकर्मी लेखक तथा निर्देशक राम भजन कामत, रंगकर्मी लेखक तथा निर्देशक प्रकाश प्रेमी, सामाजिक अभियन्ता तथा संस्कृतिकर्मी धीरज बर्मा, संजय मेहतासहित अभियानीहरुले कार्यक्रममा सहभागी जनाए ।
कार्यक्रममा अध्यक्षीय सम्बोधन गर्दै प्राज्ञ रमेश रंजन झाले उराँव लोकसंस्कृतिमा जन्मदेखि मृत्युसम्म गीत र संगीतको उपयोगलाई अनौठो रहेको बताए । नाटक नै कला–संस्कृतिका साथै इतिहास र ऐतिहासिकतालाई जोगाउन सहज बाटो भन्दै उराँव समुदायका सबै सर्जकहरुलाई उनले सुझाव दिए ।