सास्ती झेल्दै दुध बेच्न बाध्य छन् सप्तरीका पशुपालकहरु

सास्ती झेल्दै दुध बेच्न बाध्य छन् सप्तरीका पशुपालकहरु
Sinha Tempo

राजविराज, १३ पुस । सप्तरी जिल्लाको विभिन्न गाउँहरुबाट एका बिहानै दुध दुहेर बेच्नका लागि सदरमुकाम राजविराज हुइँकिन्छन् । कोही साइकलमा त कोही पैदलै टाउँकामा तथा कोही हातमा दुधको कमण्डल, थपरी बोकेर हाटमा आईपुग्छन् । चाहे शीतलहरको कपकपी होस् या असार–साउनको मुसलधारे वर्षा । दुध बेच्नकालागि विहानै राजविराज नगरपालिकाको हटियामा आएर दुधको भाँडो खुला आकासमुनि भुइँमा बिसाउँदै ग्राहकको पर्खाइमा बस्छन् ।
कतिबेला ग्राहक आउलान र दुध किनेर लैजालान् ? भनी बाटो कुरेर घण्टौं बस्नु पशुपालक किसानहरुको नियती नै बनिसकेको छ । विहान ६ बजेदेखि दैनिक रुपमा लाग्ने खुल्ला हाटमा कहिलेकाही ग्राहक नआइदिँदा १२ बजेसम्म भोकै बसी दुधको भाँडो बोकेर घर फर्किनुपर्ने पशुपालकहरुको बाध्यता छ । यति मात्र होइन, लामवद्ध भई अगाडिमा राखिएको दुधको भाडोमा दुध किन्न आउने ग्राहकहरुले हात दुधमै डुबाएर दुधको शुद्धता जाँच्ने गर्छन् । दुध राम्रो छ वा छैन भनी हेर्दै कति रुपैयाँ डिब्बा (आधा लिटर)मा दिने हो भनी दामछाप शुरु हुन्छ ।
चालिस रुपैयाँ डिब्बाबाट दामछाप हुँदै २० रुपैयाँसम्म पनि बेच्नुपर्ने बाध्यता रहेको पशुपालकहरु बताउँछन् । दुधको शुद्धता जाँच्ने नाममा दर्जनौं ग्राहकले हात डुबाउने र झिक्ने गर्छन् । दुधको गुणस्तर जाँच्न लेक्टोमिटर प्रयोग गर्नुपर्नेमा यसरी दुध त दुषित हुन्छन् नै । दुध बिक्रीका लागि आउने पशुपालकहरु दैनिकजसो पीडा झेल्नुपर्ने बाध्यता रहेको दुध विक्रेता रामजी यादव बताउँछन् । हात डुवाउन नदिए ग्राहकहरु उल्टै रिसाउने र आफ्नो दुध पनि विक्रि नुहने भएकोले उनीहरुको ईच्छा अनुसार नै भाँडो जिम्मा लगाउने गरेको उनले बताए ।
यस्तै भनाई छ दिघवाकी दुध विक्रेता अमेरिका देवी यादवको । भैंसी पाल्न निक्कै संघर्ष गर्नुपरेको बताउँदै उनले भने ‘एक लाख रुपैयाँसम्म एउटा भैसीको मोल पर्छ, त्यसको आहारामा समेत निक्कै लगानी गर्नुपरे पनि उत्पादन भएको दुधले उचित दाम पाउँदैन, त्यसमा आधा दिन दुध बेच्नमै समय खर्चिनुपर्ने बाध्यता छ ।’
सात–आठ किलोमिटर पैदलै हिँडेर राजविराज हटियामा दुध बेच्नकालागि आउने गरेको पिपराहीकी रामकुमारी देवीले बताईन् । पशुपालन गर्न निक्कै मेहनत गर्नुपरेको बताउँदै उनले भनिन् ‘सय–डेढ सय रुपैयाँकालागि आधा दिन त्यसै खेर जान्छ त्यसमा पनि बस्ने ठाउँसम्म व्यवस्थित नहुँदा पसलवालाहरु अगाडिबाट हट्न भन्दै जिउमा पानी समेत फाल्ने गर्छन, दैनिक त्यहि ठाउँमा आएर बस्नुपर्ने भएकोले प्रतिवाद पनि हामी गर्न सक्दैनौं ।’
दुध हाट अति अव्यवस्थित रहेको स्वीकार्दै यसलाई व्यवस्थित गर्न आफुले पहल गर्ने राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवले बताए । माघ महिनाको पहिलो हप्तादेखि वजार ब्यवस्थापनसँगै यसको नियन्त्रणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘यो वर्षौंदेखिको समस्या हो, यसलाई समाधान गर्न हामी ठोस कदम चाल्छौं ।’
दुधमा हात डुबाउने कार्य गलतः
ग्राहकहरुले दुधमा हात डुबाएर दुधको गुणस्तर जाँच्ने कार्य स्वास्थ्यको दृष्टिकोणले समेत गलत छ । दुधको भाँडोमा व्यक्तिपिच्छे हात डुबाउने कार्यले दुध अशुद्ध हुनुका साथै स्वास्थ्यकालागि समेत हानिकारक भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक ज्ञानवहादुर वस्नेतले बताए । उनले भने ‘यसरी हात डुबाएर विक्रि वितरण हुने अशुद्ध दुधका कारण सरुवा रोग तथा हैजासम्म लाग्न सक्ने खतरा छ ।’
दुधको गुणस्तरीयता जाँच गर्नु परे लेक्टोमिटरले जाँच्नुपर्नेमा यसरी अव्यवस्थित ठाउँमा जो कोहीले दुधमा हात डुबाउने कार्य एकदमै गलत भएको नागरिक समाजका अगुवाहरुको भनाई छ । उपभोक्ताहरु सचेत नभएका कारण तथा सरोकारवालाहरुको गैरजिम्मेवारीपनाका कारण यस्तो गलत प्रवृतिले प्रश्रय पाएकोले तत्काल रोक्नुपर्ने उनीहरुको तर्क छ ।

Online Saptari
Online Saptari

About The Author