• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशी पुत्र २ लाई चलचित्र जाँच समितिको नयाँ शर्त

मधेशी पुत्र २ लाई चलचित्र जाँच समितिको नयाँ शर्त

राजविराज, १३ पुस । मधेशको वर्तमान राजनीतिक अवस्थालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र मधेशी पुत्र २ माथि फेरी केन्द्रीय चलचित्र जाँच समितिले अंकुश लगाएको छ ।
गत पुस ५ गते समितिले जाँच गरी केही दृष्य, सम्वाद, प्रसङ्ग ईत्यादीमाथि रोक लगाएकोमा पात्रको नाम परिवर्तन तथा केही संशोधन गर्दै विहीवार पेश गरिएकोमा फेरी अर्को बखेडा झिकेको छ । उक्त चलचित्रमा स्वतन्त्र शब्द अझैं उल्लेख रहेको भन्दै नहटाएसम्म प्रदर्शनकालागि अनुमति दिन नमिल्ने भन्दै फेरी आफुलाई फिर्ता पठाएको मधेशी पुत्र २ का निर्देशक समेत रहेका नायक निराजन मेहता ‘मञ्जित’ले जानकारी दिएका छन् ।
आफुले कुरा गर्न खोज्दा समितिका पदाधिकारीहरुले बेवास्ता गरेको उनले बताए । यस अघि नेपाली चलचित्र भैरवमा मधेशी नेता तथा समुदायलाई होच्चयाउने सम्वाद हुँदा पनि केन्द्रिय चलचित्र जाँच समितिले कुनै अवरोध पुर्याएको थिएन । मधेशी पुत्र २ लाई सिके राउत नामक पात्र हटाउनु पर्ने कारण उल्लेख नभएको पत्रमा फिल्म निर्माता कम्पनीले मधेशी भएकै कारण जाँच समितिले चलचित्रलाई रोक लगाएको निर्माता, निर्देशक एवम् नायक निराजन मेहता ‘मञ्जित’ले बताए ।
नेपाली र भोजपुरी दुई भाषामा निर्माण गरिएकोे मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुब कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविन लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको निर्माता उदितनारायण साह ‘अरुण’ले जानकारी दिएका छन् । द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् । रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव लगायतका गायक गायिकाहरुको सुमधुर स्वर रहेको छ । उक्त चलचित्रको गीतहरुमा भागवत मण्डल, अन्जु यादव, पारसमणी मुख्य स्वर रहेको छ ।
युटुब मार्फत ओएसआर च्यानबाट केही महिना अघि मात्र उक्त चलचित्रको ट्रेलरहरु सार्वजनिक भएको थियो । हालै मात्र मधेशी पुत्र–२ को ‘हम दिवाना हई तोहर‘बोलको गीत ‘मधेश दर्पण’ युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका अन्जु यादव र पारसमणीको स्वर रहेको छ । चलचित्रको निर्माण तथा सम्पादन कार्य सम्पन्न भईसके पनि फाल्गुनको पहिलो सातादेखि राजधानीसहित देशैभभरी प्रदर्शनमा आउने लक्ष्य राखिएकोमा उक्त चलचित्रलाई केन्द्रीय चलचित्र समितिले चल्न नदिने मनसायले विभिन्न बहाना बनाउँदैआएको नायक मेहताले बताए ।