मुसहर समुदायको जिविकोपार्जनको माध्यम बन्यो तरकारी खेती

मुसहर समुदायको जिविकोपार्जनको माध्यम बन्यो तरकारी खेती
Bwtech New Add With Software & Bull SMS

राजविराज, ११ पुस । बोनी मजदुरी गरेर गुजारा गर्ने सप्तरीको मुसहर (सदा) समुदाय यतिबेला पुरानो पेशालाई परिमार्जित गर्दै व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
आफ्नो एक धुर पनि जग्गा नरहेको अवस्थामा उनीहरुले भाडामा जमिन लिएर तरकारी खेती गरेर जिविकोपार्जनको माध्यम बनाएका हुन् । सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरी नामक संस्थाको पहलमा स्पोन्सरसिप कार्यक्रम अन्तर्गत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–४ लौनियाँ कोइलाडी, छिन्नमस्ता गाउँपालिका–२ कोचाबखारी, छिन्नमस्ता र कुपही तथा विष्णुपुर गाउँपालिका–६ को रन्जितपुर बस्तीका मुसहर लगायत अति विपन्न एवम् पछाडि परेका समुदायलाई लक्षित तरकारी खेती कार्यक्रम सञ्चालन हुँदैआएको छ ।
खेतबारीमा पानी लगाउने क्रममा आली काट्दै गरेको अवस्थामा भेटिएकी रन्जितपुरकी द्रोपती देवी सदालाई खेती गर्न गाह्रै हुदो रहेछ है ? भनी जिज्ञासा राख्न नपाउँदै उनले मुस्काउँदै भनिन् ‘सर, पहिला त गाह्रै लाग्थ्यो तर अहिले सहज हुँदै गएको छ ।’ दैनिक छाक टार्न समेत समस्या झेल्दैआएका मुसहर समुदायलाई प्रशिक्षित गरेर व्यवसायिक तरकारी खेती गर्न प्रोत्साहित गरिएको छ ।
साँझ खाएपछि बिहान के खाने ? भनी चिन्ताले चिन्तित रहने उनले अहिले करिब ४ कट्ठा खेतमा भाडामा लिएर काउली, खुर्सानी, भन्टा, धनियाँ, मूला लगायतका तरकारीहरु लगाएकी छिन् । काउली राम्रो सप्रेकोले उनले केही बिक्री समेत गरिसकेकी छिन् भने केहीमा फूल राम्रोसँग नलागेकोले एक–दुई सातापछि बिक्री गर्ने सोच बनाएकी छिन् ।
बोनी मजदुरी गर्ने बानी भएका कारण तरकारी खेती गर्न आफुलाई मन नलागे पनि एक पटक गरेर हैरौं न त, भनी सोचेर तरकारी खेती शुरु गरेको सदाले बताईन् । कमाउनका लागि पति तीन महिना अघि भारतको पञ्जाब गएको बताउँदै उनले भनिन् ‘हामी त मुसहर जाति, यस्तो काम गर्न गाह्रो लाग्थ्यो तर अहिले सहज भएको छ, अब त पञ्जाबबाट आएपछि वहाँलाई पनि तरकारी खेतीमै लगाउने सोच बनाएको छु ।’ तरकारी बेचेर आम्दानी हुन थालेपछि खानलाई समेत सहज भएको तथा बच्चाहरुलाई पढाउन समेत मद्दत मिलेको द्रोपती देवी सदाले बताइन् ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीकी सरस्वती देवी सदाले समेत तरकारी खेती गरेकी छिन् । खेतमा फलेको तरकारी स्थानीय बेल्ही भन्सार, कोइलाडी लगायतका स्थानीय हाटमा लगेर बेच्न थालेकी छिन् । ज्याला मजदूरी पाएको बेला काम गर्ने र फुर्सदमा गफ चुठेर बस्दैआएकोमा अहिले दुई–चार पैसा कमाउन थालेको बताउँदै उनले भनिन् ‘पहिला केही किन्नु प¥यो भने पतिसँगै माग्नुपथ्र्यो तर अहिले दुई–चार सय हातमै हुन्छ, छोराछोरीको कापी, कलम किन्न पनि भ्याएको छु ।’
यस्तै खुशी व्यक्त गर्छिन् तिलाठी कोइलाडी–४ लौनियाँकी रेणु देवी सदा । बोनी मजदुरी गरेर जीवन धान्न गाह्रो हुँदैआएकोमा अहिले आफुलाई परिवार चलाउन सहज भएको बताउँदै उनले भनिन् ‘पहिला त गिरहतको खेतमा गएर काम गरी ज्याला स्वरुप पाएको बोनीबाट हातमुख जोर्न धौ–धौ हुन्थ्यो तर अहिले हामीलाई खान तरकारी किन्नुपर्दैन र हातमा पनि सय दुई सय हुन्छ, कसैसँग माग्नुपर्ने अवस्था छैन ।’
शुरुमा आफुहरुले सदा र मलाह समुदायका व्यक्तिहरुको समूह बनाएर व्यवसायिक तरकारी खेतीमा आवद्ध गराउन निक्कै कसरत गर्नुपरेको जिविकोपार्जन कार्यक्रमका कृषि प्राविधिक रामकुमार साहले बताए । बिस्तारै उनीहरु समूहमा आवद्ध भएर तरकारी खेती गरी आयआर्जन गरेको देख्दा खुशी लाग्ने गरेको बताउँदै उनले भने ‘आफ्नो गाउँ–ठाउँमा रहेर मेहनत गरेर आय आर्जन गरी आत्मनिर्भर हुनमा मद्दत मिलेको छ ।’
उनका अनुसार समूहहरु निर्माण गरी व्यवसायिक तरकारी खेती गर्न प्रशिक्षण, सिंचाई सामग्री, स्पेयर पार्टसका साथै प्राविधिक सहयोग प्रदान गर्दैआएको छ । स्पोन्सरसिप कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेती सञ्चालन हुँदैआएको उनले जानकारी दिएका छन् ।

तस्विरः श्यामसुन्दर यादव/कोइलाडी

Online Saptari
Online Saptari

About The Author