पुस ७–८ गते राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन

पुस ७–८ गते राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन
Sinha Tempo

राजविराज, १ पुस । आगामी पुस ७ र ८ गते सप्तरीको राजविराजमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी तिब्र पारिएको छ ।
मैथिली साहित्य परिषद् राजविराजद्वारा आयोजना हुन लागेको सम्मेलनबारे मूल आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले दिएको जानकारी अनुसार नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थित रुपमा विस्तार गर्न, भाषाको संरक्षण–सम्वद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको हो ।
सम्मेलन व्यवस्थापनकालागि रामभरोस कापडि, जितेन्द्र खड्गा, शैलेश कुमार चौधरी, करुणा झा, विष्णु कुमार मण्डल, प्रा अमरकान्त झा, देवेन्द्र मिश्र, अवधेश कुमार झा, विवेकानन्द मिश्र सम्मिलित सल्लाहकार समिति गठन गरिएको संयोजक झाले जानकारी दिएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन ७ गते ११ वजे स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य जुलुशसहित प्रभातफेरी गरी अनूपदास धर्मशालामा पुग्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा स्मारिका र केही पुस्तकहरुको विमोचन, ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मान समेत नेपाल–भारतका विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिनेछ । उद्घाटन सत्र समाप्ति पश्चात तत्काल नेपाल–भारत का अतिविशिष्ट कलाकर्मीहरुद्वारा भव्य सांस्कृतिक कार्यक्रमको प्रस्तुति हुनेछ ।
उनका अनुसार दोश्रो दिन विहान ९ देखि १ वजेसम्म विचार गोष्ठी राखिएको छ । गोष्ठीमा प्रदेश नम्वर २ मा मैथिलीलाई काम काजको भाषा बनाइनु पर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न विद्वानहरुले टिप्पणी प्रस्तुत गर्नु हुनेछ । २ वजे देखि ४ वजे सम्म नेपाल–भारतका विशिष्ट कवि–कवियित्रीहरुको सहभागितामा कवि गोष्ठीको आयोजन गरिने छ । बेलुकी ४ वजे देखि ५ वजे सम्म विसर्जन समारोह र त्यसपछि लगतै पुनः सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । सोही सत्रमा राजविराज घोषणा पत्र समेत पसर्वसम्मतिले पारित गरिने योजना रहेको मूल समितिका संयोजक झाले बताए ।
नेपाल–भारतका करिब दुई सय प्रतिनीधिको सहभागिता रहने दुबै दिनको कार्यक्रममा नेपाल र भारत दुबै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकहरुको प्रदर्शनी समेत राखिने उनले जानकारी दिएका छन् । मैथिली भाषा, साहित्य, संस्कृति र कलाको सर्वतोमुखी उत्थानका साथै अन्य मातृभाषा समेतको उत्थानको उचित अवसरको खोजी गर्दै तथा मैथिलीलाईं राज्यका हरेक तहमा समुचित र सम्मानजनक स्थान दिलाउन सन्देश प्रवाहित गर्ने उद्देश्यले विसर्जन समारोहमा एउटा ‘राजविराज घोषणापत्र’को नाँउले सार्वजनिक प्रस्ताव पारित गरिने पनि कार्यक्रम रहेको उनले बताए ।
मैथिली साहित्य परिषदद्वारा राजविराजमा यस अघि राष्ट्रिय मैथिली सम्मेलन आयोजन गरी सकिएको छ । तत्कालीन प्रधानमन्त्री डा.बाबूराम भट्टराईद्वारा उक्त सम्मेलन उद्घाटन गरिएको थियो । परिषद्ले राजविराजमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागेको भन्दै संयोजक झाले सबै पक्षलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, अध्यक्ष अशोक कुमार झा, उपाध्यक्ष सतिशकुमार दत्त, सचिव श्यामसुन्दर यादव, सह–सचिव रामअधिन साह, आयोजक समितिका सदस्य श्रीराम मण्डल, कमल मण्डलसमेतको उपस्थिति थियो ।

Online Saptari
Online Saptari

About The Author