• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमालेका निर्वाचित जनप्रतिनीधि सम्मानित

राजविराज, २९ मंसिर । नेकपा (एमाले) सप्तरीले प्रदेश सभामा निर्वाचित नेताहरुलाई शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
जिल्ला कमिटीले प्रदेश सभामा निर्वाचित स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डल र जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेलगायतलाई अबिर–माला लगाएर तथा खाँदा ओढाएर सम्मान गरिएको हो । मण्डल प्रदेश १ (१) र न्यौपाने ४ (१) बाट निर्वाचित भएका छन् ।
पोलिटब्युरो सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, प्रदेश कमिटीका सदस्यहरु लगायतले उनीहरुलाई सम्मान गरेका छन् । उक्त अवसरमा उपस्थित कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र र सप्तरी जिल्लाबाट निर्वाचित महिलातर्फ एक मात्र वडा अध्यक्ष कुसुम आचार्यलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थायी कमिटीका सदस्य मण्डलले आफूलाई थप जिम्मेवारी बढेको सुनाउँदै जिल्ला, प्रदेशसँगै देश विकास गर्ने प्रतिवद्धता जनाए । सभालाई सम्बोधन गर्दै उनले आगामी बन्ने सरकारले कानुनी र आर्थिक दृष्टिकोणले मुलुकमा सुशासन दिएर जनतालाई सुखी नेपाली समृद्ध नेपालको नतिजा दिने विश्वास दिलाए ।
चुनावको बेला चुनावी प्रतिस्पर्धा भए पनि चुनावी परिणामपछि सबै पार्टी हाम्रो पार्टी भएको भन्दै सबैले सामाजिक सद्भाव राखेर राष्ट्रिय एकता कायम गर्न अनुरोध गरे । उक्त अवसरमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्याकुरेलले देशलाई समृद्ध तुल्याई भावी पुस्तालाई समुन्नत समाज दिने जिम्मेवारी एमालेले पुरा गर्ने विश्वास व्यक्त गरे । कसैको उक्साहट वा नीहित स्वार्थले प्रेरित भएर आएका मुद्दाका विषयमा एमालेले निर्णय दिने स्पष्ट पारे ।
जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिरको अध्यक्षतामा आयोजित कार्यक्रममा पोलिटब्युरो सदस्य पासवान, जिल्ला अध्यक्ष न्यौपाने, ममता चौधरी, निरन्जन यादव, सुरेश सिंहलगायतले मन्तव्य व्यक्त गरे । उप–सचिव प्रतापनारायण चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य निरन्जन झाले गरे ।
यसैगरी एमाले कञ्चनरुप नगरपालिका वडा नम्बर १२ कमिटीले प्रदेश सभा सदस्यमा निर्वाचित मण्डललाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । वडा कमिटीका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेल र कञ्चनरुप नगरपालिका प्रमुख बसन्त मिश्रले सम्बोधन गरे ।