• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महदेवा–२ बाहेक जिल्लाभरी शान्तिपूर्ण वातावरणमा उत्साहजनक मतदान

महदेवा–२ बाहेक जिल्लाभरी शान्तिपूर्ण वातावरणमा उत्साहजनक मतदान

राजविराज, २१ मंसिर । सप्तरीको महदेवा गाउँपालिका–२ स्थित मतदान केन्द्र बाहेक जिल्लाभरीका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको छ ।
प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा मतदाताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका कुल २ सय ९५ मतदान स्थल र ४ सय ७८ ओटै मतदान केन्द्रहरुमा व्यापक रुपमा सुरक्षा सतर्कता अपनाईएको छ ।महदेवा गाउँपालिका वडा नम्वर–२ स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा सम्पूर्ण तयारीका साथ कर्मचारीहरु बसे पनि मतदाताहरु भोट खसाउन नआईपुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । उनका अनुसार सप्तरीमा नेपाल प्रहरी र म्यादी समेत गरी ४ हजार ८ सय, सशस्त्र प्रहरी एक हजार र ७ सय नेपाली सेना परिचालन गरिएको छ ।
जिल्लाको भारतीय सिमा नाकासँग जोडिएका नाकाहरु सिल गरिएको छ भने ठाउँ–ठाउँमा सुरक्षा चेक जाँच, गस्ती पेट्रोलिङ्ग कार्यलाई कडाईकासाथ निरन्तरता दिईएको छ । बिना पासका सवारी साधनहरुलाई आवत–जावत गर्न रोक लगाईएको छ । जिल्लाका कुल २ सय ९५ मतदानस्थल मध्ये २ सय ७ अति संवेदनशिल र ८८ संवेदनशिलको सूचीमा राखि सुरक्षा सतर्कता बढाईएको छ ।
जिल्लामा प्रदेशसभा सदस्यतर्फ ८ र प्रतिनिधिसभा सदस्यतर्फ ४ पदका लागि १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरीमा कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता छन् ।
जिल्लाका अधिकांश मतदान केन्द्रहरुमा विहान ७ बजेदेखि मतदान कार्य शुरु भई सोहाद्रपूर्ण वातावरणमा मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । शान्तिपूर्ण वातावरण रहेकोले निर्धक्क भएर मतदान केन्द्रहरुमा गएर मतदान गर्न जिल्लावासीसँग आग्रह गरेका छन् ।