राजविराज, १८ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सप्तरीका सम्पूर्ण मतदान केन्द्रमा सोमवार कर्मचारी खटिएका छन् ।
मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका निर्वाचन सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रमा खटिएका हुन् ।
मंसिर २१ गते हुने निर्वाचनलाई सफल बनाउन लागि निर्वाचन सामग्री सहितका कर्मचारी मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनका लागि २९५ मतदान स्थल र ४७६ मतदान केन्द्र तोकिएको सप्तरीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयम सेवक गरी ५ हजार ७ सय १४ कर्मचारी खटाइएको छ ।
प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी खटिएका छन् । कर्मचारी खटिएसँगै जिल्लामा निर्वाचनका लागि ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी समेत परिचालित गरिएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् ।
निर्वाचनमा सप्तरीबाट १ लाख ६६ हजार २ सय ६ महिला, १ लाख ७९ हजार ९ सय ८७ पुरुष र २१ तेश्रो लिङ्गी गरी कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता सहभागी हुदैछन् ।