• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी क्षेत्र नम्बर ३ मा भिड्दै दाजु–भाइ

राजविराज, १७ मंसिर । सप्तरीको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ मा एकै परिवारका दाजुभाइ उम्मेदवार भई चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का उम्मेदवार चन्द्रकान्त चौधरीले मधेशी गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने नेकपा (एमाले)का वाम गठबन्धनबाट ताराकान्त चौधरीले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका हुन् । लामो राजनीतिक पृष्ठभूमि बोकेका चन्द्रकान्तको समाजिक क्षेत्रमा उत्तिकै योगदान रहेको छ । पञ्चायती शासन विरुद्ध भएका विभिन्न आन्दोलन तथा २०४६ सालदेखि उनी नेपाली काँग्रेससँग आबद्ध रहँदै आएका थिए ।
तत्कालिन पातो गाउँ विकास समितिको पटक–पटक अध्यक्ष समेत रहेर त्यस क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । उनले कठौना–पातो सडक, स्थानीय माध्यमिक विद्यालय स्थापना, सार्वजनिक हटिया (हाट) स्थापना, बाटो–घाटो निर्माण, डाक्नेश्वरी मन्दिरको स्तरोन्नती संरक्षण सम्बद्र्धन लगायतका कामहरु उल्लेखनीय रहेको छ ।
पछिल्लो समय काँग्रेसबाट असन्तुष्ट भई संघीय समाजवादी फोरम नेपालहुँदै राजपामा प्रवेश गरि प्रतिनिधि सभा सदस्य पदका टिकट पाएका छन् । राजनीतिक तथा थारु समुदायमा समेत लोकप्रिय मानिएका चन्द्रकान्त चौधरीले संविधान संशोधन, मधेशी, थारु, आदिवासी लगायतका समुदायको अधिकारको सुनिश्चितता, यातायात, स्वास्थ्य, शिक्षा, कृषि, सिँचाई लगायतको क्षेत्रमा उदाहरणीय काम गरेर देखाउने संकल्पका साथ मतदाता माझ पुग्ने गरेका छन् ।
आजीवन राजनीति तथा समाजसेवामै लागेका चन्द्रकान्त भन्छन् ‘मेरो त अब उमेर बित्नै लागेको छ, मलाई कुनै लोभ लालच छैन यस क्षेत्रको विकास गरि नमूना बनाउने संकल्प छ ।’ ‘सादा जीवन उच्च विचार’ बोकेका उनीले चुनाव प्रचार प्रसारको अन्तिम चरणमा बाँकी रहेका गाउँहरुमा पुगेर मतदाता समक्ष मत माग्नमा व्यस्त छन् ।
‘तपाई दुबै दाजुभाइ एकै परिवारबाट किन चुनाव लड्नु भयो ?’ भनि सोधिएको प्रश्नमा चन्द्रकान्तले भने ‘सुरुदेखि नै मैले राजनीतिक गर्दै आएको छु, पछिल्लो समय काँग्रेसको कृयाकलापबाट असन्तुष्ट भई राजपाबाट उम्मेदवारी दिएर मधेशको पक्षमा उभिएको छु मलाई गर्व लाग्छ, भाइ ताराकान्तको पनि स्वतन्त्रता छ त्यसैले वहाँपनि उम्मेदवार बन्नु भएको छ ।’
यसैगरी २०७० सालको संविधान सभा निर्वाचनमा नेकपा (एमालेबाट) निर्वाचित ताराकान्त दोश्रो पटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएर परिणाम आफ्नो पक्षमा पार्न व्यस्त देखिएका छन् । संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई पराजित गर्दै विजयी भएका उनले निर्वाचन क्षेत्रमा विकास निर्माण सम्बन्धी उल्लेखनीय कामहरु गर्न भ्याएका छन् ।
मृदुभाषी स्वभावका उनी विगत २२ वर्षदेखि नेकपा (एमाले)मा रहेर काम गर्दै आएका छन् । पछिल्लो संविधान सभा निर्वाचनमा एकै पटक उदाएका ताराकान्त यसपटक समेत आफु चुनाव जित्नेमा विश्वस्त रहेको न्यूज टुडेलाई बताए । क्षेत्र नम्बर ३ मा बाम गठबन्धनबाट आफु बलियो दावेदारको रुपमा रहेको भन्दै कामको आधारमा जनताले मुल्याङ्कन गर्ने उनको विश्वास छ ।
‘तपाईले दाजु चन्द्रकान्तलाई भित्री समर्थन गर्नुराख्नु भएको चर्चा छ नि ?’ भनि सोधिएको प्रश्नमा ताराकान्तले भने ‘मैले दाजुसँग भेटेर पटक–पटक सल्लाह गरेको थिए, तर, वहाँले त प्रतिनिधि सभामा चुनाव नलड्ने प्रतिबद्धता गर्नुभएको थियो, म ढुक्क थिए तर, एकै पटक उम्मेदवारी दिने बेलामा मैले थाहा पाएँ, जहाँसम्म समर्थनको कुरा छ म त राष्ट्रिय पार्टी (एमाले) सहित गठबन्धनको साझा उम्मेदवार हुँ, बरु दाइले मलाई नै समर्थन गरिदिदा हुन्थ्यो ।’ आफुलाई समर्थन गरेको हल्लाले निकै सताएको बताउँदै ‘कुनै पनि हालतमा कसैलाई समर्थन नगर्ने उनले बताए ।’