• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा निर्वाचन लक्षित उच्च सुरक्षा सतर्कता

स्थलगत निरीक्षण गर्दै सुरक्षा प्रमुखहरु
सप्तरीमा निर्वाचन लक्षित उच्च सुरक्षा सतर्कता

राजविराज, ७ मंसिर । आगामी मंसिर २१ गते हुन लागेको प्रदेश र प्रतिनीधिसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा सतर्कता बढाईएको छ ।
जिल्लाको भारतीय सिमा नाकासँग जोडिएका मतदान केन्द्र तथा त्यस क्षेत्रको सुरक्षा अवस्थाबारे स्थलगत रुपमै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको नेतृत्वमा निरीक्षण कार्य अगाडि बढाईएको हो । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यका साथ बुधवार जिल्ला स्थित सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले कुनौली नाका बेल्ही भन्सार, लालापट्टी, छिन्नमस्ताका साथै न्यौर नाका पुगेर सुरक्षा स्थितिबारे जानकारी लिएका छन् । सोही क्रममा सुरक्षा टोलीले न्यौर नाका पुगेर भारतीय एसएसबी सुरक्षाकर्मीलाई निर्वाचनलाई मध्यनजर गर्दै कडाईका साथ चेकजाँच गर्न आग्रह गरेका छन् ।
यसैगरी उक्त टोलीले विहीवार समेत जिल्लाको विभिन्न स्थानहरुमा चुनाव केन्द्रित सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेय नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक रामाआधार यादव, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक देवराज लिम्बु समेतको टोलीले निरीक्षणका क्रममा स्थानीयवासिन्दाहरुसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् । शान्तिपूर्ण वातावरणमा स्वच्छ एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यकासाथ जिल्लामा सुरक्षा सतर्कता बढाईएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । उनका अनुसार जिल्लाका कुल २ सय ९५ मतदानस्थल मध्ये २ सय ७ अति संवेदनशिल र ८८ संवेदनशिलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाईएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै करिब तीन हजार भन्दा बढी म्यादी प्रहरी समेत परिचालन गरिएको उनले जानकारी दिए ।
सप्तरी क्षेत्र नम्वर १ मा अति संवेदनशिल ३२ र संवेदनशिल ४८, क्षेत्र नम्वर २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशिल रहेको छ । क्षेत्र नम्वर ३ मा अति संवेदनशिल ७७ र संवेदनशिल १७ तथा क्षेत्र नम्वर ४ मा अतिसंवेदनशिल ५१ र संवेदनशिल २३ रहेको छ । जिल्लामा निर्वाचनका लागि २ सय ९५ मतदान स्थलमा ४ सय ७८ वटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लामा प्रदेशसभा सदस्यतर्फ ८ र प्रतिनिधिसभा सदस्यतर्फ ४ पदका लागि १ सय ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सप्तरीमा निर्वाचन क्षेत्र नम्वर १ बाट ९४ हजार ९ सय २०, क्षेत्र नम्वर २ बाट ७९ हजार ६ सय ६३, क्षेत्र नम्वर ३ बाट ८५ हजार ४ सय ८९ र क्षेत्र नम्वर ४ बाट ८६ हजार ५ सय ४२ जना गरी कुल ३ लाख ४६ हजार २ सय १४ जना मतदाता छन् ।