मधेशको राजनीतिमा अवसरवादी चरित्र

मधेशको राजनीतिमा अवसरवादी चरित्र
Nava Jyoti Saving & Credit Co-Operative Ltd.
उपेन्द्र झ

उपेन्द्र झा
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै छ । मधेशको राजनीति विशृङ्गखलित भई दिशाविहीनताको अवस्थामा छ । अवसरवादको पकडमा रहेको मधेशको राजनीतिमा अहिले देखा परेको पलायन मधेशी एकताले छिन्नभिन्न पारेको छ । अधिकार लिन विद्रोह गरेको मधेशी अहिले अवसरको खोजीमा मधेशका राजनीतिक दल त्याग गरेर गैरमधेशी दलहरूमा प्रवेश गरिरहेको लहर छ । २०६३ सालमा विद्रोह गरेर मधेशले बनाएको आफ्नो राजनीतिक धरातल भत्किन लागेको भान भइरहेको छ ।
राजपा, ससफोको चुनावी गठबन्धन बनेर भत्किने अवस्थामा छ । आधिकारिक निर्णय पनि न्यायिक नरहेकोले बागी उम्मेदवारको ओइरो लागेको छ । मधेशी उम्मेदवारमा रहेका असन्तुष्टतीका कारण एक अर्कालाई हराउने मानसिकता बढेर गएको देखिन्छ । पार्टीको नियम अनुशासन प्रभावहीन भएको छ । ससफो र राजपामा समान रूपमा बागी उम्मेदवार चुनावी दंगलमा आएका छन् । गैरमधेशी पार्टीमा प्रवेश गरेर टिकट लिएर चुनाव लड्न आएका मधेशीहरू पनि मधेशी उम्मेदवारलाई हराउने मानसिकता बोकेका छन् । पराजित मानसिकतामा मधेशको यस्तो शर्मनाक हालत देखेर मधेशको राजनीतिक धरातल भत्किनै लागेको भान हुन्छ ।
मधेशको भूगोल र एकतामा लागेको ग्रहण मधेश मुद्दालाई राजनीतिक वृत्तबाट ओझेलमा पारेको छ । कथित संघीय लोकतान्त्रिक गणतन्त्रले मधेशको अधिकार बहाल गर्नुको सट्टा मधेशलाई पुनश्चः गुलाम बनाउने प्रयास गरेको छ । मधेशको मुद्दा सुशुप्तावस्थामा गएका कारण मधेशमा राजनीतिक अराजकता बढेको छ । आक्रामक प्रतिक्रियाको तीव्रताले गैरमधेशी पार्टीलाई फाइदा पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रभाव विस्तारै मधेशमा बढ्दै गएको छ । मधेशी दलहरू खुम्चिँदै सानो आकारमा पुगेको छ । आफ्नै क्रियाकलापका कारण वैचारिक धरातलबाट पतन हुँदै मधेशका दलहरू खुम्चिँदै अस्तित्व बचाउन तल्लीन देखिन्छन् । मधेश मुद्दा ओझेलमा परेदेखि अवसरवादी मधेशीहरूको पलायन तीव्र रूपमा बढेर गएको छ । गैरमधेशी पार्टीमा प्रवेश गर्ने मधेशी नेता, कार्यकर्ता र आम जनताको ओइरो लागेको छ ।
राजनीतिक असन्तुष्टतीले दुईटा मार्गको जन्म दिन्छ ः क) आत्मसमर्पण, ख) विद्रोह । अन्योलग्रस्त बनाइएको मधेशको राजनीतिमा एकता विशृङ्गखलित भएको कारणले विद्रोहको मार्ग बन्न कठिन भएको छ । त्यसैले आत्मसमर्पण स्पष्ट रूपमा परिलक्षित भइरहेको छ । अहिले आत्मसमर्पणको क्रम रोकिनेबाला पनि छैन् । चुनावभन्दा पूर्व तथा चुनाव पश्चात् पनि मधेशीहरूको पलायन रोकिने छैन् ।
अधिकार आन्दोलन सम्बोधन नहुञ्जेल अगाडि पछाडि भई रहन्छ । समयानुसार यसको गतिशीलता बढ्ने घट्ने गर्दछ । अधिकार आन्दोलनको क्षीतिजमा मधेशले पनि आफ्नो झण्डा गाडिसकेको छ । समग्र मधेश एक प्रदेशको नारा लिएर नजिर स्थापित गरिसकेको छ । मधेशलाई टुक्रा–टुक्रा पारि सीमान्तीकृत बनाउने खसवर्गीय शासकवर्गको प्रयास सफल देखिए पनि राज्यसत्ता र मधेशबीचको चर्को अन्तरविरोधले निकट भविष्यमै मधेश आन्दोलनलाई संगठित पारेर उठाउने छ ।
२२ जिल्लाको मधेशलाई ८ जिल्लामा सीमित गर्ने खसवर्गीय वर्चस्ववादी सोचले सामुदायिक द्वन्द्वको विजारोपण गरिदिएको छ । मानसिकता र व्यवहारले यसलाई पोषण गरिरहेकोले यसले निकट भविष्यमै प्रस्फुटित हुनेमा शंका छैन । यो धरातलीय यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । व्यवहारमा शासकवर्गको मधेशप्रतिको अपमानजनक क्रियाकलापका कारण दुवै समूदाय आक्रामक रूप ग्रहण गरेका छन् । एउटा पक्ष शक्तिमा रहेकोले दोस्रो पक्षमा क्षणिक आत्मसमर्पण देखिएको मात्र हो । भेदभाव विरूद्धको संघर्षप्रति मधेशको समर्पणमा किंचित कमी छैन । समयको अन्तरालमा विकसित हुने निर्णायक अधिकार आन्दोलनले मधेशी एकताको मजबुत आधार देखाउने नै छ ।
मधेश समक्ष देखा परेका मधेशी अगुवाहरूको आत्मसमर्पण नितान्त व्यक्तिवादी चरित्र हो । मधेशको अधिकावादी आन्दोलनलाई योसँग जोडेर विश्लेषण गर्न मिल्दैन । आम जनताको संलग्नता रहेको मधेश आन्दोलन अन्तरविरोधको गर्भबाट जन्म लिएकोले यो मधेशी जनताबाहेक कसैको एकाधिका क्षेत्रभित्र पर्दैन । यसको स्वामित्व लिने मधेशका राजनीतिक दलहरू तथा गैरमधेशी दलहरू दिग्भ्रमित छन् । मधेशको मुद्दालाई उठाउनेहरू केही समय मधेशको नेतृत्व लिए पनि यसको स्थायित्व भने रहँदैन । यही कारण मधेशका दलहरू विस्तारै मधेशमा अल्पमतमा पर्दै गए भने मधेशमा आफ्नो स्वामित्व रहेको दाबा गर्ने एमाले पनि अल्पमतमा परेका छन् । मुद्दासँग सम्बन्ध राख्ने दलहरू जब व्यक्तिगत स्वार्थ पूरा गर्न मुद्दालाई प्रयोग गरे, मधेश आन्दोलनसँग सरोकार हट्दै गयो । मधेश आन्दोलनलाई गलत प्रयोग गरेकाहरूको लोकप्रियता घट्दै गयो । समयले यही शिक्षा दिएको छ ।
मधेश मुद्दाबाट विस्थापित गरी एजेन्डाविहीन बनाएर मधेशका दलहरूलाई चुनावमा पठाउने राज्यको षड्यन्त्र सफल भयो । मुद्दाबाट अलग्याएर राजनीतिक प्रतिष्ठा समाप्त पार्ने गैरमधेशी पार्टीहरूको साजिशमा परेका मधेशका दलहरू चुनावको माध्यमबाट राजनीतिक खिलाडीहरूको पंक्तिमा तमाशे भएर गए पनि आफूलाई उभ्याउन चाहन्छन् । कोही व्यक्तिको नाममा, कोही पैसाको बलमा, कोही जातको नाममा चुनाव जित्न आएका छन् । स्थानीय चुनावले नेपाली राजनीतिलाई भ्रष्टाचारी, तस्करहरूले कसरी कब्जा गरेका छन् स्पष्ट देखाइदिएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावले नेपाली राजनीति कति अनैतिक बनेको छ प्रष्ट चित्र देखाउने नै छ । जनताको प्रतिनिधि होइन, भ्रष्टाचारीहरूको प्रतिनिधि चुनाव जित्छन् । जनताको अपेक्षा पूरा गर्ने असल जनप्रतिनिधि यस्तो महँगो चुनाव जित्न सक्दैन । जो प्रतिनिधि चुनाव जित्छन् उ आफ्नो खर्च असुल गर्न चाहन्छन् । राजनीतिमा ठूलो माफियातन्त्र हावी भएको छ । दिनानुदिन तस्कर, माफियाको सञ्जाल अझ सशक्त रूपमा विकसित भएको छ ।
पैसा कमाउने माफियालाई देशको समस्यासँग कुनै सरोकार हुँदैन । समस्याहरू यथावत् राखी देशलाई राजनीति क्रयासिसमा राखेर अपार धन कमाउने विचारमा यो तस्करतन्त्र खप्पिस भइसकेको छ । भ्रष्टाचारबाट अकूत सम्पत्ति कमाउनेहरू आजभोली अख्तियार दुरूपयोगको पकडमा आउँदै गरेकोले पनि सरकारी संयन्त्रमा माफियातन्त्रको उपस्थितिलाई उजागर गरेको छ । भूलचूकबाट असल जनप्रतिनिधि सत्ताति लम्कियो भने आफ्नो कार्यकालमा उ पनि माफिया प्रतिनिधिमा परिणत हुन्छ र माफियाको एकाधिकार दिनानुदिन सशक्त हुँदै जान्छ ।
मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै छ । कार्तिक महिनामा चुनावको सन्दर्भमा मधेशको राजनीति दलहरूमा नेताहरूको पलायन तीव्र बन्यो । राजपा र संघीय फोरमले पलायनको पीडा समानरूपले भोगे । उम्मेदवार चयन हुँदा बागी उम्मेदवारको चुनौतीसँगै वाम गठबन्धनको चुनौती थपिएको छ । मधेशका दलहरूको लोकप्रियता उसको द्वैध चरित्रका कारण क्षयीकरण भएको छ । यी सबै चुनौतीबीच मधेशका दलहरू चुनाव लडि रहेका छन् । मधेश राजनीतिको स्वामित्व हासिल गर्नुभन्दा अस्तित्व बचाउनमा सीमित रहेको मधेशका दलहरू एजेन्डाविहीन भएका छन् । यस्तो निरीह परिस्थितिमा मधेशका दलहरूले के पाउँलान् यसै विचार गर्न सकिन्छ ।
मधेशको राजनीतिमा अवसरवादी चरित्र हावी रहेकै कारण मधेश पछाडि धकेलिएको हो । मधेशको राजनीतिलाई निराशाजनक अवस्थामा पु¥याएर अवसरवादी प्रवृत्तिले अहिले आफ्नो धरातल छाडेर गैरमधेशी पार्टीमा प्रवेश गरेर आत्मसमर्पणको वातावरण बनाई दिएको छ । मधेशलाई ५० वर्ष पहिलेको स्थितिमा पु¥याई दिएको छ । तर, मधेशमा राजनीतिक चेतना आइसकेकाले पलायनको पीडा धेरै दिन रहन सक्दैन । अन्तरविरोधको रापले मधेश आन्दोलन परिस्कृत हुँदै संगठित भएर अगाडि आउनेमा किंचित शंका छैन ।
मधेश राजनीतिको एक कुनाबाट स्वतन्त्र मधेशको अभ्यास भइरहेको छ । समयको अन्तरालमा मधेशको राजनीतिक असन्तुष्टताले स्वतन्त्र मधेशको आवाजलाई अगाडि नबढाउलान भन्न सकिन्न । दुई समुदायबीचको अन्तरविरोधको ठूलो पहाडल खडा गरिदिएको छ । यही पहाडले मधेशलाई सीमान्तीकृत गरेको छ । २४४ वर्षदेखि भेदभावको पीडा भोगिरहेको मधेशले विद्रोहको मशाल जलाइसकेको छ । राजनीतिक रूपमा चेतनशील भइसकेको मधेश पुनश्चः सीमित क्षेत्रभित्र गुलाम भएर कैद रहन सक्दैन । मधेशलाई पराजित अवस्थामा पु¥याउने नेपाली राज्यसत्ताले एकपल्ट फेरि मधेश आन्दोलनको निर्णायक चुनौतीलाई सामना गर्नै पर्नेछ । असन्तुष्टताको ज्वालामुखीमा सबै कुरा खरानी हुने यथार्थलाई सबैले स्वीकारेका छन् । (मधेश दर्पण फिचर सेवा)

आवरण तस्विरः सप्तरीको मलेठका शहिद वीरेन्द्र मेहताका छोरीहरु ।

Online Saptari
Online Saptari

About The Author