• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मलेसियामा फेरी सप्तरीका एक युवाले ज्यान गुमाए

राजविराज, २८ कार्तिक । सप्तरीको साबिक तिलाठी गाउँ विकास समिति–६ हाल तिलाठी कोइलाडी गाउँपालिका–१ का युवा अन्जनी कुमार चौधरीको मलेसियामा सोमवार राती मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरी राती खाना खाएर सुतेका उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेका थिए । २०७२ सालमा उनी वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका थिए ।
मृदुभाषी एवम् समाजसेवी युवा चौधरीको निधनको खबरले सिङ्गो तिलाठी गाउँका युवाहरु शोकमग्न भएका छन् । यता मृतकको शव मलेसियाबाट चाँडो मँगाउनकालागि उनका भान्जा बिटु कुमार मिश्रले मङ्गलवारै ‘शव नेपाल झिकाई पाउँ’ भनी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय, नयाँ वानेश्वर र कन्सुलर सेवा समिति, त्रिपुरेश्वर काठमाण्डौमा निवेदन दिएका छन् । शोकाकुल परिवारको तर्फबाट मिश्रले आफ्ना मामाको शव चाँडो ल्याउनकालागि पहल गरिदिन सम्वद्ध सबैपक्षसँग आग्रह गरेका छन् ।
योसँगै वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट ज्यान गुमाएका युवाहरुको संख्या २९ पुगेको छ । हालसम्म तथ्यांक हेर्दा अधिकांश युवाहरुको मृत्यु सुतेकै अवस्थामा हुने गरेको पाईएको छ ।