• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘गिरहतले कृषि मजदुरमाथि श्रम शोषण गरिरहेको छ’ 

‘गिरहतले कृषि मजदुरमाथि श्रम शोषण गरिरहेको छ’ 

बृजमान तामाङ /बिरेन्द्र बजार २७ कर्तिक । मजदुरहरुमाथि गिरहत (मालिक)हरुले चरम श्रमशोषण गरेको रुपनी गाउँपालिकाका धान काट्ने श्रमिकहरुले गुनासो गरेका छन् ।

रोजगारीको अभावमा दैनिक छाक टार्ने समस्यामा रहेका गरिब तथा दलित समुदायका श्रमिकहरुले आफूहरुमाथी धनीहरुले शोषण गरेको गुनासो गरेका हुन् । गाउँमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धान काटे वापत मात्र सात किलो धान ज्याला दिने गरेको रुपनी गाउपालिका वडा नम्बर ६ का श्रवण देवी सरदारले दुःखेसो सुनाईन् । गाउँका गिरहतले शोषण गर्नथालेपछि गाउँ भन्दा पर गएर धान १० किलो धान ज्याला दिने गिरहतको काम गर्न थालेको उनले बताईन् । कमाई खाने आधार केही नभएकाले बाध्य भएर अर्काको खेतमा थोरै ज्याला लिएर भएपनि धान काटेर जिबिका चलाउनु परेको अर्का मजदुर रामबती देवी सरदारले दुःखेसो पोखिन् ।

हाल धानको बजार भाउ १३ रुपैया प्रतिकिलो रहेको सुनाउँदै स्थानीय सुशीला देबी सरदारले १ सय ३० रुपैयाँ कमाउन दश घण्टा धान काट्नु परेको बताईन् ।  रुपनी गाउँपालिका वडा नम्बर–६ जोगमोहनकी मिनुदेबी सरदारले चुनावको बेला भोट माग्न आउँदा मजदुर किसान र गरिबको समस्या हल गर्छु भन्ने नेताहरुले गरिबमाथि  भईरहेको अन्याय र शोषण गरेको समस्या नदेखेको उनले गुनासो गरिन् ।

रुपनी गाउँपालिका लगायतका सप्तरीको विभिन्न स्थानमा धान काट्ने कृषि श्रमिकहरुमाथि  मालिकहरुले चरम श्रम शोषण गरेको रुपनी गाउँपालिका वडा नम्बर–६ का बिरेन्द्र चौधरीले आरोप लगाए ।  गरिब, विपन्न दलित समुदाय बढी शोषणमा परेको बताउँदै हाल ब्याप्त महँगीको अनुपातमा उनीहरुको ज्याला निर्धारण हुनुपर्ने विषयमा कुनै पनि निकाय गम्भीर नभएको उनको सुझाव छ ।

धान काट्ने श्रमिकहरु मुसहर, बाँतर, चमार, खत्बे लगायतका दलित समुदायको संख्या अत्यधिक रहेकोले उनीहरुले खर्च गरेको श्रम अनुसारको ज्याला पाउनुपर्ने दलित समुदायका अगुवाहरुको भनाई छ ।