धान काट्ने श्रमिकहरुमाथी मालिकको चरम शोषण

धान काट्ने श्रमिकहरुमाथी मालिकको चरम शोषण
Sinha Tempo

बृजमान तामाङ/बिरेन्द्र बजार २७ कार्तिक । धान काट्ने मजदुरहरुमाथी मालिकहरुले चरम श्रमशोषण गरेको रुपनी गाउँपालिकाका धान काट्ने श्रमिकहरुले गुनासो गरेका छन् ।

रोजगारीको अभावमा भोकमरीको समस्यामा रहेका गरिब तथा दलित समुदायका श्रमिकहरुले आफूहरुमाथी धनीहरुले शोषण गरेको गुनासो गरेका हुन् । गाउँमा बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म धान काटे वापत सात किलो ज्याला दिने गरेको जानकारी दिँदै रुपनी गाउँपालिका वडा नम्वर ६ का श्रवणदेवी सरदारले दश किलो धान दिने भएपछि गाउँ भन्दा पर आएर धान काटेको सुनाईन । कमाई खाने आधार केही नभएकाले बाध्य भएर अर्काको खेतमा थोरै ज्याला लिएर भएपनि धान काटेर जिविका चलाउनु परेको अर्का मजदुर रामवतीदेवी सरदारले दुखेसो पोखिन । हाल धानको बजार भाउ १३ रुपैयाँ प्रतिकिलो रहेको सुनाउँदै स्थानीय सुशिलादेवी सरदारले १ सय ३० रुपैयाँ कमाउन १० घण्टा धान काट्नु परेको बताईन ।

रुपनी गाउँपालिका वडा नम्वर ६ जोगमोहनकी मीनुदेवी सरदारले चुनावको बेला भोट माग्न आउँदा मजदुर किसान र गरिबको समस्या हल गर्छु भन्ने नेताहरुले गरिबमाथी भईरहेको अन्याय र शोषण नदेखेको गुनासो गरिन् । रुपनी गाउँपालिकालगायतका सप्तरीका धेरै जसो स्थानमा धान काट्ने श्रमिकहरुमाथी मालिकहरुले चरम श्रमशोषण गरेको रुपनी गाउँपालिका वडा नम्बर ६ का बिरेन्द्र चौधरीले आरोप लगाएका छन् ।

गरिब, विपन्न दलित समुदायहरु बढी शोषणमा परेको बताउँदै हाल व्यापक महँगीको अनुपातमा उनीहरुको ज्याला निर्धारण हुनुपर्ने विषयमा कुनैपनि निकाए गम्भिर नभएको उनको कथन रहेको छ । धान काट्ने श्रमिकहरु मुसहर, बाँतर, चमार, खत्बेलगायतका दलित समुदायको बढी रहेकोले उनीहरुले खर्च गरेको श्रम अनुसारको ज्याला पाउनुपर्ने दलित समुदायको अगुवाहरुको भनाई रहेको छ ।

Online Saptari
Online Saptari

About The Author