बामगठबन्धन र मधेशी दलको रणनीति

बामगठबन्धन र मधेशी दलको रणनीति
Nava Jyoti Saving & Credit Co-Operative Ltd.
रामसुकुल मण्डल

रामसुकुल मण्डल
मुख्य चाडपर्वको चहलपहलसँगै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन रौनक शुरू भएको छ । नयाँ संविधानबमोजिम पहिलो पटक हुने प्रतिनिधिसभा (संघ) र प्रदेशसभाको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने आन्तरिक तयारी पनि शुरू गरेका छन् । संविधानबमोजिम आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । आगामी मंसिर १० गते र २१ गते दुई चरणमा हुने संघ र प्रदेशको निर्वाचनका लागि दलहरू आ–आफ्ना पक्षमा बढीभन्दा बढी मत ल्याउन चुनावी तयारीमा जुटेका छन् । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा ३२ र दोस्रो चरणमा पहाडी र तराई– मधेशका ४५ जिल्लामा निर्वाचन हुनेछ ।
संविधानअनुसार प्रत्यक्ष निर्वाचनबाट १६५ र समानुपातिक निर्वाचनबाट ११० जना गरी २७५ जनाको केन्द्रीय प्रतिनिधि सभा गठन हुनेछ ।
मधेशी दलको रणनीति
महोत्तरीमा यसअघि ६ वटा निर्वाचन क्षेत्र थिए । २०७० सालको निर्वाचनमा काँग्रेसले २ र एमालेले २ क्षेत्र जितेको थियो भने माओवादीले १ क्षेत्र जितेको थियो । यस पटक महोत्तरीमा ४ वटा निर्वाचन क्षेत्र कायम भएका छन् । एमाले र माओवादी पार्टीले वाम गठबन्धन गरेर संयुक्त रूपमा चुनाव लड्दैछन् । दुई प्रमुख मधेशी पार्टी राजपा र फोरमले पनि गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । काँग्रेसले राजपा–फोरमसँग चुनावी तालमेलको प्रयास जारी राखेको छ ।
यसपालिको स्थानीय चुनावको परिणाम हेर्ने हो भने महोत्तरीमा मधेशवादी दल र काँग्रेस नै बलिया देखिएका छन् । यदि काँग्रेस–फोरमले चुनावी तालमेल गरे भने महोत्तरीमा वाम गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा महोत्तरीका वडाहरूमा दलहरूले पाएको मतलाई आधार मान्ने हो संघीय समाजवादी फोरम र राजपा सबैभन्दा अगाडि देखिएका छन् ।
स्थानीय चुनावको मत परिणामलाई हेर्दा काँग्रेस–राजपा–फोरम बीच चुनावी तालमेल भयो भने महोत्तरीका तीन क्षेत्र यो गठबन्धनका पक्षमा जाने ठूलो सम्भावना छ भने निर्वाचन क्षेत्र नम्वर १ मा वाम गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ।
यसरी स्थानीय चुनावको मत परिणामलाई हेर्दा काँग्रेस–राजपा–फोरम बीच चुनावी तालमेल भयो भने महोत्तरीका तीन क्षेत्र यो गठबन्धनका पक्षमा जाने ठूलो सम्भावना छ भने निर्वाचन क्षेत्र नम्वर १ मा वाम गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
धनुषामा काँग्रेस बलियो
उता धनुषामा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली काँग्रेस नै यो जिल्लामा सबैभन्दा बलियो देखिन्छ ।
तर मधेशमा प्रतिस्पर्धामा रहेका अन्य चार पार्टीमध्ये एमाले र माओवादीले एउटा चुनावी गठबन्धन र संघीय समाजवादी फोरम र राजपाको अर्को गठबन्धन निर्माण गरेपछि काँग्रेस रक्षात्मक अवस्थामा पुगेको छ ।
काँग्रेसले मधेशमा फोरम–राजपा गठबन्धनसँग चुनावी तालमेल गर्ने प्रयास जारी राखेको छ । यदि यो प्रयास सफल भयो भने धनुषामा काँग्रेस नेतृत्वको चुनावी गठबन्धनकै धनुषामा पल्ला भारी हुनेछ ।
सबै दलहरू छुट्टछुट्टै निर्वाचन लड्ने हो भने नेपाली काँग्रेस बलियो देखिन्छ । त्यसैले, यो क्षेत्रमा चुनाव जित्न काँग्रेसलाई फोरम–राजपा गठबन्धनसँग तालमेल आवश्यक छ । काँग्रेसले यहाँ फोरम–राजपासँग चुनावी गठबन्धनको गर्यो भने उनीहरूको पक्षमा २२ हजार भन्दा बढी मत पुग्छ ।
जनकपुर उपमहानगरमा काँग्रेस राजपाको प्रतिस्पर्धा हुन्छ भने उपमहागर बाहिरका स्थानीय तहहरूमा काँग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ । उपमहानगरमा राजपा हुनु तर उपमहानगर बाहिर नहुनु अनि उपमहानगर बाहिर एमाले हुनु र उपमहानगरमा एमालेको प्रभाव नहुनु नै काँग्रेसका लागि यो क्षेत्र सहज बनेको हो ।
धनुषा क्षेत्र नं ३ काँग्रेसका नेता विमलेन्द्र निधि निर्वाचन लड्ने क्षेत्र हो । यो क्षेत्रमा भने काँग्रेस अन्य क्षेत्रमा भन्दा धेरै नै बलियो छ । यहाँ काँग्रेस एक्लैको मत एमाले–माओवादी र राजपा–फोरम गठबन्धनको भन्दा धेरै छ ।
वाम गठवन्धन गर्ने निर्णयपछि दुई नम्बर प्रदेशमा एमाले–माओवादी सबैभन्दा बलियो देखिएको जिल्ला सिरहा हो । सिरहाका ४ निर्वाचन क्षेत्रमध्ये ३ मा एमाले र एउटा क्षेत्रमा माओवादी अगाडि छ ।
सिरहामा कांग्रेस–राजपा–फोरमबीच चुनावी तालमेल भयो भने मात्र यहाँ यो गठवन्धनले जित्ने बलियो सम्भावना रहन्छ ।
यी चारै निर्वाचन क्षेत्रका स्थानीय तहको चुनावमा खसेको मत परिणामले भन्छ– यो जिल्लामा एमाले–माओवादीको गठवन्धनले राजपा–फोरम गठवन्धनलाई सजिलै जित्ने सामथ्र्य राख्छ । राजपा–फोरमसँग कांग्रेस र अन्य पार्टीले चुनावी तालमेल गरे भने मात्र एमाले–माओवादी गठवन्धनलाई चुनौती थपिन्छ । दलहरू आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावी तयारीमा व्यस्त छन् । चुनावी नजिता आफूतिर पार्न तालमेल, मोर्चाबन्दीलगायतका रणनीति बनाउन जुटेका छन् । सँगै पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता छनोट र घोषणाका क्रम पनि सुरू भइसकेका छन् ।
उम्मेदवार छनोटको अभ्यास हुँदै गर्दा नेता तथा कार्यकर्ताको दौडधूप त्यही मात्रामा बढेको छ । आकांक्षी धेरै हुँदा तिनको व्यवस्थापनसँगै योग्य उम्मेदवार चयन दलहरूका लागि चुनौतीपूर्ण देखिएको छ । सबैजसो ठूला दलमा गुट र नेताको फेरो समातेर उम्मेदवार बन्ने प्रवृत्ति छ र त्यसको होड नै चलेको छ र यस्तो प्रवृत्ति मधेशी दलहरूमा पनि देखिएको छ । शीर्षनेताका घरमा बिहानैदेखि लाग्ने भीडभाडले त्यो प्रवृत्ति बढिरहेको प्रस्ट हुन्छ । यो पृष्ठभूमिमा उम्मेदवार तोक्ने अधिकार प्राप्त राजनीतिक नेतृत्वसामु ठूलो जिम्मेवारी छ । त्यसमा संवेदनशील हुनु जरूरी छ ।
मधेशका शीर्ष नेतृत्वले चाहँदा सिफारिसमै नपरेका आकांक्षी पनि उम्मेदवार छनोट भएका दृष्टान्त भेटिन्छन् । हालै तीन चरणमा सकिएको स्थानीय तह निर्वाचनमा पनि कतिपय उम्मेदवारको छनोट योग्यताका आधारमा नभई गुट र नेतासँगको सम्बन्धका आधारमा भएको भनेर असन्तुष्टि र आलोचना भएका थिए । खास गरी समानुपाति निर्वाचनका लागि आफू निकटलाई उम्मेदवार बनाउने मधेशी नेताहरूको विगतको यी विसंगति र कमजोरी सुधार्दै नेतृत्वले अहिले उम्मेदवार तोक्ने उचित मापदण्ड बनाएर सही अभ्यास गर्न सक्नुपर्छ ।
मधेशी नेतृत्वले हरेक कार्यकर्तालाई सन्तुष्ट पार्न सक्दैन । तर उम्मेदवार तोक्दा दलहरूले केही आधारभूत विषय हेर्नु उचित हुन्छ । विवादास्पद छवि नभएका, जनस्तरमा लोकप्रिय र विषयवस्तुमा उत्तिकै ज्ञान भएका पात्र उम्मेदवार तोकिए भोलि नेतृत्वमा पुग्दा जिम्मेवारी बहन गर्न सक्छ । त्यसकारण राजनीतिक सक्रियतासँगै उम्मेदवारको क्षमतालाई पनि मुख्य मापदण्ड बनाइनु आवश्यक छ ।
नेपालमा उम्मेदवार छनोट निश्चित मापदण्डका आधारमा खासै हुँदैन । धेरैजसो उम्मेदवारको योग्यता चुनावमा पैसा खर्च गर्न सक्ने, नेतानिकट वा गुटको सदस्य आदिमा सीमित हुँदै गएको छ । दलहरूले उचित मापदण्डसहित योग्यलाई प्राथमिकता दिँदै उम्मेदवार छनोट गर्ने प्रवृत्तिको विकास गर्न नसक्दाको सीधा असर समग्र राजनीतिक प्रणालीमै पर्छ ।
त्यसकारण भाषण र दस्ताबेजहरूमा मात्रै होइन, उम्मेदवार छनोट गर्दा नेतृत्वले व्यवहारमै हाम्रा होइन राम्रालाई अवसर दिनुपर्छ । आम मतदाताले पनि सही उम्मेदवार चुन्ने अवसरलाई उपयोग गर्न सक्नुपर्छ । आफ्नो निर्णय पश्चात्ताप लाग्ने खालको बन्न नदिन मतदाताले पनि योग्य उम्मेदवार छनोट गर्न सक्नुपर्छ ।

(मधेश दर्पण फिचर सेवा)

 

Online Saptari
Online Saptari

About The Author