सप्तरीका साहित्यकार देवेन्द्र मिश्रलाई विद्यापति मैथिली अनुवाद पुरस्कार

सप्तरीका साहित्यकार देवेन्द्र मिश्रलाई विद्यापति मैथिली अनुवाद पुरस्कार
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ कार्तिक । नेपाल सरकारद्वारा स्थापना गरिएको विद्यापति पुरस्कार कोषले यसवर्षको विभिन्न बिधाको मैथिली पुरस्कार सप्तरीका देवेन्द्र मिश्रसहित पाँच जना साहित्यकारलाई प्रदान गर्ने भएको छ ।

कोषले प्रत्येक वर्ष मैथिली साहित्यको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउँदैआएका व्यक्तिहरुलाई उक्त पुरस्कार प्रदान गरिंदैआएको हो । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहिसकेका सप्तरीको साबिक बरही बिरपुर वडा नम्वर ६ (हालः छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ ) निवासी मिश्रलाई एक लाख रुपैयाँ नगद राशीको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार प्रदान गर्ने कोषले निर्णय गरेको छ ।

संस्कृत भाषामा लेखिएको श्रीमद्भगवद्गीताको मैथिली पद्यानुवादकालागि उक्त पुरस्कार उनलाई प्रदान गरिने भएको जनाईएको छ । बगियाक गाछ नामक बाल कथा संग्रह, मैथिली सामान्य ज्ञान, मैथिली मनोहर पोथी, श्रीमद्भगवद्गीता मैथिली पद्यानुवादक आदि पुस्तक उनले लेखिसकेका छन् । मैथिली साहित्य परिषद्ले नियमित प्रकाशन गर्दैआएको मिथिला साप्ताहिक पत्रिकाको सहसम्पादक रहनुका साथै उनी मैथिली भाषा, साहित्य, कला, संस्कृति सम्वन्धि अनुसन्धानमूलक लेखन कार्यमा संलग्न छन् । साझा बाल साहित्य पुरस्कार, लघुकथा लेखन सहितका पुरस्कार तथा सम्मानहरु पाईसकेका मिश्र मैथिली पढाई उत्प्रेरक कार्यदलका संस्थापक समेत हुन् ।

जिल्लाको बभनगामा कटी स्थित माध्यमिक विद्यालयमा लामो समयसम्म सेवा गरिसकेका उनी शैक्षिक तालिम केन्द्र राजविराजको प्रशिक्षक रहँदा मैथिली भाषाको पठन पाठन तथा पाठ्यक्रम एवम् पाठ्यसामग्री निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदैआएका छन् । मिथिला साहित्य कला प्रतिष्ठानको तदर्थ समितिका अध्यक्ष समेत रहेका उनी युवा पिढींका साहित्यकारहरुलाई विशेष प्रोत्साहन गर्दैआएका छन् ।

यसैगरी कोषले दुई लाख रुपैयाँ नगद राशीसहितको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार धनुषाका रोशन जनकपुरी (अरविन्दकुमार लाल)लाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार सिरहा जिल्लाका हिमांशु चौधरी, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सर्लाही जिल्लाका (हाल काठमाडौँ निवासी) सहप्राध्यापक देवनारायण यादव र नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा जिल्लाका सहप्राध्यापक रामसागर पण्डितलाई जनही एक लाख रुपैयाँसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author