• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ठूला दलको कब्जाबाट मुक्त हुँदै मधेश
Sangita Regmi

संगीता रेग्मी 
मधेशमा मोर्चा नै बनाउनुपर्ने गरी क्षेत्रीय दल थिए केही समय अघिसम्म । तर अब स्थानीय चुनावपछि भने मूलतः दुई दलीय मधेश भएको छ । तेस्रो तथा अन्तिम चरणको स्थानीय तहको चुनावी परिणामले खासगरी मधेशका आठ जिल्लामा पाँच दललाई स्थापित गर्दा मुख्य शक्तिका रूपमा मधेशी दलमा राजपा र संघीय समाजवादीको पुनरूदय भएको छ । नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा विलय भएपछि त मधेशमा दुई शक्ति मात्र रहेको छ ।
पछिल्लो पटक मधेशी दलका रूपमा संघीय समाजवादी र राजपाले पाएको मतादेश ती दलहरूको भावी पार्टी एकता वा कम्तीमा सहकार्यका लागि नयाँ जनादेश नै हो । किनभने दुवै दलका मुद्दा समान छन् । क्षेत्र एकै हो र विचार, संस्कृति र संस्कार पनि लगभग समान छ । अब यो मतादेशले दुवै दललाई मिल्न वा सहकार्य गर्न दिएको सन्देश राजपा र संघीय समाजवादीले पालना गर्लान् त ? चुनावी परिणामले यी दुई दललाई मिल्न दिएको सन्देश यिनीहरूले पालन गरे भने दुई दलीय बनेको मधेशी दलको राजनीति अब शक्तिशाली एकदलीय मोर्चा बन्नसक्छ ।
एकतामा बल हुन्छ भन्ने चुनावी सन्देश पालना गर्न उनीहरूले पार्टी एकता नै नगरे पनि चुनावी सहकार्य र तालमेल भने गर्नु अनिवार्य रहेको देखाउँछ ।
राजपा र संघीय समाजवादीले सहकार्य वा तालमेल गरे उनीहरूले एमाले र माओवादीलाई पछाडि धकेलेर कांग्रेसलाई कम्तीमा २ नम्बर प्रदेशमा कडा टक्कर दिनसक्ने स्थिति बनेको छ ।
वर्ष दिनभन्दा लामो मधेश आन्दोलनका मुख्य सहयात्री दल राजपा र संघीय समाजवादी चुनावी तालमेल गरेर जनताकहाँ गएका भए उनीहरू मधेशको पहिलो शक्ति बन्न सक्ने सम्भावना रहेको स्थानीय तहको चुनावले प्रमाणित गरेको छ । किनभने राजपा र संघीय समाजवादी एक्लैले समान रूपमा २४ र २६ स्थानीय तह जिते । तर उनीहरू संयुक्त चुनावी सहकार्य गरेको भए करिब ९० स्थानमा जित्ने सम्भावना थियो ।
बैशाख ३१ को चुनावमा जसरी साझा पार्टी र विवेकशील दल काठमाडौंको स्थानीय चुनावमा मिलेर चुनाव लड्न नसक्दा दुबै दल राजधानी महानगरको मेयर हुन चुकेका थिए, ठ्याक्कै त्यस्तै शैलीमा राजपा र संघीय समाजवादी मिलेर चुनावमा जान नसक्दा मधेशमा पहिलो शक्ति हुन चुकेको देखिएको छ । उनीहरूले चुनावी तालमेल गरेको भए त्यसले उत्पन्न गर्ने सकारात्मक तरंगले पनि उनीहरूको स्थानीय तहमा जितिने संख्या थप गर्नसक्ने पनि हालसम्मको घोषित चुनावी परिणामले नै देखाएको छ ।
असोज २ को यो अन्तिम स्थानीय चुनावले मधेशमा तराई मधेशका मुख्य दलमा अब राजपा र संघीय समाजवादी नै रहेको सन्देश पनि स्थापित गरेकोले उनीहरूले मंसिर १० र २१ का चुनावमा सके एकता नभए तालमेल गर्नुको विकल्प छैन । यी दुई दल मध्ये पनि मूल रूपमा उदाउँदो शक्तिशाली दलका रूपमा संघीय समाजवादी नै रहेको चुनावी नतिजाले देखाएको छ । किनभने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले यसअघि ३१ वैशाख र १४ असारका चु्नावमा नौ स्थानीय तहमा जितेको समेत गर्दा ऊ मधेश क्षेत्रमा मधेशीहरू मध्येको पहिलो दल बनेको छ ।
तुलनात्मक रूपमा राजपा ६ वटा मधेशी दलहरू मिलेर बनेको दल हो । मधेश आन्दोलन हाँकेका र सत्ताको अनुभव भएका नेतै नेताको दल पनि हो राजपा । उमेर अनुभवले पनि पुराना र पाका नेताहरूको बाहुल्य छ राजपामा । राजपा अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादवहरूको व्यक्तित्व र ओजका कारण पनि राजपा तराई मधेश क्षेत्रको ‘हेभीवेट’ दलका रूपमा मानिँदै आएको हो ।
तर असोज २ को चुनावी परिणाममा ‘हेभीवेट’ नेताहरूको बाहुल्य रहेको राजपाभन्दा नवोदित र अरू पार्टीबाट आएका नेताहरूको बाहुल्य रहेको संघीय समाजवादी नै शक्तिशाली र थप ऊर्जावान दल रहेको मतादेशले देखाएको छ । पूर्व एमाले उपाध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठहरूलाई अपवाद मान्ने हो भने उपेन्द्र यादवको पौरखमा जन्मे हुर्केको संघीय समाजवादी अन्ततः नयाँ मधेश मसिहा दल बनेको पनि यही चुनावी परिणामले देखाएको छ ।
राजपाले आन्दोलन अवधिको साझेदार र सहयात्री संघीय समाजवादीसँग चुनावी तालमेल गर्न नसक्दा होस् वा पार्टी भित्रैका असन्तुष्टहरूलाई चित्त बुझाउन नसक्दाका दुष्परिणामका रूपमा मतादेशमा पहिलो हुने चाहना अतृप्त राजनीतिक तृष्णामा नै सीमित भएको हो । तर मत दुवै दलले अत्यधिक पाएका छन् । संघीय र संसदीय चनावमा यी दुई दल चुनावी तालमेलमा उत्रिए र भने पक्का छ कांग्रेसलाई मधेश अरू महंगो चुनावी इलाका बन्नेछ भने एमाले वा माओवादी यी मधेशी दलको चेपुवामा पर्ने स्पष्टै देखिन्छ ।
मधेशमा एकल वर्चस्व कायम गर्दै आएको कांग्रेसका स्थानमा अब राजपा र संघीय समाजवादीले धाबा बोलेको कुरा पनि यही चुनावी नतिजाले देखाएको छ । राजपा र संघीय समाजवादी बढ्नु भनेको कांग्रेसको प्रभाव घट्नु पनि हो । यसअर्थमा यो चुनावी परिणाम मुख्य चुनौती मुख्य सत्तारूढ दल कांग्रेसकै लागि हो । एमालेका लागि त सामना गर्नै नसक्ने चुनौती राजपा र संघीय समाजवादीले पेस गरिसकेका छन् । माओवादीका लागि पनि धान्न नसक्ने चुनौती यिनै दुई दल राजपा र संघीय समाजवादी अघि आएका छन् ।
स्थानीय तहका कुल ७६६ को संख्याको तुलनामा मधेशी दल कम देखिए पनि उनीहरूको राजनीतिक प्रभाव मधेश क्षेत्रमा मुख्य रूपमा बढेको चुनावी परिणमले देखाएको छ । स्थानीय सत्ताका संख्यामा कम हुँदाहुँदै राजनीतिक प्रभावमा उम्दा देखिने मधेशी दलको उदाउँदो शक्ति नै ठूला दलका लागि मधेश उनीहरूको कब्जाबाट मुक्त हुँदै गरेको उदाहरण हो । कम्तीमा २ नम्बर प्रदेशसहित मधेशका २२ जिल्लामा राजपा र संघीय समाजवादी मिले भने कांग्रेस, एमाले र माओवादीलाई सके जित्ने छन्, नभए पनि हायलकायल पार्ने निश्चित संकेत चुनावले देखाएको छ ।
तर के असोज २ को मतादेशलाई शिरोधार्य गरेर राजपा र संघीय समाजवादी मंसिर १० र २१ मा चुनावी चुनौती सामना गर्न तयार होलान् त ? यद्यपी आगामी निर्वाचनकमा तालमेल गर्ने विषयमा दुबै दल तयार रहेपछि अहिलेसम्म त्यसको रोडम्याप आइसकेको छैन् । जनताले पार्टी एकता नभए पनि आगामी निर्वाचनमा दुबै मधेशी दल तालमेल गरेर जाओस् भन्ने आकाक्षां राखेका छन् ।
विजय गच्छदार, जेपी गुप्ता र शरतसिंह भण्डारीहरूले पटक–पटक विभाजित गरिदिएर पनि एक्लो बलमा २ नम्बरको पहिलो बनेको संघीय समाजवादीका अध्यक्ष उपेन्द्रका लागि यो जित विजयको उन्मादी बढेको सुखद समय हो । जितको उन्मादीमा उनले आफैँबाट फुटेर गएका दलहरू समेत सामेल राजपासँग सहकार्य र एकताको हात नबढाउन सक्छन् । तर राजनीति हो असम्भव केही नहुन पनि सक्छ । (मधेश दर्पण फिचर सेवा)