• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शहिद रामकृष्ण राउतको पुण्यतिथिमा छात्रवृत्ति वितरण

शहिद रामकृष्ण राउतको पुण्यतिथिमा छात्रवृत्ति वितरण

राजविराज, २३ भदौ  । मधेश आन्दोलनमा शहादत प्राप्त गरेका रामकृष्ण राउतको दोश्रो पुण्यतिथिको अवसर पारेर शुक्रबार स्थानीय दुई जना जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति तथा प्रसंशा पत्र प्रदान गरिएको छ ।
२०७२ भदौं २३ गते सप्तरीको भारदहमा प्रहरीले चलाएको गोलीबाट हनुमाननगर कंकालिनी नगरपालिका–३ का ६० वर्षिय राउतको मृत्यु भएको थियो । राउतको सम्मानमा उनका परिवारजनले प्रत्येक वर्ष स्थानीय दुई विद्यालयका एक छात्र र एक जना छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यस वर्षको छात्रवृत्ति स्थानीय वि.पी. स्मारक माविबाट ०७३ सालको एसएलसी परीक्षामा छात्रातर्फ सबै भन्दा बढी अंक ल्याउने रिता कुमारी यादव र कंकालिनी मावि पोर्ताहाबाट एसएलसीमा छात्रतर्फ बढी अंक ल्याउने भवेश कुमार झालाई नगद २ हजार ५ सयका दरले वितरण गरिएको शहिद राउतका भाइ धर्मपाल राउतले बताएका छन् ।
कंकालिनी माध्यमिक विद्यालयमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झाले शहिद राउतलाई सिंगो मधेशी समुदायले याद गरिहने बताए । राउत समाजसेवी र शिक्षाप्रेमी हुनुका साथै अन्यायमा परेका समुदायकालागि आवाज उठाउने व्यक्तिका रुपमा सधैभरी जीवन्त रहने भन्दै शहिद राउत पोर्ताहाको मात्र नभई मधेश र समग्र मुलुककै साझा सम्पत्ति भएको तर्क गरे । राज्यले वार्षिक रुपमा श्रद्धाञ्जली सभा आयोजना गर्नुपर्ने धारणा राख्दै राज्यले क्षतिपूर्ति वापतको रकम दिएर आफ्नो दायित्वबाट पञ्छिन खोजेको आरोप समेत उनले लगाए ।
सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले शहिद राउतको शहादतले आफूहरु एउटा अभिभावक गुमाएको बताउँदै मधेशी शहीदहरुलाई राज्यसँगसँगै मधेशवादी दलहरुले समेत बिर्सेको गुनासो गरे । शहीद राउतकी पत्नी सुदमिया देवी राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका विजय यादव, राजपाका जयसुन्दर यादव, लोकतान्त्रिक फोरमका गजेन्द्र यादव लगायतकाहरुले समेत श्रद्धाञ्जली मन्तव्य व्यक्त गरे ।