निर्वाचन आयुक्त शाहको प्रश्नः आचारसंहिता लागु गर्दा नेतालाई किन आपत्ति ?

निर्वाचन आयुक्त शाहको प्रश्नः आचारसंहिता लागु गर्दा नेतालाई किन आपत्ति ?
Sinha Tempo

राजविराज, १८ भदौ । निर्वाचन आयुक्त सुधीर कुमार शाहले निर्वाचन आयोग स्वतन्त्र निकाय भएको भन्दै सरकार वा कुनै पनि नेताले कामकार्वाहीमाथि टिप्पणीको औचित्य नरहेको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आइतवार साँझ पत्रकार सम्मेलन गर्दै उनले यस्तो कुरा बताएका हुन् । निर्वाचन आचार संहिता जारी पश्चात आयोगलाई फिर्ता लिन वा केही दिन स्थगित गर्न दवाब समेत आएको बताउँदै आयुक्त शाहले भने ‘निर्वाचन आयोग सम्वैधानिक निकाय भएकोले यसमा अनावश्यक दवाबको कुनै आवश्यकता छैन ।’ आचारसंहिता जारी गर्ने जिम्मेवारी निर्वाचन आयोगकै रहेको भन्दै सरकारबाट यसबारे प्रश्न उठाउनु आवश्यक नरहेको उनले बताए ।
शनिवार राजविराजमा पत्रकार सम्मेलन आयोजना गरी उप–प्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आचारसंहिता लागु गरेर आयोगले सरकारको हात खुट्टा बाँध्ने काम गरेको बताएको भोलीपल्टै शाहले यस्तो प्रतिक्रिया जनाएका हुन् । २०६४ को प्रथम संविधानसभा निर्वाचनमा ८६ दिन पहिले, २०७० को निर्वाचनमा ११३ दिन पहिले र गत वैशाख ३१ गतेको प्रथम चरणको स्थानीय तह निर्वाचनमा ७४ दिन पहिले आचारसंहिता लागु भएको बताउँदै उनले भने ‘अहिले ८६ दिन अगाडि आचारसंहिता लागु गर्दा किन आपत्ति भयो ?’ मतदाताले कुनै पनि प्रकारको डर, धाक, धम्की, त्रासबाट मुक्त रही निर्भिकताकासाथ मतदान गर्न पाउन भन्ने आयोगको चाहना रहेको भन्दै उनले आचारसंहिता पालनाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनमा मद्दत पुग्ने स्पष्ट पारे । आयुक्त शाहले आचारसंहिता लागु गर्दा आयोगले सरकार वा राजनीतिक दलसित सोध्नु आवश्यक नरहेको बताउँदै भने ‘निर्वाचनको व्यवस्था आयोगले गर्ने हो, सुरक्षाको प्रबन्ध सरकारले ।’
आयुक्त शाहले निर्वाचन आचारसंहिता पालनासहित सफल निर्वाचनमा सञ्चारक्षेत्रको ठूलो भूमिका रहने भन्दै सहयोगको आग्रह समेत गरे । मतदान गर्दा कम भन्दा कम मत बदर होस् भन्ने आयोगको मनसाय रहेको भन्दै उनले मतदाता शिक्षामा दलहरुको पनि सहयोग आवश्यक रहेको बताए । राजनीतिक सहमतीकासाथ प्रदेश सभा र प्रतिनीधिसभाको चुनावको मिति तोकिएकोले त्यो परिवर्तन नहुने उनले बताए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *