• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विषालु सर्पको सन्त्रासमा सकरपुरा बस्ती (भिडियो हेर्नुहोस्)

विषालु सर्पको सन्त्रासमा सकरपुरा बस्ती (भिडियो हेर्नुहोस्)

राजविराज, ७ भदौ । अबिरलको वर्षा र बाढीका कारण तहस–नहस बनेको सप्तरीको सकरपुरा टोलमा यति विषालु सर्प टोकाईको त्रासले पीडा थपिएको छ ।

खाँडो नदीको मूल वहाव नै बस्ती भएर बग्न थालेपछि बस्तीका अधिकांश घरहरु कटान तथा डुबानमा परेको अवस्थामा यति विषालु सर्पले हैरान पारेको हो । वर्षा रोकिएपछि बस्तीमा बाढीको पानी विस्तारै सुक्दै गएको अवस्थामा विस्थापितहरु घर फर्किन थालेका छन् । तर बाढीले तहस–नहस पारेको सकरपुराको बस्तीमा विगत तीन दिनदेखि विषालु सर्पले उत्पात मच्चाएको साबिक सकरपुरा गाउँ विकास समितिका पूर्व उपाध्यक्ष  सच्चिदानन्द झाले जानकारी दिएका छन् ।

पछिल्लो तीन दिनयता मात्र सो बस्तीका ८ जना सर्पको टोकाईबाट पीडित भएका छन् । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्वर–३ मा पर्ने सकरपुरा बस्तीका सुदनी देवी मण्डल, वैजु राय, कन्हैया झा, हेल्दी देवी खंग, परमेश्वर मण्डल, राजा मुखिया, सुमित्रा माली लगायतलाई सर्पले टोकेका छन् । उनीहरुलाई उपचारार्थ राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकाहरुमध्ये केही उपचार गराएर घर फर्किसकेका छन् ।

पछिल्लोपटक शनिवार राती सुदनी देवी मण्डललाई मध्यराती आफ्नै घरको ढोकामा करेंत सर्पले टोकेको स्थानीयले जानकारी दिएका छन् । उनलाई अञ्चल अस्पतालमा भर्ना गरिए पनि चिन्ताजनक रहेकोले थप उपचारकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दिनको समयमो सर्प त्यति नदेखिएपनि रातको समयमा खरको झुप्रो भएको घरहरुमा दिनहुँजसो सर्प आउने गरेको स्थानीय स्वास्थ्यकर्मी दिपक कुमार देवले बताए । बस्तीमा राती विद्युत समेत नरहँदा त्रासैत्रासमा रात काट्नुपर्ने बाध्यता रहेको उनले दुःखेसो सुनाए ।

सकरपुरा बस्तीका वासिन्दाहरु त्रासदीपूर्ण अवस्थामा बस्नुपर्ने बाध्यता रहेको बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सक्रिय युवा समाजसेवी निरज कुमार झाले बताए । आफुले भ्याएसम्म सहयोग गर्दैआएको बताउँदै उनले भने ‘सकरपुरा बस्तीमा अविलम्ब झुल, टर्चलाइट र आवतजावत गर्न बुटको व्यवस्था हुनु जरुरी छ ।’ ‘बाढीले त डुवायो, डुवायो स्थानिय सच्चिदानन्द झाले भने बाढीको पानी सुक्न नपाउँदै बस्तीमा जहाँत्यहाँ सर्प नै सर्प निस्किन थालेपछि उठबस गर्न पनि समस्या भएको छ’ उनले भने ‘साँझ नपर्दै लामखुट्टेले हैरान पार्छन् भने राती भएपछि विषालु सर्पको त्रास हुन्छ ।’

सकरपुरासहित जिल्लाभरि नै सर्पको विगविगी बढेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका आकस्मिक शाखाका रामकुमार दियालीले जानकारी दिएका छन् । बाढीका कारण एक सातायता दैनिकजसो अस्पतालमा १५ जनासम्म सर्पको टोकाईबाट सिकिस्त भएर अस्पताल आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट दयाशंकरलाल कर्णले जानकारी दिएका छन् । अस्पतालमा सर्पको टोकाइबाट सिकिस्तहरुलाई दिईने एन्टिस्नेक भेनम इन्जेक्सन तीन सय भाइल उपलब्ध रहेको बताउँदै उनले भने ‘अस्पतालमा हामी सेवा दिन प्रतिवद्ध छौं तर यहाँ भेन्टिलेटरको अभावमा अति सिकिस्त विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता छ ।’

भिडियो हेर्नुहोस्