
राजविराज, ४ भदौ । गत साउन २६ गते यताको अविरल वर्षा र बाढीका कारण सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा अवरुद्ध भएको विद्युत सेवा हालसम्म सुचारु हुन सकेको छैन ।
जिल्लाको रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही, हरिहरपुर, दिघवा, कमलपुर, मटिगढी, बिसहरिया, बोदरहट, पोर्ताहालगायतका स्थानहरुमा विद्युत सेवा अझैं सुचारु हुन नसकेको हो । केही दिनयता वर्षा रोकिए पनि बाटोघाटो बगाउनु साथै नदीहरुमा अत्यधिक पानी बगिरहेकोले तार, पोल लगायतका सामग्रीहरुको ढुवानी प्रभावित भएकोले सेवा सुचारु गर्न ढिलाई भएको हो । वर्षाले गर्दा राजविराज नगरपालिका बाहेक जिल्लाभरि दुई दिनसम्म पूर्ण रुपमा विद्युत सेवा अवरुद्ध हुन पुगेको थियो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख राम उद्गार साहका अनुसार वर्षा र बाढीले जिल्लाको विभिन्न स्थानमा ७० ओटा पोल ढलेको तथा ६ ओटा ट्रान्सफर्मर जल्दा करिब ५० लाख रुपैयाँ बराबरको क्षती भएको छ । प्राधिकरणले तत्कालै सेवा सुचारु गर्ने प्रयास थालेकोमा आवागमन असहजताका कारण चाहेर पनि काम गर्न ढिलाई भएको कार्यालय प्रमुख साहले जानकारी दिँदै भने ‘चापिन खोलामा एकै ठाउँमा ६ ओटा पोल ढलेको छ, त्यहाँसम्म सिमेन्टको पोल पुर्याउन सक्ने अवस्था छैन, कतिपय स्थानहरुमा ट्रान्सफर्मर पुर्याउन सक्ने अवस्था छैन ।’ बाढीका कारण एकै पटक जलेको ६ ओटा ट्रान्सफर्मर खोलेर ल्याउन तथा मर्मत गराएर ल्याउन अझैं बढीमा एक महिनासम्म लाग्नसक्ने उनले बताए ।



