
राजविराज, ३ भदौ । अविरलको वर्षा र बाढीका कारण जताततै बनाएको फोहोर युवाहरुले सरसफाई गरेका छन् ।
राजविराज वडा नम्वर–१ डुमरी शिबथानमा व्यापक क्षति गरेसँगै थुपारिएको फोहोर युवाहरुले सफा गरेका हुन् । आफ्नो ५० औं हप्ते सरसफाई अभियानको ४९ औं हप्ता शनिबार सप्तरी युथ नेपालको अगुवाईमा राजविराज–१ मा सरसफाई गरिएको छ । वस्तीमा रहेको अत्यधिक फोहोर हटाउनुका साथै बाढीमा परी मृत्यु भएर थुपारिएका केही चौपायालाई समेत युवाहरुले खाल्डो खनी गाडेका छन् । फोहोर सफा गर्ने क्रममा पाँच वटा बाख्रा मृत फेला परेको र उनीहरुलाई खाल्डो खनेर गाडिएको युवाहरुले बताएका छन् ।
यसैगरी बाढीका कारण क्षतविक्षत बनेको बाटोलाई युवाहरुले कोदालोको सहायताले मर्मत पनि गरेका छन् । बाढीपछिको फोहोरले व्यक्तिको स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएको हुँदा यहाँको फोहोर हटाइएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी दिएका छन् । उनले बाढीग्रस्त ठाउँहरुमा भएका फोहोर हटाउने आफूहरुको अभियान हुने समेत बताए । ‘सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा’ भन्ने मूल नाराका साथ सप्तरी युथ नेपालले ५० हप्ते सरसफाई अभियानको प्रारम्भ गरेको छ ।



