
राजविराज, २५ साउन । सप्तरी युथ नेपालको आयोजनामा दोस्रो सप्तरी जिल्ला युवा सम्मेलन आगामी साउन २८–२९ गते हुने भएको छ ।
सप्तरी युथ नेपालले बुधबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी गराएको हो । दुई दिनसम्म हुने जिल्ला युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
युवा सम्मेलनको उद्घाटनमा दुई जना मन्त्रीले सहभागी हुने सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव र वातावरण मन्त्री मिथिला चौधरीको सहभागिता रहने उनले बताए ।
यसैगरी सम्मेलनको दोस्रो दिन २९ गते समापन कार्यक्रमा युवा तथा खेलकुद मन्त्री राजन केसीले गर्ने कार्यक्रम रहेको छ । युवा सम्मेलनमा जिल्लाभरबाट युवाहरुको सहभागिता रहनेछ । सप्तरी जिल्लाको साविकको ९१ गाउँ विकास समितिबाट एक महिला र एक पुरुष गरी २÷२ जना युवाहरुको सहभागिता रहनेछ । यस्तै पुरानो संरचना अनुसारको पाँच नगरपालिकाबाट ४÷४ युवाले सहभागिता जनाउनेछन् ।
दोस्रो युवा सम्मेलनमा युवाका मूलभूत समस्याहरुबारे छलफल गरी त्यसलाई बहसमा ल्याइने प्रमुख उद्देश्य रहेको सप्तरी युथ नेपालका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार युवा सम्मेलनमा बिभिन्न किसिमको प्रतिस्पर्धात्मक खेलकुदको समेत आयोजना गरिनेछ ।
विभिन्न व्यक्ति र गैर सरकारी संस्थाहरुबाट सहयोग लिएर युवा सम्मेलनको आयोजना गर्न लागिएको छ । सरकारी निकायहरुले सहयोग गर्न नचाहेको पत्रकार सम्मेलनमा आयोजक सप्तरी युथ नेपालले गुनासो गरेका छन् । दोस्रो युवा सम्मेलन लगत्तै प्रत्येक स्थानीय तहमा सप्तरी युथ नेपालको गठन गरिने पत्रकार सम्मेलनमा उपाध्यक्ष मोहन यादवले जानकारी दिएका छन् ।
गत बर्ष युवाहरुको एक भेलाले मूल समारोह समिति गठन गरी पहिलो पटक जिल्ला युवा सम्मेलन गराएको थियो । पहिलो युवा सम्मेलन मार्फत नै सप्तरी युथ नेपालको जन्म भएको हो । सप्तरी युथ नेपालको अगुवाईमा प्रत्येक शनिबार सरसफाई सप्ताह गरिदैं आएको छ भने राजविराज हटियाभित्र गरिएको अतिक्रमण हटाइएको छ । सप्तरी युथ नेपालकै अगुवाईमा गम्हरिया प्रवाहा गाउँ विकास समितिका दृष्टिबिहीन परिवारको घर निर्माण, उनीहरुका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको छ ।



