
राजविराज, २५ साउन । चारदिन अघि ईलाका प्रहरी कार्यालय कडरबोनाको गाडीलाई लक्षित गरी भएको बम विष्फोटको घटनाको अनुसन्धानको नाममा प्रहरीले धरपक्कड तथा खानतलासी गरेको भन्दै स्थानीयवासिन्दाहरुले गम्भीर आपत्ति जनाएका छन् ।
सोमवार करिव पाँच वजेको सयममा खडक नगरपालिका–३ गरूराहाका २३ वर्षिय दयानन्द रामलाई एक्कासी घरबाट हतकडी लगाएर लगेको जनाईएको छ । बेलुका करिव ६.३० वजेको समयमा भ्यानमा आएको प्रहरी टोलीले घर घेराहाली विना जानकारी खानतलासी गरेको दयानन्दका बुबा विश्वनाथ रामले बताए । रक्षा बन्धनको दिन घरमा कोही नभएको बेला प्रहरी टोली घरभित्र पसेर जथाभावी खाद्यान्न छरपष्ट पार्नुका साथै बाकस तथा दराजहरू फुटाएको उनले जानकारी दिए ।
खानतलासी पश्चात प्रहरीले कागजमा छाप लगाउन कर गर्दा आफूले नमानेको दयानन्दकी आमा रौदी देवीले बताईन् । कुनै सामान फेला नपरेपछि अन्तमा उनीहरूले ‘तपाईको छोरालाई भोली छोडिदिन्छु भनेर गयो, तर छाडेको छैन् । किन र के–कालागि छोरालाई एक्कासी हतकडी लगाएर लगियो ? प्रहरीलाई सोध्दा जवाफ दिएन ।
बाबु–छोराले बाख्राको खरिद–विक्री व्यापार गरेर परिवारिक गुजारा चलाउँदै बताउँदै उनले छोराको कतै गलत सङ्गत नरहेको बताईन् । छोरालाई प्रहरीले लगेपछि आफुहरु त्रासले गर्दा घरमा कोही नसुतेको उनले दुःखेसो सुनाईन् । प्रहरीले लोकतन्त्र र मानवअधिकारको उलंघन गरेको भन्दै सत्यतथ्य छानविनका लागि स्थानियवासिन्दाले मानवअधिकारवादी संघ–संस्थासँग आग्रह गरेका छन् ।
घटनाबारे ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक राजेन्द्र यादव र प्रहरी सहायक निरीक्षक श्यामलाई पटकपटक फोन सम्पर्क गर्दा फोन समेत नउठाएको पीडित परिवारजनको गुनासो रहेको छ । आफ्ना छोरालाई कुन कसुरमा पक्राउ गरिएको हो ? र कुन अवस्थामा राखिएको हो ? भन्नेबारे जानकारीसम्म नपाएको उनीहरुले ‘न्यूज टुडे’ समक्ष दुःखेसो सुनाए । छोरालाई भेट्न जाँदा भेंटघाटसम्म गर्न नदिएको भन्दै मानवअधिकारकर्मी, कानूनव्यवसायी, सञ्चारकर्मी, नागरिक समाज लगायत सरोकारवालासँग पीडितका आमाबुवाले आग्रह गरेका छन् ।
यस विषयमा सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बम विष्फोटको घटना अनुसन्धान भईरहेको तर हालसम्म कोही पक्राउ नपरेको बताएका छन् ।



