
राजविराज, २४ साउन । सप्तरीको राजविराज नगरपालिका–९ स्थित मलेठ बस्तीका ८३ परिवार बाढी पीडितलाई मङ्गलवार राहत वितरण गरिएको छ ।
राजविराज स्थित प्रमुख जिल्ला अधिकारी निवासमा आयोजित एक कार्यक्रमका बीच नेपलीज ब्रिटिश कम्युनिटी यु.के., नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरी र नेपाली कांग्रेसका नेता एवम् सांसद धनराज गुरुङ्गद्वारा उपलब्ध राहत सामगी आइडिया नेपालको समन्वयमा वितरण गरिएको हो । बाढी पीडितहरुलाई चामल १० किलो, दाल २ किलो, नुन एक किलो, खाने तेल एक प्याकेट, झुल, बाल्टिन र कम्बल एक–एक थान उपलब्ध गराईएको छ । 
एक नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरी ८३ थान कम्बल र ३३ थान झुल उपलब्ध गराएका छन् भने सांसद गुरुङ्गले ४० थान सुपानेट झुल र बाँकी सामानहरु नेपलीज ब्रिटिश कम्युनिटी यु.के.को सौजन्यमा उपलब्ध गराईएको थियो । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कट्वाल, नेपाली सेनाको कृष्ण दल गणका गणपति सुरेन्द्र देव बोगटी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामाआधार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, आइडिया नेपालका अध्यक्ष सञ्जीव विक्रम साह, संस्थाका निरजकुमार मण्डलसमेतले राहत सामग्री बाढी पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।



