• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मिथिलाञ्चसहित तराई–मधेशका २० जिल्लामा सार्वजनिक विदा, मैथिली साहित्य परिषद्द्वारा स्वागत

मिथिलाञ्चसहित तराई–मधेशका २० जिल्लामा सार्वजनिक विदा, मैथिली साहित्य परिषद्द्वारा स्वागत

राजविराज, २३ साउन । रक्षा बन्धनको अवसरमा नेपाल सरकारले तराई मधेशका २० जिल्लामा सार्वजनिक विदा दिने निर्णयको मैथिली साहित्य परिषद् राजविराजले स्वागत गरेको छ ।

गृहमन्त्रालयले आइतवार अबेर राती सूचना जारी गरी तराई मधेशका २० जिल्लामा सार्वजनिक विदा दिने घोषणा गरेको हो । रक्षाबन्धन पर्व तराई मधेशमा साउन २३ गते सोमवार मनाईने हुँदा सो दिन झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ्ग, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ्ग, कञ्चनपुर र उदपुर जिल्लामा सार्वजनिक विदा दिने सरकारबाट निर्णय भएको सूचनामा जनाईएको छ । नेपालबाट प्रकाशित अधिकांश क्यालेण्डरहरुमा यस वर्षको रक्षा बन्धन पर्व साउन १३ गते नागपञ्चमीको दिन उल्लेख गर्दै नेपाल सरकारले देशैभरि सार्वजनिक विदा दिएका थिए ।

मैथिली साहित्य परिषद् राजविराजले रक्षा बन्धन साउन २३ गते मनाईने भनी तर्क प्रस्तुत गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत संस्कृति मन्त्रालयलगायतलाई ज्ञापन–पत्र पठाएको थियो । परिषद्ले विदाको माग गर्दै संघर्ष गर्दैआएकोमा आइतवार अबेर राती नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो । नेपाल सरकारको सार्वजनिक विदा दिने निर्णयलाइ   मैथिली साहित्य परिषद् राजविराजले स्वागत गरेको छ ।  परिषद्द्वारा गरिएको आग्रहलाई स्वीकार गर्दै सार्वजनिक विदा दिईनुलाई मैथिली साहित्य परिषद्ले सफलताको रुपमा लिएको ठहर गरेका छन् ।

परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झा र सचिव श्यामसुन्दर यादवले सोमवारै प्रेस विज्ञप्ति जारी गर्दै २० जिल्लामा मात्र सार्वजनिक विदा दिईनुले देशका विभिन्न भू–भागमा रहेका मधेशी समुदायले पर्व मनाउन नपाएको भन्दै दुःख व्यक्त गर्दै आगामी दिनमा एकरुपता दिन देशैभरि विदा दिन नेपाल सरकारसँग आग्रह गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिमा तराई मधेश (मिथिला क्षेत्र)का एक जना पनि विद्वान पंडितलाई समावेश नगरिएका कारण रक्षा बन्धन पर्वको विषयमा एकरुपता हुन नसकेको भन्दै आगामी दिनमा यस्ता त्रुटीलाई सुधार गर्न समेत परिषद्ले नेपाल सरकारसँग आग्रह गरेको छ । आफुहरुको आग्रहलाई स्वीकार गरी माग सम्वोधन गर्नकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्वद्ध सबैपक्षलाई मैथिली साहित्य परिषद्ले धन्यवाद समेत दिएको छ ।