भारतमा बेच्न लगिएकी महिलाहरु सूचना केन्द्रको सम्पर्कमा, एजेन्ट फरार

भारतमा बेच्न लगिएकी महिलाहरु सूचना केन्द्रको सम्पर्कमा, एजेन्ट फरार
Sinha Tempo

राजविराज, ९ साउन । केही वर्ष अघिसम्म मधेशबाट वैदेशिक रोजगारीमा जाने महिला कामदारहरुको संख्या नगण्य जस्तै थियो । तर, चरम बेरोजगारी र गरीबीका कारण मधेशी महिलाहरुको समेत वैदेशिक रोजगारीमा आकर्षण बढ्न थालेको छन् ।  यसरी गाउँ देहातका महिलाहरु परिवार चलाउन तथा जीवन धान्नकालागि वैदेशिक रोजगारीमा जाने आँट गरिरहेको अवस्थामा ठगीने क्रम समेत मौलाउँदै गएको छ । सोझासाझा ग्रामिण महिलाहरुलाई आफूलाई एजेन्ट भनाउँदाहरुले आकर्षक तलब र घरायसी काममा लगाइदिने भन्दै ठगी गर्ने गरेको रहस्य खुलेको छ । 

फ्रि भिसा, फ्रि टिकेट भइसकेको अवस्थामा पनि मधेशी महिलाहरुबाट डेढलाखसम्म रुपैयाँ ठगी गरी भारतमा बेच्न लगिरहेको अवस्थाबाट कठोर संघर्ष पश्चात दलालको चङ्गुलबाट सप्तरीको महदेवा–३ कि एक युवती र एक महिला घर फर्किन सफल भएकी छिन् । काठमाडौं हुँदै टिकापुरको बाटो भएर भारतमा बेच्नकालागि लग्दै गरेको अवस्थामा  गरेको सप्तरीमा पछिल्लो एक घटना क्रमबाट पुष्टि भएको छ । चकलाकी ४० वर्षिया मञ्जु कुमारी राम र १९ वर्षिया युवती संगिता कुमारी रजकलाई  एजेन्ट बताउने रिता दास र काठमाडौंको म्यानपावरको मान्छे बताउने आकाश नाम गरेका व्यक्तिबाट उनीहरु ठगिएकी हुन् ।

गाउँमै नातापर्ने एक व्यक्तिको घरमा आएकी एजेन्ट रिताले आफु कुबेतबाट तीन वर्ष काम गरेर आएको, त्यहाँ राम्रो काम र मनग्य रकम कमाएको प्रलोभन देखाउँदै मञ्जु कुमारी राम, आशा देवी रजक र उनकी छोरी संगिता कुमारी रजकलाइ ‘तिमीहरुलाई पनि कुबेत पठाइदिन्छु’ भन्दै डेढलाख रुपैयाका दरले असुली गरेका थिए । तीनै जनालाई काठमाडौं बोलाई मेडिकल गराउने बहाना बनाई आमा आशालाई मेडिकल फेल भएको भन्दै छोरी संगीता र मन्जुले मात्र विदेश जान पाउने भन्दै  जेष्ठको अन्तिम सातातिर कुबेतकालागि भन्दै काठमाडौं बोलाएका थिए ।  एजेन्ट रिताले ‘दिल्लीबाट कुबेतको फ्लाइट हुन्छ’ भनी टिकापुरको बाटो हुँदै डुङ्गामा चढाएर भारत लगेको पीडित मन्जुले ‘न्यूज टुडे’लाई जानकारी दिईन् । एकान्तको बाटोहरु प्रयोग गर्दै आफुलाई आकाश नाम बताउने एजेन्ट ‘कहाँ, कसले र कता लग्दै छ’ भनी मरि गए पनि नबताउनु भनी सिकाएको उनले बताईन् । दुई दिनसम्म टिकापुर आसपास क्षेत्रको भारतीय रेल्वे स्टेशन आफुहरुलाई अलपत्र अवस्थामा छाडेर फरार भएको ठगीमा परेकी युवती सङ्गीताले बताईन् ।

एकै छिनमा आउँदैछु भन्दै आफुहरुलाई ती व्यक्ति सम्पर्क विहिन भएपछि दुई रातसम्म त्यहिको रेल–वे स्टेशनमा बिताएको बताउँँदै उनले भनिन् ‘त्यहाँ कोही चिनजानको मान्छे पनि थिएन, हातमा पैसा समेत थिएन, दुवै जना भोकै बसेँ ।’ एक जना मुस्लिम व्यक्तिलाई सबै कुरा बताएपछि भारतीय रुपैयाँ एक सय दिएपछि त्यहि पैसाले नेपाल प्रवेश गरेर घरमा आमालाई फोन गरेपछि पैसा पठाएपछि मात्र घर फर्किन पाएको युवतीले दुःखेसो सुनाईन् । आफुहरुले कुवेत जान लागेको तथा एजेन्ट सम्पर्क विहिन हुँदा धेरै व्यक्तिले समेत प्रलोभन दिएर आफुसँग लान खोजेको स्मरण सुनाउँदै उनले भनिन् ‘हाम्रो हातमा न त अहिले पासपोर्ट छ न त नागरिकता नै, एजेन्टलाई फोन गर्दा पहिलाको मोवाइल स्वीच अफ गरेको र अर्को नम्बरमा फोन गर्दा तिमीहरुलाई जे गर्नुछ त्यो गर, पैसा फिर्ता गर्दिन भनी जवाफ दिन्छन् ।’

कहीँ कतै सहारा नपाएपछि राजविराजस्थित सुरक्षित आप्रवाशन तथा परामर्श केन्द्रमा उजुरी गर्न आएकी उनीहरुले बताइन् । परामर्श केन्द्रमा आफ्नो दुःखेसो सुनाउँदै मञ्जुले भनिन् ‘भए भरको गरगहना समेत बेचेर आफ्नो सम्झी मागेको जति रकम दिएँ, तर आज हामीलाई यो हालतमा पु¥याईदिएको छ ।’ शुरुमा मिठामिठा कुराहरु भनेको तथा चरम गरिबीले गर्दा एजेन्ट भनिने रिताको कुरामा विश्वास गरेको उनले बताईन् । आफुहरुलाई भारतको कुनै शहरमा बेच्न लगिरहेको कुरा पछि मात्र थाहा पाएको ठगीमा परेकी युवती संगीताले जानकारी दिईन् ।

सप्तरी सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित सुरक्षित आप्रवासन तथा परामर्श केन्द्रमा उनीहरुले आइतवार सम्पूर्ण घटना विवरण सुनाउँदै एजेन्टलाई कार्वाही गर्न तथा ठगी गरेको रकम फिर्ताको माग गर्दै निवेदन दिएको परामर्शकर्ता निता चौधरीले बताईन् । उनीहरुको विषयमा सोधखोज गर्दै जाँदा जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएको तर श्रम स्वीकृति समेत नरहेको पाईएको बताउँदै उनले भनिन् ‘यस्तो प्रकृतिको महिला कामदार सम्वन्धि केस पहिलो पटक हामीकहाँ आएको छ, एजेन्टको पुरा ठेगाना तथा म्यानपावरको नामसम्म थाहा नभएको अवस्थामा खोजी गर्दै जाँदा केही तथ्यहरु फेला परेकोले थप आवश्यक सूचनाहरु संकलन गरिरहेका छौं ।’

मञ्जु र संगीतालाई कुवेत पठाउन लगिएको भनी कुनै प्रमाण फेला नपरेकोले उनीहरुलाई बेच्नकालागि लगिरहेको हुनसक्ने परामर्शकर्ता चौधरीले बताईन् । महिलासँग सम्वन्धित केस भएकोले प्रहरीको सहयोगमा कानूनी कार्वाही प्रक्रिया अगाडि बढाईने परामर्श केन्द्रका प्रमुख रामप्रवेश मण्डलले बताए । सोझा महिला र युवतीलाई विभिन्न प्रलोभन देखाएर गलत बाटो प्रयोग गरी बेच्नकालागि लगिरहेको हुन सक्ने भएकोले आफुहरुले यसलाई गम्भीरतापूर्वक लिई पीडितलाई न्याय दिलाउन तथा दोषीलाई कानूनी कार्वाही गराउन कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरे ।ठगीमा परेकी युवती स्थानीय तोपा स्थित विद्यालयबाट कक्षा ६ उतीर्ण गरी पढाई छाडेर घरमै बस्दैआएकी थिईन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *