सर्वोच्चका पूर्व न्यायाधीश यादव भन्छन् ‘मधेशी जनताले औपनिवेशिक शासनबाट मुक्ति चाहेको छ’

सर्वोच्चका पूर्व न्यायाधीश यादव भन्छन् ‘मधेशी जनताले औपनिवेशिक शासनबाट मुक्ति चाहेको छ’
Sinha Tempo

राजविराज, ५ साउन । सर्वोच्च अदालतका पूर्व न्यायाधीश अवधेश कुमार यादवल राज्यले मधेशी जनताको भावनालाई सम्बोधन नगरे मधेश आफ्नो अस्तित्व रक्षाको बाटोमा अगाडि बढ्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा बिहीबार न्यूज टुडेसँग कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाली राज्य सत्ताले बन्दुकको बलमा मधेशी जनतामाथि औपनिवेशिक शासन लादेर सत्ता टिाकाउन खोजेको आरोप लगाउँदै पूर्व न्यायधीश यादवले भने ‘मधेशी जनता औपनिवेशिक शासनबाट मुक्ति चाहिरहेको छ, तर नेपाली राज्य सत्ताले मधेशको भावनालाई बन्दुकको बलमा दवाउन खोजिरहेको छ, यदि यस्तै रहयो भने मधेशले गुलामीबाट मुक्ति पाउन सशक्त रुपमा अगाडि बढ्ने छ ।’
नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र वर्तमान अवस्थामा थप जिम्मेवार भएर मधेशको भावनालाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिँदै उनले बंगलादेश, पाकिस्तान लगायतका देशहरु निर्माण भएको चर्चा गरे । मधेशको आफ्नै भाषा, संस्कृति, भुगोल एवं पहिचान लगायतका आधारहरु रहेको बताउँदै उनले भने राज्यले अहिलेपनि मधेशी जनतालाई मानव सम्झिरहेको छैन, त्यसैले एक दिन नेपाली राज्यसत्ताको चरित्र सम्पूर्ण मधेशी जनता बुझ्नेछन् र गुलामीको जंजीर तोड्नेछन् ।अहिलेपनि सेना, प्रहरी, कर्मचारी लगायतका सेवाहरुमा मधेशीको सहभागिता एकदमै न्यून रहेको बताउँदै मधेशले पनि हरेक क्षेत्रमा आफ्नो हक, अधिकार स्वाभिमान एवं पहिचान खोजिरहेको प्रष्टयाए । ‘विश्वका चीन लगायतका देशहरुमा सेना, प्रहरीसँग अनाहक रुपमा बन्दुक रहँदैन’ उनले भने तर, मधेशमा सुरक्षाको नाममा सेना प्रहरी परिचालन गरी मधेशी जनतामा त्रास उत्पन्न गरेर औपनिवेशिक शासन लादने काम गरिरहेको छ ।’ मधेशका जनता अहिलेपनि काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टीमा लागेर आफ्नै भविष्यमाथि खेलवाड गरिरहेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश यादवले टिप्पणी गरे ।
मधेशी जनता अहिलेपनि भ्रममा रहेको बताउँदै उनले भने एक दिन समय यस्तो आउनेछ, मधेशी जनताको भ्रम टुट्नेछन् र एकताबद्ध भएर गुलामीको जंजीर तोड्न अगाडि बढ्नेछन् त्यतिबेला दुनियाँको कुनै पनि ताकतले मधेशी जनतालाई रोक्न सक्दैन । वर्तमान अवस्थामा अहिंसावादी आन्दोलन नै मधेशमुक्तिको एकमात्र विकल्प भएकोले अहिंसात्मक आन्दोलनलाई जनजनमा पु¥याउनुपर्नेमा उनले जोड दिए । मधेशका जनता पुस्तौंदेखि गुलाम बनाउँदै आएको प्रसङ्ग कोट्याउँदै पूर्व न्यायाधीश यादवले भने मधेशको भविष्य मधेशी यूवाहरुको काँधमा छ, त्यसैले यूवाहरु प्रलोभनमा नलागि आफ्नो अधिकार सुनिश्चितताकालागि गम्भिर हुनु आवश्यक छ ।
सिमांकनको मुद्दा सम्बोधन नभएको अवस्थामा पनि संघीय समाजवादी फोरम चुनावमा भागलिएर मधेशी जनताको भावनामाथि खेलवाड गरेको टिप्पणी गर्दै न्यायाधीश यादवले यथास्थितिमा चुनावको औचित्य नरहेको दावी गरे । कुनैबेला मधेशी जनताको हिरोको रुपमा उदाएका उपेन्द्र यादवबाट चुक भएको बताउँदै न्यायधीश यादवले भने ‘स्वायत मधेश प्रदेशको मुद्दालाई मधेशवादी दलहरुले छोड्नु ठूलो भुल गरेको छ, मधेशलाई प्रदेशको नाममा छिन्नभिन्न गर्ने काम मात्रै गरेको छ ।’
मधेश आन्दोलनका क्रममा जनताले दिएको बलिदानी र त्यागलाई अग्रभागमा राखेर मधेशवादी पार्टीहरुले कुनैपनि निर्णय लिनुपर्नेमा जोड दिँदै पूर्व न्यायाधीश यादवले संविधान संशोधन नभएसम्म कुनैपनि चुनावले मधेशलाई अधिकार प्राप्ती नहुने बताए । मधेशवादी दलहरु केही सिमित स्वार्थ सिद्धिकालागि जनताको भावनालाई नबुझि अपरिपक्व निर्णय गर्ने गरेको बताउँदै उनले भने ‘मधेशवादी दलहरुले समेत आफ्नो चरित्र सुधार नगरे जनता आफ्नो निर्णय आफै गर्न बाध्य हुनेछ ।’
नेपालको न्यायालयमा समेत व्यापक वेथिति एवं भ्रष्टाचार कायम रहेको चर्चा गर्दै न्यायालय कुनैपनि राजनीतिक दलको हस्तक्षेपबाट टाढा रहनुपर्नेमा उनले जोड दिए । न्यायधीश नियुक्ति लगायतका विषयहरुमा राजनीतिक दलहरुले हस्तक्षेप गर्ने गरेको चर्चा गर्दै उनले भने ‘न्यायालय स्वतन्त्र र निष्पक्ष हुनुपर्छ’ तर, जहाँ पार्टीको छाप लगाएर न्यायाधीश नियुक्ति हुन्छ भने न्यायालयमाथि प्रश्न उठ्नु स्वाभाविक हो । मधेशको विषयमा अदालतले गरेका कतिपय निर्णयहरुले गर्दा न्यायालयमाथि पटक पटक आलोचना हुँदै आएको उनले टिप्पणी गरे ।
मधेशमा व्यापक रुपमा ब्रह्मलुट भइरहेको बताउँदै विकास निर्माणको नाममा आएको बजेट व्यापक दुरुपयोग हुनुमा कर्मचारीदेखि राजनीतिक दलका नेताहरुसम्म लिप्त रहेको पूर्व न्यायाधीश यादवले बताए । भ्रष्टाचारीहरुमाथि कार्वाही गर्ने संयन्त्र कमजोर हुनुले भ्रष्टाचार मौलाउने मौका पाएको उनले तर्क गरे ।

 

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *