
राजविराज, २९ असार । सप्तरीको वोदेवर्साइन नगरपालिका–६ का ४२ वर्षिय लिलाधर दास (तत्मा)ले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरको पहलमा निःशुल्क उपचार सुविधा पाउने भएका छन् ।
डिहिवार थान (मन्दिर) छोएको भन्दै गत असार १३ गते साँझ उनी स्थानीय गैरदलित समुदायका व्यक्तिहरुबाट कुटिएका थिए । कुटपीटवाट हड्डीमा समस्या देखिएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यहाँ करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावमा उनी निराश भए घर फर्किएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख दिपेन्द्र सिंह सहितको टोली सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कट्वालसँग भेटेर लिलाधरलाई उपचारको प्रबन्ध मिलाउने विषयमा बुधवार छलफल गरेका थिए । प्रमुख जिल्ला अधिकारी कटवालसमेतको आग्रहमा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक कागजातसहितको सिफारिसको आधारमा उनको निःशुल्क उपचार गर्न तयार भएको आयोगका क्षेत्रीय प्रमुख सिंहले जानकारी दिएका छन् ।
स्थानीय डिहिवार थानमा हुने ‘असारी पुजा’ गर्न पुगेका दासमाथि स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साहलगायतका व्यक्तिहरुले आक्रमण गरेको पीडितको उजुरीमा उल्लेख छ । कुटपिटबाट उनको देव्रे हात भाँचिएको छ भने शरिरका अन्य विभिन्न भागमा चोट लागेको छ ।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा (२) अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछुत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउन नहुने व्यवस्था छ । यद्यपी, कसैले यस्तो कार्य गरेमा तीन महिनादेखि तीनवर्षसम्म कैद वा एकहजार रुपैयाँदेखि पच्चीसहजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा व्यवस्था छ ।



