• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विभिन्न संस्थाद्वारा बाढीपीडितलाई राहत वितरण

विभिन्न संस्थाद्वारा बाढीपीडितलाई राहत वितरण

राजविराज, २४ असार । सप्तरीको सकरपुराका बाढीपीडितहरुलाई ‘लालीगुराँस संसार’ संस्थाद्वारा राहत वितरण गरिएको छ ।

कतारस्थित केपल इन्फ्राटेक्टरको सहयोगमा सकरपुराका ४० परिवारलाई राहत वितरण गरिएको हो । सकरपुराका दलित टोलमा उक्त राहत सामग्री वितरण गरिएको हो । पीडित परिवारहरुलाई प्रतिपरिवार एक थान त्रिपाल, १ बोरा मुरही (३ किलो), १ केजी भुजियाका दरले राहत वितरण गरिएको राहत वितरण टोलीमा सहभागी संघीय समाजवादी फोरम नेपाल सप्तरी क्षेत्र नम्वर–३ का नेता नवनित झाले जानकारी गराएका छन् । कतारमा रहेका नेपाली कामदारहरुले उपलब्ध गराएको आर्थिक सहयोगमा यसरी सप्तरीका बाढीपीडितहरुका लागि राहत सामग्री जुटाइएको लाली गुराँस संसारका विवेक कुमार मिश्रले बताए । करिब ७० हजार मुल्य बरावरको राहत सामग्री आफुहरुले वितरण गरेको उनको भनाई छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी सप्तरीले शनिवार तिलाठीको बेल्ही टोल, सकरपुरा र रम्पुरा मल्हनियाँका १ सय २५ परिवारलाई राहत स्वरुप त्रिपाल उपलब्ध गराएको छ । तिलाठीस्थित खाँडो पुल नजिक आयोजित कार्यक्रममा रेडक्रस सोसाईटी सप्तरीका सभापति जोगेन्द्र भगत, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेती लगायतकाले बाढीपीडितहरुलाई त्रिपाल हस्तान्तरण गरेका छन् । यस्तै रेडक्रसले भेडिया र मयनाकडेरीका ८५ परिवारलाई समेत त्रिपाल उपलब्ध गराएको सभापति भगतले जानकारी गराएका छन् । संयुक्त संघर्ष समिति जनकपुरले गत शनिवारको बाढीले पीडित मलेठका ५० परिवारलाई शनिवार त्रिपाल उपलब्ध गराएको छ ।