
राजविराज, १४ असार । सप्तरीको वोदेवर्साइन नगरपालिका–६ का ४२ वर्षिय लिलाधर दास (तत्मा) डिहिवार थान (मन्दिर) छोएको भन्दै मङ्गलवार साँझ कुटिएका छन् ।
गैरदलितको कुटपिटवाट थलिएका दासलाई वुधवार विहान स्थानीयले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो । स्थानीय डिहिवार थानमा हुने ‘असारी पुजा’ गर्न पुगेका दासमाथि स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साहलगायतका ब्यक्तिहरुले आक्रमण गरेको पीडितले बताएका छन् । कुटपिटबाट उनको देव्रे हात भाँचिएको छ भने शरिरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाहरुले आफुलाई आक्रमणकारीवाट छुटाएर ज्यान वचाई दिएको पिडित दासले बताए ।
घटनापछि आफुले ईलाका प्रहरी कार्यालय वोदेवर्साइनमा उजुरी समेत दिएको बताउँदै उनले प्रहरीले घटनामा खासै चासो नदिएको आरोप समेत लगाए । पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक प्रकृया अघि बढाईएको इलाका प्रहरी कार्यालय वोदेवरसाईनका ईन्चार्ज सई उमाशंकर सिंहले जानकारी दिए । घटना हुनुमा पुजाभन्दा पनि राजनितिक कारण देखिएकाले दुवै पक्षलाई राखेर छलफल मार्फत समस्या समाधानको प्रयास भईरहेको उनको भनाई छ ।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा (२) अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछुत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउन नहुने व्यवस्था छ । यद्यपी, कसैले यस्तो कार्य गरेमा तीन महिनादेखि तीनवर्षसम्म कैद वा एकहजार रुपैयाँदेखि पच्चीसहजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा व्यवस्था छ ।



