• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपालगञ्जमा फोरम नेपालका उम्मेदवारमाथि आक्रमण

नेपालगञ्जमा फोरम नेपालका उम्मेदवारमाथि आक्रमण

नेपालगञ्ज, १० असार । संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवार माथि अज्ञात समूहले आक्रमण गरेको छ ।
नेपालगञ्ज उपमहानगरका फोरम उम्मेदबार कमरुद्दीन राईनमाथि गएराति दश बजे एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको हो । मेयरका प्रत्यासी राई चढेको गाडीमा शुक्रबार राति नेकपा एमालेको पार्टी कार्यालय नजिकै आक्रमण भएको हो । मुखमा नकाप बाँधेर मोटरसाईकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईट्टाले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँके जनाएको छ ।
ईटा प्रहारबाट बा.९च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् । उम्मेदबार राईनलाई भने कुनै चोटपटक लागेको छैन । फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । आक्रमण हुँदा राईन र उनका ड्राईभर गाडीमा थिए । उनीहरु चुनावी प्रचार–प्रसार सकेर जमुनाहास्थित घरतर्फ जाँदै गर्दा आक्रमण भएको हो । आक्रमण गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
आक्रमण र दुव्र्यबहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबारै राति नाराजुलुससहित त्रिभुवन चोकमा विरोध सभा आयोजना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेका थिए ।
संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदबार राईनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले भने, –‘फोरमको चुनावी लोकप्रियताले उनीहरु आत्तिएका छन् । त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन् ।’ धार्मिक र जातीय समिकरणले अति संवेदनशील मानिएको नेपालगञ्जमा विगतमा भएजस्तै साम्प्रदायिक दंगा भड्काउने प्रमुख तीन दलको योजना अनुसार घटना भएको राईनको दाबी छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाइका छन् । प्रजिअ पन्थले भने, ‘अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई मैले निर्देशन दिइसकेको छु, जोकोही भए पनि कारबाही हुन्छ ।’