स्थानीय निर्वाचन संविधान कार्यान्वयनको षड्यन्त्र होः प्रा. झा

स्थानीय निर्वाचन संविधान कार्यान्वयनको षड्यन्त्र होः प्रा. झा
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ जेठ । राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झाले संविधान संशोधनको मुख्य बाधक एमाले अध्यक्ष केपी ओली रहेको भन्दै संघर्षबाटै हठपना त्याग्न बाध्य पार्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालद्वारा सप्तरीको ईटहरी विष्णुपुर गाउँपालिका स्थित बोरियामा आयोजित विरोधसभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसका पूर्व प्रमुख समेत रहेका प्रा. झाले भने ‘कांग्रेस र माओवादी केन्द्र संविधान सशोधनकालागि तयार रहे पनि मुख्य बाधक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै उभिएका छन्, संघर्षबाटै ओलीको हठीपना तोड्न बाध्य पार्नु जरुरी छ ।’
२०६२/०६३ मा राजनीतिक दलहरुले मधेशी, आदिवासी, दलित, जनजातीलगायत उपेक्षित–उत्पीडित समुदायलाई अधिकारसम्पन्न बनाउन लिएको संकल्पलाई लत्याएको उनले बताए । वर्तमान संविधान कार्यान्वयन गर्नकालागि जबरदस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको बताउँदै उनले भने ‘संविधान संशोधन नभएसम्म यसलाई स्वीकार्नु ठूलो भूल हुनेछ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजपाका वरिष्ठ केन्द्रीय सदस्य एवम् पूर्व सांसद हरिप्रसाद रायले संविधान संशोधन विना चुनावमा जानु मधेशी जनता र शहिदहरुको बलिदानको अपमान हुने बताए । वुद्धिजिवि कैलाश प्रसाद यादवले स्थानीय तहको चुनाव षडयन्त्रपूर्ण रहेको भन्दै चुनावमा गए अधिकारप्राप्तिको बाटो थप जटिल हुने बताए ।
वुद्धिजिवी तेजकान्त झाले संविधान संशोधन विना चुनावमा जानु ठूलो भूल हुने भन्दै आम जनतालाई सतर्क रहन आग्रह गरे । राजपा अध्यक्ष मण्डलका अध्यक्ष रामप्रित यादवले चुनावको प्रलोभन नफसी सशक्त आन्दोलनमा होमिन आग्रह गरे ।
आन्दोलन परिचालन समिति ईटहरी विष्णुपुरका संयोजक नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बुचाई दास, जगदिश यादव, विष्णु यादव, धर्मेन्द्र साहलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन राजपाका केन्द्रीय सदस्य विशेश्वर रजकले गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *