व्यवसायीक तरकारी खेतीले आत्मनिर्भर बन्दै दलित समुदाय

व्यवसायीक तरकारी खेतीले आत्मनिर्भर बन्दै दलित समुदाय
Bwtech New Add With Software & Bull SMS

राजविराज । बोनी मजदुरी गरेर जेनतेन जीवन धान्दै आएका सप्तरीको लौनियाँ र कोचाबखारीका दलित परिवारमा यतिवेला व्यापक परिवर्तन आएको छ ।
आफ्नो एक धुर पनि निजी जग्गा नभएका कारण बोनी मजदुरी गर्दै आएका उनीहरु यतिबेला आत्मनिर्भर भएका हुन् । स्पोन्सरसीप कार्यक्रम परियोजना अन्तर्गत जीविकोपार्जनका लागि सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरी नामक गैर सरकारी संस्थाले सहयोगी हात बढाएपछि उक्त वस्तीका दलित परिवार व्यवसायीक तरकारी खेती गरेर मनग्य आम्दानी कमाउन थालेका छन् ।
सेभ द सप्तरीले दलित वस्तीका परिवारलाई भाडामा जग्गा उपलब्ध गराउनुका साथै व्यवसायीक तरकारी खेतीको तालिम तथा खेती गर्न आवश्यक रकम सहयोग गरेका छन् । महिलाहरुकै सहभागीतामा लौनियाँमा रामजानकी कृषक समूह गठन गरी विगत केहि महिनादेखि तरकारी खेती गरिदैआएको छ ।
उनीहरुले ३ देखि ५ कठ्ठासम्म खेत भाडा लिएर करेला, बोडी, भिन्डी, फर्सी, लौका, काँक्रा लगायत तरकारीहरु लगाएका छन् । यसअघि उनीहरुले माघ–फागुनतिर आलू, काउली, भन्टा लगायतका मौसमी तरकारीहरु विक्री गरि राम्रा आम्दानी गर्न सफल भएका छन् ।
दैनिक मजदुरी गरेर जेनतेन पेट पाल्दै आएकोमा अहिले तरकारी खेती गरेर घर परिवार राम्रोसँग चल्नुका साथै छोराछोरीको पढाई खर्च समेत राम्रोसँग जुटाउन थालेको लौनियाँ–६ स्थित रामजानकी कृषक समूहकी सदस्य अनारदेवी खङ्ग बताउँछिन् । पहिला घर चलाउन धेरै समस्या हुने गरेको सम्झिदै उनी भन्छिन्–‘पहिला त पचास÷सय रुपियाँका लागि पनि पतिकै भर पर्नुपर्ने अवस्था थियो तर, अहिले तरकारी बेचेर आफै कमाउन थालेकी छु ।’
यस्तै अनुभव सुनाउँछिन् रामजानकी कृषक समूहकी अध्यक्ष सोमिद्रादेवी खङ्ग । आफुहरुलाई सिप सिकाउनुका साथै आवश्यक सहयोग गरेर सेभ द सप्तरीले धेरै ठुलो गुण लगाएको बताउँदै उनी भन्छिन्–‘हामीले एक सिजेनको तरकारी खेतीबाट करिब ३० हजार जति आम्दानी भयो, अर्को सिजनमा अहिले बारीमा लौका, भिन्डी, फर्सी, खुर्सानी, बोडी, घिरौला र काँक्रा लगाएको छु ।’
यसैगरी, इटहरी विष्णुपुर–२ कोचाबखारी स्थित डिहबार बाबा कृषक समूहकी सदस्य तारादेवी पासवान समेत व्यवसायीक तरकारी खेती गरेर सहज रुपमा परिवार चलाउन सक्षम भएकी छिन् । उनले समेत बारीमा बोरी, करेला, भिन्डी, घिरौला लगायतका तरकारीहरु लगाएकी छिन् । आसपासका गाउँहरुमा तरकारी वेचेर प्राप्त भएको आम्दानीबाट घर परिवार चलाउन तथा छोराछोरीहरुलाई पढाउन सहज भएको उनी बताउँछिन् ।
यस्तै, सोहि समूहकी सानो देवी सदालाई व्यवसायीक तरकारी खेती निकै सघाएको छ । अति पछाडी परेको जातिको रुप रहेको मुसहर बस्तीका महिलाहरु तरकारी खेती तर्फ आकर्षित भएका छन् । सानोदेवीले खेतमा फलेको तरकारी स्थानिय बजारहरुमा लगेर बेच्ने गरेको बताउँछिन् । व्यवसायीक तरकारी खेती आफुहरुको जीविकोपार्जनको मुल आधार बनेको बताउँदै उनी भन्छिन्–‘पहिला त राति खाएपछि विहान के खाने भन्ने चिन्ताले सताउँने गथ्र्यो तर, अहिले त्यो समस्या टरेर गएको छ ।’

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *