• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

कलाक्षेत्रमा पहिचान बनाउँदै मोडेल हुस्न मुबारक

कलाक्षेत्रमा पहिचान बनाउँदै मोडेल हुस्न मुबारक

राजविराज, १० जेठ । सप्तरीको राजविराज नगरपालिका–३ का युवा हुस्न मुबारक अली कलाक्षेत्रमा आफ्नो पहिचान स्थापित गराउन संघर्षरत छन् ।
गत वर्ष युहान इन्टरनेशनलले आयोजना गरेको इभेन्ट्समा बेस्ट पर्सनालिटीको अवार्ड पाएपछि कला क्षेत्रमा उनले प्रवेश पाएका हुन् । व्यवस्थापन र विज्ञानमा प्रविणता प्रमाणपत्र तह हालै उतीर्ण गरेका २३ वर्षिय हुस्न देशका विभिन्न जिल्लाका मोडेलहरु बीच भएको प्रतिष्पर्धामा तेस्रो भएपछि तत्कालै ‘रोमियो’ नामक नेपाली फिल्ममा अफर आयो । उक्त चलचित्रमा केही दृष्यहरु मात्र सुटिङ्ग भएको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेपछि निरन्तरता दिन पाएन । यद्यपी हुस्न काठमाण्डौमै अनुग्रह ब्याण्डबाट ‘आवाज’ नामक म्युजिक भिडियोमा मोडेलको रुपमा काम गर्न सफल भए ।
उक्त म्युजिक भिडियो पश्चात हालै एक नेपाली चलचित्रमा प्रियंका कार्कीसँग समेत काम गर्ने लगभग पक्कापक्की भएको उनले ‘न्यूज टुडे’सँगको कुराकानीका क्रममा जानकारी दिए । ‘हुन त टेलिभिजनमा समेत भि.जे.को रुपमा काम गर्ने अवसर पाएँ तर कार्य व्यस्तताले अस्वीकार गरिदिएँ’ उनले भने ‘कला क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहन्छु ।’
मैथिली गीत सङ्गीतको आफ्नै विशिष्ट पहिचान रहँदा पनि वर्तमान अवस्थामा राष्ट्रिय स्तरमा स्थापित हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै हुस्नले भने ‘मैथिलीमा एक त फिल्महरु कमै मात्र निर्माण हुन्छ, निर्माण भएका फिल्म तथा म्युजिक भिडियोहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकिरहेको छैन ।’ मैथिलीमा गुणस्तरीयता ल्याउनु आवश्यक रहेको भन्दै गुणस्तरीय काम भएपछि स्वतः ठाउँ पाउने उनको विश्वास छ ।
काठमाण्डौमा रहेर अभिनय सम्वन्धि तालिम समेत लिएका हुस्नले आफ्ना अनुभवलाई देश विदेशमा पुर्याउने विश्वास व्यक्त गर्दै भने ‘सप्तरी मेरा जन्मथलो हो, यहाँ एक से एक प्रतिभाहरु छन् तर समुचित स्थान पाउन सकेको छैन, त्यसैले उनीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने मेरो सोच छ ।’ सप्तरीको कला र कलाकारितालाई काठमाण्डौसँग आदान–प्रदान गर्नुपर्ने उनको धारणा छ । मधेशका कलाकारहरुमा खुबी रहेपनि विगतमा समुचित स्थान नपाएको स्वीकार्दैै उनले भने ‘मधेशका कलाकारमा यदि क्षमता छ भने काठमाण्डौ मात्र होइन, बलिउड समेत हल्लाउन सक्छ ।’
सुन्दरता एवम् कुशल व्यक्तित्वले सुसज्जित हुस्न कलाक्षेत्रसँगै उनले व्यवसायमा समेत हात बढाएका छन् । उनले बिराटनगरमा अलिमिन गार्मेन्ट सञ्चालन गरेका छन् । एडी ब्राण्डका भेष्ट, सर्ट आदी उत्पादनहरु अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सोचकासाथ अघि बढेका उनको ब्राण्ड हाल जापानमा निर्यात हुँदैआएको छ । कम्पनीबाट उत्पादित तयारी पोशाकहरु दुबईमा समेत माग भएको उनले जानकारी दिए ।
अनवर अलि एवम् नसिमा खातुनका साइलो सुपुत्र हुस्नले सफल नायकको रुपमा आफूलाई चिनाउन कलाक्षेत्रमा समेत संघर्षपूर्ण यात्रालाई निरन्तरता दिने बताए । सप्तरीको नामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्थानीय कलाकर्मीहरुसँग सहकार्य गर्न आफु उत्साहित रहेको हुस्नले जानकारी दिए । आफु मोडेल प्रतिष्पर्धामा उत्रिएको अवस्थामा सप्तरीवासीलगायत मधेशबाट अत्यधिक एसएमएस पाएको स्मरण गर्दै उनले भने ‘मैले देशमै सर्वाधिक दोस्रो मत प्राप्त गर्ने सौभाग्य पाएँ, मलाई माया गर्न सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु ।’