• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

लेखक देवेन्द्र मिश्रका दुई मैथिली पुस्तक लोकार्पण

लेखक देवेन्द्र मिश्रका दुई मैथिली पुस्तक लोकार्पण

राजविराज, १० वैशाख । विश्व पुस्तक दिवसको अवसर पारेर मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको दुई ओटा पुस्तक आइतवार एक समारोहका बिच लोकार्पण गरिएको छ ।
मैथिली भवनमा आयोजित समारोहमा संस्कृत भाषामा लेखिएको विश्व प्रसिद्ध पुस्तक ‘श्रीमद्भगवद्गीता’को मैथिली पद्यानुवाद र ‘हमर मैथिली मनोहर पोथी’को लोकार्पण गरिएको हो । लेखक मिश्रका पिता उदितनारायण मिश्र र माता सोना देवी मिश्रले संयुक्त रुपमा ‘श्रीमद्भगवद्गीता’को लोकार्पण गरेका छन् । यसैगरी मातृभाषा मैथिलीमा पठन–पाठनकालागि लक्षित गरी लेखिएको अर्को पुस्तक ‘हमर मैथिली मनोहर पोथी’को छात्रा खुश्वु यादव र छात्र अभिशेक यादवले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
साझा प्रकाशनबाट ‘बगियाक गाछ’ वाल कथा सङ्ग्रह र मैथिली सामान्य ज्ञान लेखक मिश्रको यस अघि प्रकाशित भईसकेका छन् । उच्च माध्यमिक विद्यालय बभनगामा कट्टीका पूर्व प्रधानाध्यापक भई शैक्षिक तालिम केन्द्रका प्रशिक्षक समेत रहीसकेका उनी हाल मिथिला साप्ताहिक पत्रिकाका सह–सम्पादकको रुपमा पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहदैआएका छन् ।
मैथिली पढाई उत्प्रेरक कार्य दल सप्तरीका संस्थापक समेत रहिसकेका लेखक मिश्रलाई २०६६ सालमा साझा प्रकाशनले साझा वाल साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो । यसका साथै उनी निरन्तर मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका छन् ।
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित पुस्तक लोकार्पण समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, मैथिली साहित्यकार रामनारायण देव, सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर कुमार पोखरेल, प्रा. अशोक कुमार झा, साहित्यकार ब्रजमोहन झा (बटुक ब्रह्मचारी), नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, मैथिल महिला परिषद्की कोषाध्यक्ष चन्द्रिका यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त तथा धन्यवाद ज्ञापन आन्तरिक राजश्व कार्यालय सुनसरीका प्रमुख समेत रहेका लेखक मिश्रका भाइ धर्मेन्द्र मिश्रले धन्यवाद ज्ञापन गरे । परिषद्का सचिव श्यामसुुन्दर यादवद्वारा सञ्चालित कार्यक्रममा गायक सुभाष बिरपुरियाले गीत प्रस्तुत गरे ।