• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीमै पहिलो पटक १५ दिने अभिनय कला प्रशिक्षण सम्पन्न (तस्विरहरु समेत)

सप्तरीमै पहिलो पटक १५ दिने अभिनय कला प्रशिक्षण सम्पन्न (तस्विरहरु समेत)

राजविराज, ९ वैशाख । नेपाली सिनेमाका चर्चित निर्देशक यादव कुमार भट्टराईले चलचित्र क्षेत्रमा मधेशका प्रतिभावान कलाकारहरु अटाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् निवर्तमान सिंचाई मन्त्री उमेश कुमार यादवको सहयोगमा राजविराज स्थित सेभ द सप्तरीको सभाहलमा शुक्रवार सम्पन्न १५ दिने अभिनय कला प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । चर्चित नेपाली फिल्म ‘झोला’का निर्देशक समेत रहेका उनले भने ‘नेपाली चलचित्र क्षेत्रमा मधेशका प्रतिभावान कलाकारहरुमा अटाउन नसक्नु दुर्भाग्यपूर्ण हो, आउँदा दिनहरुमा मधेशी अनुहार समेत अटाउनु पर्दछ र हामीले शुरुवात पनि गरिसकेका छौं ।’
हालसम्म निर्माण भएका नेपाली चलचित्रहरु देशको समग्रतालाई नबुझेको बताउँदै उनले मधेशलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । अधिकारप्राप्तिका नाममा देशमा संघर्ष जारी रहेको भन्दै कुनै पनि पक्षबाट फाँटो ल्याउने काम नहुनुपर्नेमा उनले जोड दिँदै भने ‘हिमाल, पहाड र तराईलाई जोड्ने सबभन्दा सशक्त माध्यम नै कला क्षेत्र हो, त्यसैले यसलाई व्यापकता दिईनु आवश्यक छ ।’ आफूले सती प्रथालाई केन्द्रीत गरी निर्माण गरेको ‘झोला’ फिल्मलाई देश–विदेशमा दर्शकहरुले निक्कै मन पराएको तथा विगत दुई वर्षदेखि आफू मधेशमै रहेर मधेशकै समस्यालाई कथावस्तु बनाएर सप्तरी र धनुषाका अधिकांश कलाकारहरुको सहभागीतामा एक नेपाली चलचित्र निर्माणको क्रममा रहेको निर्देशक भट्टराईले जानकारी दिए । मधेशकै परिवेशमा मधेश–मिथिलाकै कलाकारहरुलाई प्रयोग गरेर पनि नेपाली र मैथिली भाषामा सामाजिक परिवेश अनुसार निर्माण भईरहेको उक्त चलचित्र मधेशका दर्शकहरुले समेत मन पराउने विश्वास व्यक्त गरे ।
नेपाली चलचित्रका चर्चित नायक राज तिमिल्सिनाले कला क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै कलाकारहरुमा धैर्यता आवश्यक रहेको बताए । कलाक्षेत्रमा प्रवेश गर्दाको क्षणबारे जानकारी गराउँदै उनले दृढ संकल्पका साथ कला क्षेत्रमा लागी सफलता सुनिश्चित रहेको उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सांसद एवम् निवर्तमान सिंचाई मन्त्री उमेश कुमार यादवले सिङ्गो देशलाई जोड्ने माध्यम नै कला क्षेत्र भएकोले यसको विकासकालागि आफू प्रतिवद्ध रहेको बताए । जिल्लामै पहिलो पटक कलाकारिता प्रशिक्षणकालागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भने ‘अन्य क्षेत्र जस्तै कलाक्षेत्रको समेत विकास हुनुपर्छ, सोही मान्यतालाई आत्मसात गर्दै अगाडि बढेको छु, राजविराजमा सप्तरी नाचघर तथा सङ्ग्रहालय समेतको निर्माण कार्य यसै आर्थिक वर्षमा सञ्चालन समेत हुन लागेको छ ।’
जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले सप्तरी जिल्लाको कला क्षेत्र देशमै समृद्ध रहेको चर्चा गर्दै आउँदा दिनहरुमा यसलाई थप सबल बनाउनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले कला क्षेत्रलाई पत्रकारितासँग जोड्नुपर्ने बताउँदै कलाकारहरुले राज्य र समाजबाट प्रोत्साहन पाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाली चलचित्र निर्देशकहरु रामगोपाल थापा, किरण रमौली, धीरेन्द्र साह, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष एवम् साहित्यकार करुणा झा, ‘मिथिलाक अनुपम डेग’की अध्यक्ष आरती झा, सेभ द सप्तरीका सचिव नरेन्द्र प्रसाद यादव, सव इन्जिनियर सत्यनारायण यादव, सहभागीहरुको तर्फबाट कलाकार सागरवीर कडारी, जिबछ दास, भूपेन्द्र कुमार मण्डल, रमिला साह, तुलसी थापालगायतले मन्तव्य व्यक्त गरे । कलाकारिता प्रशिक्षण उपभोक्ता समितिकी अध्यक्ष नायीका डोली सरकारको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा प्रमुख अतिथि एवम् विशिष्ठहरुलाई मिथिला चित्रकलाको फ्रेमिङ्गसहित गम्छा ओढाएर सम्मान गरिएको छ । कार्यक्रम सञ्चालन जननी फिल्म्स प्रा.लि.का प्रबन्ध निर्देशक श्यामसुन्दर यादव तथा स्वागत मन्तव्य गायीका अन्जु यादवले व्यक्त गरिन् ।
पन्ध्र दिने अभिनय प्रशिक्षण कार्यक्रममा जिल्लाको विभिन्न स्थानका ३१ जना कलाकारहरुको सहभागीता रहेको थियो । तालिमको प्रमुख प्रशिक्षकमा नेपाली चलचित्रका युवा निर्देशक किशन अर्याल रहेका थिए । नायीका डोली सरकार, निर्देशक सूर्यनारायण साह ‘बैजु’ डा. रञ्जित झासमेतले सहभागीहरुलाई प्रशिक्षण दिएका छन् ।