• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नव वर्षको शुभकामना

विक्रम सम्वत् २०७४ को पहिलो दिन आज, नव वर्ष । विगतका वर्षहरुमा भएका कामको समीक्षा, कमि कमजोरीमा सुधार तथा राम्रा पक्षको निरन्तरताका रुपमा नव वर्षको आफ्नै महत्व छ । वितेको वर्ष २०७३ सालमा राजनीतिक दलहरुका बीच सहमति भई निर्वाचन सम्पन्न हुने जनताको विश्वास थियो । मधेशमा आन्दोलनरत दलहरुलाई संविधान संशोधन मार्फत सहमतिमा ल्याएर निर्वाचन सम्पन्न गर्ने वर्तमान प्रधानमन्त्रीले पटक–पटक प्रतिबद्धतापनि जनाएका थिए । तर, जुन अपेक्षा र आशा जनताले गरेका थिए, अनि प्रधानमन्त्रीले जुन प्रतिबद्धता जनाएका थिए, परिणाम त्यस अनुरुप निस्किएन । आज हामी नव वर्षको खुड्किलोमा चढेका त छौं, तर, विगतको राजनीतिक समस्या भने ज्यूँका त्यूँ रहेको छ ।
समय जति वित्दो छ संविधान कार्यान्वयन कसरी होला भन्ने आशंका समेत बढ्ने अवस्था आएको छ । राजनीतिक सदस्य हल गर्नका लागि राजनीतिक दलहरुका बीच सहमति र सहकार्य मात्र एक उपाय हो । तर, यो कुरा जगजाहेर हुँदाहुँदै पनि दलहरुले एकआपसमा सहमति र सहकार्य गर्न सकेका छैन । यसको कारणले संविधान कार्यान्वयनमा समेत अबरोध आउने लक्षण देखा पर्दै छ । दलहरुको सहभागितामा नै देशले ऐतिहासिक परिवर्तन प्राप्त गरेको हो । राजनीतिक समस्या समाधान भई विकासको बाटो फराकिलो भएमात्र परिवर्तनको अनुभूतिले जनता गर्न पाउने हो । तर, अहिलेसम्म त्यस्तो शुभलक्षण देखा पर्न सकिरहेको छैन ।
नव वर्षको यस शुभ अवसरमा राजनीतिक सहमति, सहकार्य, संविधान कार्यान्वयनका लागि दलहरुमा आपसि मतमतान्तर, हठ, दम्भ त्याग्दै देश र जनतालाई शिरमा राखी अघि बढ्न प्रेरणा मिलोस् । दशकौंदेखिको अन्यौलता समाधान भई शान्ति र विकासको शुभलक्षण देखियोस् । नव वर्ष २०७४ को अवसरमा सबैलाई यही शुभकामना !