• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

राष्ट्रपति पुरस्कारको छनौटमा सप्तरीका आँप कृषक अयोधी

राष्ट्रपति पुरस्कारको छनौटमा सप्तरीका आँप कृषक अयोधी

राजविराज, २५ चैत । सिंचाई अभावमा दश विघा बाँझो जमिनमा व्यवसायिक आँप खेती गरेर उदाहरणीय सप्तरीका एक ज्येष्ठ किसान पुरस्कृत भएका छन् ।

डिमन गाविस–१ का ८१ वर्षिय अयोधी यादव जिल्ला हुँदै क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारकालागि छनौट भएका हुन् । जिल्ला कृषि विकास कार्यालय सप्तरीले आँप खेतीतर्फ उनलाई पुरस्कृत गरेको थियो । जिल्लामा उत्कृष्ट भएपछि वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले उनको नाम क्षेत्रीय पुरस्कारकालागि नाम सिफारिस गरेको थियो । जिल्लाकै अगुवा आँप कृषक अयोधी पुरस्कृत भएपछि खुशी भएका छन् । आफूले गरेको मेहनतको मूल्यांकन भएकोमा खुशी व्यक्त गर्दै उनले भने ‘कर्म गर्दै जाँदा पुरस्कृत हुने अवसर पाएकोमा गौरवान्ति भएको छु, मलाई विश्वास छ राष्ट्रिय पुरस्कारकालागि मूल्यांकनमा पर्नेछु ।
सिंचाईको अभावमा २१ वर्ष अघिसम्म धान खेती सम्भव नभए पछि यादवको अधिकांस जग्गा बाँझै रहने गरेको थियो । बोरिङ्गबाट पानी तानेर धान रोप्न खोज्दा पनि अत्यधिक लागत बढेर निराश बन्न पुगेका उनले दश बिघा जग्गामा सिंचाई नभए पनि आम्दानी लिने नयाँ जुक्ति निकाली मेहनत थालेका थिए । व्यवस्थित तरिकाले विभिन्न जातका आँप, लिची, कागती र अम्बाका विरुवा लगाएर नियमित रेखदेख गर्दैआएका छन् ।
व्यवस्थित तरिकाले विभिन्न जातका आँप, लिची, कागती र अम्बाका विरुवा लगाएर नियमित रेखदेख शुरु गरे पछि उनले त्यसबाटै लाखौंको आम्दानी लिन थालेका छन् । सामान्य लेखपढ गर्न सिकेका अयोधीले रामायण, महाभारत, गर्ग संहिता, नर्सिंह पुरान, शिव पुराण, भागवत रहस्य लगायतका धार्मिक पुस्तकहरु खेतमा बनाएको झुप्रोमै बसी पढ्ने गरेका थिए । धार्मिक पुस्तकहरुमा रुख विरुवा लगाउँदा आयु बढ्ने र पुण्य मिल्ने कुरा उल्लेख रहेकोले त्यसैबाट आफूलाई पनि प्रेरणा जागृत भएको उनले बताए ।
भाइ र छोराहरु सबै उच्च शिक्षा अध्ययन गरी विभिन्न ओहदामा जागीरमा बाहिर रहेको र आफू पुख्र्यौली खेतीपातीको काममै लागेको बताउँदै उनले भने ‘भएको जग्गा सबै बाँझो रहँदा चिन्ताले सताउँथ्यो, आँप खेती शुरु गरेपछि त्यहि जमिनमा अहिले हरियाली छाएको छ ।’
उनका तीन छोरामध्ये जेठा चन्द्रनारायण सिनियर डिभिजनल इन्जिनियर छन् भने माइला दिनेश न्यायाधीशसम्म भएका छन् । कान्छो शिवराम सभासद्सम्म भई हाल राजनीतिमा सक्रिय छन् । छोराहरु सबै बाहिर रहेका कारण बगैंचा अयोधीका लागि मन बहलाउने माध्यम पनि बनेको छ । उनी दुई जना सहयोगीसित दिनभरी जसो त्यहीं बस्ने गर्दछन् ।
बगैंचाको घेरबेरका लागि छेउँमै बाँसको झाङ्ग समेत लगाएका अयोधीले छिमेकका जग्गावालाहरुलाई पनि फलफूल खेती गर्न सल्लाह दिने गरेका छन् । ‘चारैतिर अरुको जग्गा बाँझो देख्दा मलाई पनि चिन्ता लाग्छ’ उनले भने ‘फलफूल खेती गरे भने उनीहरुलाई पनि घेरबेरकालागि निःशुल्क बाँस दिने बताएको छु ।’
जागिरबाट अवकासप्राप्त जीवन कसरी बिताउने भन्ने चिन्ता पालेकाहरुलाई आफू जस्तै व्यवसायमा लागेर लाभ लिन उनको सुझाव छ । युवा वर्गले पनि वैदेशिक रोजगारी ताक्नु भन्दा आफ्नै गाउँ–ठाउँको बाँझो जग्गालाई हराभरा तुल्याउनेतिर मन लगाए विदेशको भन्दा पनि राम्रो आम्दानी कमाउन सकिने आँप कृषक अयोधीको सुझाव छ ।